अलविदा सुदर्शन

आत्मीय मित्र सुदर्शनलाई गुमाउँदाको पीडा र विगतको सम्झना

रिपोर्ट नेपाल | 2021 Jun 26 | 07:29 am 6385

  • महेन्द्र पाण्डेय

आजकाल मलाई फेसबुकमा अन्य फोटाहरु देख्दा डर लाग्न थालेको छ । विशेष गरी चिनिएका अनुहार देख्दा त झन झस्किने गरेको छु । कतै केही भयो कि भनेर पढी हाल्छु । जन्मदिन, विवाह, वर्ष गाँठ अनेक किसिमका सूचना देखेपछि बल्ला आनन्द आउँछ । बिहीबार विहान ९ बजे तिर यसो फेसबुक के खोलेको थिए मेरा अनन्य मित्र सुदर्शन शाक्यको हृदघातबाट निधन भएको देखे । त्यो देखिसकेपछि मेरो दिमागमा सुदर्शनसँग २०४६ सालको परिवर्तनपछि हामी सँगसँगै धेरै ठाउँको यात्रा गरेको झलझली सम्झिए ।

कुशल संगठनकर्ता मृदुभाषी सुदर्शनमा मान्छेलाई कन्भीन्स गर्न सक्ने विचित्रको कला थियो । सुदर्शनसँगको यात्रामा रमाइला र तिक्तता दुबै किसिमका अनुवभ हामीले बटुलेका थियौं । २०४७ सालको असोज महिना जस्तो लाग्छ मुसिकोटमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम राखेको थियो । त्यस बेलाका जल्दाबल्दा कलाकार भनेको विजु बज्राचार्य र कोपिला कक्षपती थिए । विजु गायन र संगितमा पोख्त थिए भने कोपिलाको स्वर कोइलीकै जस्तै थियो । विजु र कोपिलासँगै हामी धेरै ठाउँ पुगेका छौं । सास्कृतिक कार्यक्रमको यो जोडी पछि आएर दाम्पत्य जिवनमा बाँधियो । विजुले राष्ट्रिय स्तरका धेरै गीतहरुमा संगित भरेका छन् । उनी पछि काठमाडौं आएका थिए । दुःखको कुरा विजुले पनि हामीलाई छाडेर गए । मुसिकोटको त्यो साँस्कृतिक कार्यक्रममा तमघासबाट नेपाली कांग्रेसका हालका सभापति भुवनप्रसाद श्रेष्ठको नेतृत्वमा नवराज श्रेष्ठ, आनन्द श्रेष्ठ, कुमार थापा, रामबहादुर कुँवर, बाबुराम थापा लगायत अन्य साथीहरु पनि थिए मैले अहिले सबैको नाम सम्झन सकिन । वामी टक्सारबाट प्रमुख कलाकार विजु र कोपिला त भइहाले त्यसका अलवा सुदर्शन शाक्य, राजेन्द्र श्रेष्ठ, योगेन्द्र श्रेष्ठ, लप्सन शाक्य, अंवु श्रेष्ठ लगायतका थुप्रै साथीहरु उपस्थिति थिए । अर्लाङकोटबाट कृष्ण प्रसाद सापकोटा लगायतका साथीहरुपनि आएका थिए । साँझ साँस्कृतिक कार्यक्रम सुरु भयो विजु र कोपिलाले यो लालिगुँरास त्यो ढाका टोपीमा–बढ है नेविसंघ विकासको खोजिमा भन्ने गीत गाए । गीत गाउने क्रममा यो जोडीले कसरी झुक्कायो आज मरेको कम्युनिष्ट आएर भन्ने गीत गाएपछि त्यहाँका कम्युनिष्टहरु अलि आक्रोशित भए । त्यही बेला विष्णु गिरीले कोदोको रोटी देखाउँदै एमालेको चुनाव चिन्ह सुर्यको विषयमा कमेडी के प्रस्तुती गरेका थिए चारैतिरबाट हामीमाथि असिना सरह ढुङ्गा बर्सिन थाले । पृथ्वी माध्यमिक विद्यालयमा भएको त्यो कार्यक्रममा नजिकै रहेको पीपलको बोटले हामीलाई धेरै बचाए पनि लक्ष्मी घिमिरेलाई टाउकोमा ढङ्गा लगेर बेहोस भए । रातभर सुदर्शन जी र हामी विपक्षीसँग ढुङ्गा हानाहानमै बित्यो । बिहान भएपछि त्यो बेला यातायात थिएन लक्ष्मीलाई डोलीमा बोकेर तमघास ल्याएर हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो । लक्ष्मी जी ज्याङ्गो मान्छे दुई जनाले पालै पालो त्यो लामो बाटो बोक्दा हामी सबैको काँध सुन्निएका थिए ।

