रामचन्द्र पौडेल अभागी की भाग्यमानी ?

| 2021 Dec 10 | 01:33 pm 2869

  • महेन्द्र पाण्डेय

चन्द्रशमशेर राणालाई अपवादमा राख्ने हो भने नेपालको राजनीतिमा सबै भन्दा लामो समय लाभको पद प्राप्त गर्ने राजनीतिकर्मीहरुको सूचिमा रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा आउँछ । शाही शासनकालको अवधी बाहेक २०४८ सालदेखि २०७४ साल सम्म पौडेल लगातार लाभको पदमा बस्नु भयो । यति ठूलो अवसर पाएका पौडेललाई अभागी नेता भन्नेहरु पनि नेपाली कांग्रेसमा निकै छन् । प्रधानमन्त्री र पार्टीसभापति बन्ने अवसर नपाएका कारण पौडेललाई अभागी नेता भनिएको हो । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुने नेता प्रधानमन्त्री बन्ने सुनिश्चित जस्तै छ । के पौडेलको अब पार्टी सभापति र प्रधानमन्त्री बन्ने संभावना सकिएकै हो त ? भन्ने प्रश्न यतिबेला निकै पेचिलो बनेको छ ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट सभापति पदमा कसले बाजी मार्ला ? भन्ने अनेक जोड घटाउ तथा अड्कल बाजी भइरहेका छन् । सबै भन्दा बलिया उम्मेदवारका रुपमा वर्तमान सभापति देउवा खडा हुनु भएको कुरामा दुई मत छैन । सबै भन्दा धेरै मत ल्याउने हैसियतमा देउवानै रहेको कुरा सभापति पदका अन्य दावेदारहरुले पनि स्वीकार गरिसकेका छन् । देउवा सबै भन्दा धेरै मत ल्याउने हैसियतमा भए पनि सभापति बन्नका लागि आवश्यक ५१ प्रतिशत मत भने देउवासँग छैन । त्यसैले देउवा बाहेकका सबै उम्मेदवारलाई एक ठाउँमा उभ्याएर मोर्चावन्दी गर्ने प्रयास भइरहेको छ । तर देउवा विरुद्धको मोर्चाबन्दीको प्रयास सफल हुने संभावना यो लेख तयार पार्दासम्म देखिएको छैन ।

यतिबेला सबै भन्दा ठूलो रडाको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा देखिएको छ । जसरी संस्थापन पक्षमा विमलेन्द्र निधि सशक्त दावेदार हुँदा हुँदै पनि वहालवाला सभापति देउवालाई नै आधिकारिक उम्मेदवार बनाउने निर्णय भयो, त्यसरी नै इतर पक्षका स्वभाविक उम्मेदवार पौडेल हुनु पर्ने थियो । तर पौडेललाई साथ दिन डा. शेखर कोइराला र प्रकाशमान सिंह तयार हुनु भएको छैन । डा. कोइराला र सिंह दुवै जनाले उम्मेदवार बन्ने अडान लिइरहनु भएको छ । पौडेललाई साथ दिन डा.कोइराला र प्रकाशमान सिंह किन तयार हुनुु भएन ? इतर पक्षले देउवा विरुद्ध एक मात्रै उम्मेदवार प्रस्तुत गर्ने संभावना टरेकै हो त ? वरिष्ठ नेता पौडेललाई रिङ आउट गर्न कोइराला परिवार र प्रकाशमान सिंह किन लाग्नु भयो ? गत महाधिवेशनमा देउवा सँग थोरै मत अन्तरले पराजित भएका पौडेललाई यस पटक उम्मेदवार बन्न नै किन सकस भयो ? यी प्रश्नको उत्तर खोज्नका लागि वरिष्ठ नेता पौडेलको पृष्ठभूमी तथा कार्यशैली तर्फ सरसरर्ती फर्कनु पर्ने हुन्छ ।

