सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै

रिपोर्ट नेपाल | 2018 Jul 17 | 12:27 pm 3375

महोत्तरी, साउन १: महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४-७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा मर्नेको संख्या पछिल्ला चार वर्षयता बढ्दै गएको जनाएको छ।
पछिल्ला चार वर्षको तथ्यांकानुसार गत आव २०७४-७५ मा भएका ८७ सडक दुर्घटनामा सर्वाधिक ४४ जनाको मृत्यु भएको छ जसमा १२ वर्षमुनिका ११ बालबालिका, नौ वयष्क महिला र बाँकी २४ वयष्क पुरष छन् । गत आवका कात्तिक, फागुन र जेठ महिनामा सबैभन्दा बढी ११-११ सडक दुर्घटना भएका छन्।

यसअघि आव २०७१-०७२ मा १९, आव २०७२-०७३ मा २४ र आव २०७३-०७४ मा २९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले जानकारी दिनुभयो । पछिल्लो आव २०७४-७५ मा त ६६ जना अङ्गभङ्ग नै भएर गम्भीर घाइते भएको कार्यालयले जनाएको छ।

धमाधम नयाँ सवारी साधन थप, लापर्वाही तरिकाले सवारी चलाउने प्रवृत्ति, मादक पदार्थको सेवन र सडक बिग्रेर खण्ड बन्दै जानु नै सडक दुर्घटना र मानवीय क्षति बढ्नाका मुख्य कारण रहेको प्रनि मैनालीको ठम्याइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही तीव्र बनाए पनि दुर्घटना भने बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आव २०७४-७५ मा कार्यालयले २४ हजारमाथि कारवाही गरेर रु एक करोड ६० लाख राजश्व संकलन गरेको छ। सो तथ्यांक पनि पछिल्ला तीन आवमा सबैभन्दा बढी हो । यसअघि आव २०७३-७४ मा गरिएका २३ हजार ५३५ कारवाहीबाट रु एक करोड ४६ लाख ५५ हजार राजश्व सङ्कलन भएको थियो।

त्यसैगरी आव २०७२-७३ मा गरिएका १५ हजार ५२ कारवाहीबाट रु ७६ लाख ६० हजार ९०० राजश्व संकलन भएको कार्यालयले जनाएको छ । वर्षेनी सडक दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सघन रुपमा सचेतना अभियान सञ्चालन गरिएको जनाएको छ । गत आव २०७४÷७५ मा १५ विद्यालयमा सञ्चालन गरिएका कक्षामा एक हजार २८० विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको थियो ।

त्यसैगरी सुरक्षित चालक बनाउन सञ्चालन गरिएका ५५ कक्षामा एक हजार २८० चालकलाई, ८४ कक्षामा तीन हजार ३७२ यातायात व्यवसायीलाई र ४९ कक्षामा एक हजार ६८० सर्वसाधारणलाई ट्राफिक शिक्षा दिइएको प्रनि मैनालीले जानकारी दिए।

यसैगरी चार अन्तरक्र्रिया, ‘प्रहरी मेरो साथी’ र ‘टोलटोलमा प्रहरी अभियान’ तथा पर्चा र पोष्टरबाट पनि ट्राफिक सचेतनासम्बन्धी अभियान सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.