माथि उल्लेख गरे मध्येका तरुण दल वामीको संस्थापक अध्यक्ष भएका लप्सन शाक्य पनि धेरै वर्ष पहिले सवारी दुर्घटनामा मृत्यु भयो भने राजेन्द्र श्रेष्ठ विदेश पलायन भए । सुदर्शन र मेरो असाध्यै घनिष्ठता थियो । हामीले लाली दिदी(विक्रम) की आमा कहाँ खानपीन सँगसँगै गथ्र्यौ भने धेरै पटक दरमखोलामा माछा पनि मारेका छौं । संगठन गर्ने क्रममा हाम्रो यात्रा स्मरण गर्ने लायकका छन् । हामी खाराको नुवाई मेला देखि कुर्घाको मालिकासम्म यात्रा गरेका छौं । जहाँ जादा पनि सुदर्शनले आफ्नो विचार राखिहाल्ने र विपक्षीसँग मुकाविला गर्ने बानी थियो । २०४८ को बैशाखमा आँपचौरमा कार्यक्रम थियो । चुनावी कार्यक्रम हो की जस्तो लाग्छ । दिउँसो आमसभा सम्पन्न भएपछि राति सांँस्कृतिक कार्यक्रम राखिएको थियो । वामी टक्सारबाट सुदर्शन जी लगायत थुप्रै साथीहरु आएका थिए । अशोक ज्वारचनले चोरकाटेबाट ५०–६० जना बोटे लिएर आएका थिए । त्यहाँ पनि कम्युनिष्टले ढुङ्गा बर्षाएपछि ठूलो भिडन्त भयो । पछि मजुवाको आमसभामा क्रान्तिकारी नेता फणिन्द्र भण्डारीको भाषणपछि कम्युनिष्टको ठूलो जत्थाले आमसभामा आक्रमण गर्यो । फणिन्द्रलाई बचाउन कठिन भयो । त्यो बेला अशोक ज्वारचनले काठको पेस्तोल देखाएर कोही अघि बढे गोली ठोक्छु भनेपछि कम्युनिष्ट अलि पछि सरेका थिए । त्यो बेला फणिन्द्र भण्डारीलाई महिलाको पहिरन लगाएदिएर सिस्ने खोलाको बाटोबाट भगाइएको थियो । त्यो भिडन्तमा पनि सुदर्शन र हामी सँगसँगै थियौं । यस्ता दर्जनौं यात्रा छन् जुन यात्रामा सुदर्शन जी र म सँगसँगै छौं ।