नेपाली कांग्रेसको वडा तहदेखि प्रदेश तह सम्मका अधिवेशनमा देउवा पक्ष र पौडेल पक्षका नाममा प्रतिस्पर्धा भएको छ । तर केन्द्रीय महाधिवेशनमा भने पौडेलकै नाममा सबै भन्दा बढी बिवाद भएको छ । पौडेललाई अघि सार्दा देउवाले सजिलै चुनाव जित्ने विश्लेषणमा इतर पक्षको ठूलो पंक्ति देखिएको छ । यो विश्लेषण हचुवाका आधारमा गरिएको होइन । आसन्न १४औं महाधिवेशनमा इतर पक्षबाट भन्दा देउवा पक्षबाट धेरै महाधिवेशन प्रतिनिधि जितेका छन् । आफ्ना पक्षका महाधिवेशन प्रतिनिधिलाई जोगाउँदै देउवा पक्षका २ –३ सय मत नतान्ने हो भने इतर पक्षले चुनाव जित्दैन । तर पौडेलले देउवा पक्षका मत तान्न नसक्ने कुरा त बिमलेन्द्र निधिले स्पष्ट पारिसक्नु भएको छ, साथै पौडेलले आफ्नै पक्षका सबै मत प्राप्त गर्न सक्नु हुन्न भन्ने कुराको साक्षी पूर्वराष्ट्रपति डा. रामवरण यादव, पुराना नेता केवी गुरुङ, गोविन्दराज जोशी, पुस्करनाथ ओझा लगायतका हुनुहुन्छ ।

अन्य कारणहरु
पहिलो कारण हो – पौडेललाई इतर पक्षकै केही शक्ति केन्द्रहरुले मन पराउँदैनन् । पूर्वराष्ट्रपति डा. रामवरण यादव, केवी गुरुङ, गोविन्दराज जोशी लगायतको समुह पौडेललाई मत दिन कुनै पनि हालतमा तयार छैन ।
दोस्रो कारण हो – ‘ देउवालाई बृद्ध उमेरका कारण निरन्तरता दिन हुन्न भन्ने हरुको जमात नेपाली कांग्रेस भित्र निकै ठूलो छ । यो जमातका लागि देउवाको विकल्प पौडेल हुनसक्ने संभावना छैन । किनकी पौडेल देउवा भन्दा एक वर्ष जेठो हुनुहुन्छ ।
तेस्रो कारण हो –‘ देउवा पक्षबाटै विकल्पका लागि तयार हुनु भएका बिमलेन्द्र निधिको अडान ।’ निधि उम्मेदवार बन्न गइरहेको अवस्थामा पहिलो चरणमा देउवाले ५० प्रतिशत मत कटाउने अवस्था रहँदैन । यदी दोस्रो चरणमा देउवा र पौडेल बीच प्रतिस्पर्धा हुने अवस्था आयो भने निधिले देउवा रोज्ने सुनिश्चित छ । तर दोस्रो चरणमा पौडेल बाहेक नयाँ पुस्ताका नेता सँग देउवाको प्रतिस्पर्धा भयो भने दोस्रो पुस्ताका नेतालाई नै साथ दिने निधिले बताउनु भएको छ ।
चौथो कारण हो –‘नेपाली कांग्रेसमा सिटौला समुहका नाममा तेस्रो धारको जन्म ।’ गत १३औं महाधिवेशनमा संस्थापन पक्षबाटै विद्रोह गरेर कृष्ण प्रसाद सिटौलाले तेस्रो धारको निर्माण गर्नु भयो । सिटौलाको धार यतिबेला नेपाली कांग्रेसमा निर्णायक छ, यो धार जता लाग्यो उसैले चुनाव जित्ने अवस्था छ । पौडेलकै दम्भका कारण अलग धार बनाउन सिटौला बाध्य हुनु भएको हो । सिटौला सुमहले पौडेललाई कुनै पनि हालतमा साथ दिने संभावना छैन । तर इतर पक्षबाट पौडेल बाहेक अर्को उम्मेदवार अघि सारिएको अवस्थामा सिटौला समुहले साथ दिने संभावना बढ्छ । सिटौला देउवा तिर लागे पनि उहाँको समुहका अधिकांशले कोइराला परिवारलाई साथ दिने अवस्था छ ।

