यी हुन् बानेश्‍वरमा तरुणको आन्दोलन दबाउन पेस्तोल ताक्‍ने सुरक्षाकर्मी

| 2018 Jul 22 | 10:39 am 5180

काठमाडौं, साउन ६: डा गोविन्द केसीको जीवन रक्षाका लागि शान्तिपूर्ण प्रदर्शन गरिरहेको तरुण दलको आन्दोलन दबाउन प्रहरीले बल प्रयोग गर्‍यो र स्थिति तनावग्रस्त बन्यो। उक्त भिडमा एक जना सशस्त्र प्रहरीले आन्दोलनलार्इ थप दबाउन पेस्तोल लोड गरी तरुणका कार्यकर्तालार्इ ताकिरहेका थिए।

उक्त दृष्य पत्रकारका क्यामेरामा कैद भएको चाल पाएपछि टोपीले पेस्तोल लुकाउँदै नजिकै रहेको बैंकभित्र छिरेका थिए। कम्युनिस्ट सरकारले आन्दोलन दबाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा विशेष निर्देशनमा केही सुरक्षाकर्मीलार्इ ‘फायर’ खोल्न आदेश दिएको स्रोतले जनाएको छ।

तर, उनी त्यसमध्येका होइनन्। उक्त भिडमा प्रहरीले अश्रुग्याँस प्रहार गरेकै बेला लोड पेस्तोल नचाउँदै तरुणका कार्यकर्तालार्इ ताक्ने सशस्त्र प्रहरीका हवल्दार प्रदेश ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीको अंगरक्षक रहेको खुलासा भएको छ। यदी त्यो दृष्य पत्रकारको क्यामेरामा कैद हुदैनथ्यो र उनले कैद गरिरहेको चाल पाउदैनथे भने त्यहाँ झन अप्रिय घटना हुने निश्चित थियो।

झडपका क्रममा बाटोमै पार्किङ गरेका मन्त्रीका गाडीको सिसा फुटिसकेपछि उनी सडकमा आएर फायर खोल्न लागेको खुलेको छ। उनी मन्त्रीको अंगरक्षक भएपनि आन्दोलनलार्इ दबाउन मन्त्रीलार्इ सुरक्षित ठाउँमा राखेर सडकमा भइरहेको झडपमा आएका थिए। उक्त पेस्तोल नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष विनय लामालार्इ ताकेको नेपाल तरण दलका काठमाडौंका सचिव दिनेश विक्रम शाहले जनाएका छन्।

नयाँ बानेश्वरमा शनिबार भएको प्रदर्शनमा हवल्दार नरेन्द्र बमले पेस्तोल निकालेर प्रदर्शनकारीलाई हान्न खोजेका थिए । त्यसपछि उनको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

२२ दिनदेखि चिकित्सा शिक्षाको माग राख्दै आमरण अनशन बसीरहेका गोविन्द केसीको जीवन रक्षाको माग राख्दै नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा तरुणका अध्यक्ष जितजंग बस्‍नेतसहित, अन्य नेता कार्यकर्ता तथा सञ्चारकर्मीहरु घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.