उम्मेदवार छनौट गर्न गत आइतबारदेखि इतर पक्षको बैठक निरन्तर जारी छ । इतर पक्षले सर्वसम्मत रुपमा आफूलाई अघि सार्ने संभावना कमजोर भए पछि बुधबार बेलुकाको बैठकमा वरिष्ठ नेता पौडेल धुरु धुरु रोएको समाचार बाहिर आएको छ । जिवित नेताहरुमध्ये नेपाली कांग्रेसमा सबै भन्दा धेरै योगदान वरिष्ठ नेता पौडेलकै छ । तर आफ्नै पक्षबाट उम्मेदवार बन्नका लागि समेत पौडेल धुरु धुरु रुनु पर्ने अवस्था भनेको ज्यादै दुखद पक्ष हो । ८१ वर्षको बृद्ध नेता आफ्ना छोरा–नाति उमेरका प्रतिस्पर्धीको अगाडि धुरु धुरु रुनु पर्ने अवस्था किन सिर्जना भयो त ? भन्ने प्रश्न निकै पेचिलो छ । पौडेललाई अघि सार्दा चुनाव हारिने विश्लेषणमा इतर पक्ष किन पुग्यो ? भन्ने प्रश्न नै यतिबेला सबै भन्दा महत्वपूर्ण छ ।

नेपाली कांग्रेस भित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलको पूर्ण सक्रीयता २०१९ साल देखि हो । २०१९ सालदेखि करिव १० वर्ष सम्म विद्यार्थी राजनीतिमा पौडेल पहिलो नम्वरमा र देउवा दोस्रो नम्वरमा हुनुहुन्थ्यो । तर २०२९ सालमा भएको नेवि संघको दोस्रो अधिवेशनमा अँफु अध्यक्ष बन्ने संभावना हुँदा हुँदै पौडेलले दावी छाडेर देउवालाई अध्यक्ष बनाउनु भयो । त्यस बेला देखि पौडेललाई देउवाले उछिन्नु भयो । २०४२ सालमा देउवा विदेश पलायन भए पछि पौडेल स्वतः अघि हुनुभयो । पौडेल २०४५ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भयो भने देउवा २०४८ सालमा मात्रै केन्द्रीय सदस्य बन्नु भयो । २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि पौडेल र देउवालाई रोजेको मन्त्रालय लिन तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अफर गर्नु भयो । पहिलो रोजाईको अवसर पाउनु भएका पौडेलले स्थानीय विकास मन्त्रालय रोज्नु भयो, दोस्रो रोजाइको अवसर पाउनु भएका देउवाले गृह मन्त्रालय रोज्नु भयो । स्थानीय विकास मन्त्री बन्नु भएका पौडेलले प्रधानमन्त्री कोइरालालाई आर्थिक रुपमा चित्त बुझाउन सक्नु भएन, तर गृहमन्त्रालयको जिम्मेवारी पाउनु भएका देउवाले प्रधानमन्त्री कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई मात्रै होइन, कार्यकर्तालाई नै चित्त बुझाउन सफल हुनुभयो ।

२०५१ सालको मध्यावधी निर्वाचनमा गृहमन्त्री देउवाले पार्टीका लागि ठूलै चुनाव खर्च जुटाइ दिनु भयो, तर स्थानीय विकासमन्त्री पौडेललाई भने पार्टीले नै चुनाव खर्च दिनु पर्ने अवस्था आयो । २०५१ सालको मध्यावधी निर्वाचनमा कांग्रेस दोस्रो पार्टीमा झर्यो । तत्कालिन सभापति भट्टराई र नेता गिरिजाप्रसाद कोइरालाले देउवा र पौडेललाई बोलाएर भन्नु भयो –‘तपाइँहरु मध्ये एक जना सभामुख र एक जना संसदीयदलको नेता बन्नु पर्ने भयो, कुन पद लिने ? तपाँईहरु सहमति गर्नोस् ।’ नेताहरुको भनाई भुँइमा खस्न नपाउँदै पौडेलले ‘म सभामुख बन्छु’ भनिहाल्नु भयो । पौडेलले सभामुख रोजे पछि देउवा स्वतः संसदीयदलको नेता बन्नु भयो । २०५१ देखि २०५६ सालको पाँच वर्ष सभामुख रहेका कारण पौडेलको सम्वन्ध पार्टीमा विच्छेद भयो । यता देउवा भने त्यही अवधीमा १८ महिना प्रधानमन्त्री बन्नु भयो । त्यस पछि पौडेल र देउवाको सिनियर भन्ने प्रश्न समाप्त भयो । १८ महिना प्रधानमन्त्री बनिसकेपछि देउवा गिरिजाप्रसाद कोइरालाको मुख्य प्रतिस्पर्धी नेताका रुपमा उदाउनु भयो । कृष्णप्रसाद भट्टराई समुहले देउवालाई दरिलो साथ दियो । तर पौडेललाई भने न कोइराला पक्षले विश्वास गर्यो, न भट्टराई पक्षले । भट्टराईको राजनीतिक सक्रीयता समाप्त भए पछि नेपाली कांग्रेसमा कोइराला पक्ष र देउवा पक्षका नाममा दुई वटा धार तयार भयो । पौडेल देउवा पक्षीयधारमा सक्रीय हुन थाल्नु भयो । यतिसम्मकी २०५९ सालमा नेपाली कांग्रेस विभाजन गर्न देउवाको भन्दा पनि पौडेलको सक्रीयता बढी थियो । विभाजित पार्टीको सभापति पौडेललाई स्वीकार गर्न देउवा तयार भइसक्नु भएको थियो । तर पार्टी घोषणासभामा पौडेल जानु भएन ।
पौडेलले पार्टी विभाजन गर्न उक्साएर अन्तिम घडीमा ठूलो धोका दिएको महसुस देउवा पक्षले गर्यो । यता कोइराला पक्षले पनि ऐन मौकामा धोका दिने व्याक्तिको सुचीमा पौडेललाई राख्यो ।

कांग्रेस विभाजन पछि कोइराला परिवारले वाध्यता बस पौडेललाई एक कार्यकाल महामन्त्री र अर्को कार्यकाल उपसभापति बनायो, तर विश्वास भने गरेन । पौडेललाई उछिन्दै सुशील कोइराला अघि आउनु भयो । सुशील कोइरालाको निधन नभएको भए पौडेल १३औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने संभावना थिएन । तर १३औं महाधिवेशन हुनुभन्दा दुई महिना अघि सभापति कोइरालाको निधन भएकोले उपसभापति पौडेल स्वतः कार्यवाहक सभापति बन्नु भयो । त्यतिबेलासम्म सभापतिको उम्मेदवार हुने उचाई कोइराला परिवारका अन्य नेताहरुको बनिसकेको थिएन । त्यसैले पौडेलले सभापतिको उम्मेदवार बन्ने सौभाग्य पाउनु भयो, तर जित्न सक्नु भएन ।

१३ औं महाधिबशेनका बेला तत्कालिन संस्थापन (पौडेल–कोइराला) पक्षबाट १८ सय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए भने देउवा पक्षबाट १३ सय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । तर पौडेलले १४ सय मत ल्याएर चुनाव हार्नु भयो भने देउवाले १७ सय मत ल्याएर चुनाव जित्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.