यो पंतिकारले यस्तो लेख्दा अहिलेका युवाले गफ हान्यो भन्दाहुन् किनकी परिस्थिति ठ्याक्कै फरक छ । हामी पैदल हिँडेर गाउँका शुभचिन्तक कहाँ गास बास गरेर संगठन गर्थ्याैं । अहिले सवारी साधनले सबै दुरी कम बनाइदिएको छ । हामीले संगठन गर्दा जहाँ गयो त्यही एमालेसँग भिडन्त हुन्थ्यो तर अहिले त्यस्तो स्थिति छैन । वामी टक्सारबाट मजुवातिर आउँदा भुवाचिदी भन्ने ठाउँमा एमालेको गढ थियो । कांग्रेस भनेपछि बाटोसम्म हिड्न दिदैनथे । त्यहाँ गोपाल नाम गरेका एउटा असाध्यै उग्र र मुर्ख कार्यकर्ता थिए । तिनकै नेतृत्वमा त्यहाँ कांग्रेसलाई पैदलसम्म हिड्न दिदैनथे । त्यो बेला गोविन्द रिजाल, महेन्द्र रिजाल लगायतका साथीहरु जुधेर बसेका थिए । हामी भुवाचिदीमा समेत सँगसँगै यात्रा गरेका छाैं। यात्राका फेहरिस्त लेख्दै जानेहो भने सिङ्गो पुस्तक नै बन्छ । सुदर्शन संगठन गर्नमा जति कुशल थिए समाजसेवामा पनि त्यति नै लागिरहन्थे । २०५० सालमा गुल्मी जिल्लाको नेविसंघको छैठौं अधिवेशन हुन नसकेपछि भुवन प्रसाद श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । त्यो तदर्थ समितिमा म पनि थिए । त्यो समितिले यसरी काम गर्यो कि ७९ वटै गाविस सबै मावि र क्याम्पसमा इकाई गठन गरी अधिवेशन प्रतिनिधि चयन गरिएको थियो । त्यति बेला पनि सुदर्शन, कृष्ण प्रसाद सापकोटा र म धेरै ठाउँ सँगसँगै गएका थियौं । गुल्मी जिल्लाको इतिहासमा त्यो अधिवेशन ऐतिहासिक हुँदै थियो । अधिवेशनको मिति तोकियो त्यो मिति असोज जस्तो लाग्छ । अधिवेशन सम्पन्न गर्नका लागि ७९ वटै गाविसबाट प्रनितिधि सदरमुकाम तमघास आएका थिए । हालका केन्द्रीय सदस्य चन्द्र भण्डारी त्यो बेला नेविसंघको केन्द्रीय महामन्त्री हुनुहुन्थ्यो । अधिवेशन उद्घाटन हुन नपाउँदै चन्द्र दाइले आफू अनुकुलको नेतृत्व ल्याउन जिल्लामा कसैले नाम सम्म नसुनेका प्रकाश ज्ञवालीलाई अघि सार्नुभयो । हामीले जिल्लामा अहोरात्र खट्ने महेन्द्र भण्डारीलाई अघि सारेका थियौं । हामीले असार–साउन नभनेर गरेको संगठन र ल्याइएका प्रतिनिधिबाट अधिवेशन हुँदा चन्द्र दाइले चाहेको नेतृत्व नआउने भएपछि गुल्मीको अधिवेशनकै लागि पुरानो नियमावली संशोधन गरेर नयाँ नियमावली फ्याक्सबाट मगाएर अधिवेशन गरी प्रकाश ज्ञवाली अध्यक्ष बने । त्यसबेला विष्णु प्रसाद बलाल क्षेत्रिय सभापति बने भने म सचिव बनेको थिए । त्यो शैलीको अधिवेशनको सुदर्शन लगायत हामीले विरोध गरेका थियौं । राजेन्द्र श्रेष्ठ क्षेत्रिय उपाध्यक्ष थिए । हामीले त्यो बेला जिल्ला कमिटीलाई पछि पार्ने काम गर्ने सपथ खायौं र पहिलो कार्यक्रम वामीमा गर्ने प्रस्ताव राजेन्द्र र सुदर्शनले गरे । क्षेत्रीय समितिको आयोजनामा वामी टक्सारमा विशाल प्रशिक्षण कार्यक्रम राखियो । खानपानसहित तीन दिन राखिएको त्यो शिविरमा प्रमोदहरी गुँरागाई, इन्दिरा मरठ्ठा, देवेन्द्र पौडेल त्यो बेलाका चर्चित विद्यार्थी नेतालाई बोलाइएको थियो । त्यहाँको त्यो तीन दिनको प्रशिक्षणमा व्यवस्थित गराउन सुदर्शन ज्यादै खटेका थिए । वामी टक्सारका व्यापारी वेगप्रसाद शाक्य र उहाँकी धर्मपत्नी लगायत बजारका धेरै साथीहरुले भोजनको व्यवस्थापन गरे । यसरी धेरै लामो समय सँगसँगै यात्रा गरेका हामी बिचमा म केन्द्रीय पत्रकारीता गर्न काठमाडौं हिडेपछि कहिले काही मात्र भेट हुन्थ्यो । हाम्रो अन्तिम यात्रा गएको निर्वाचनमा बडागाउँ जाँदा भएको थियो । वामी टक्सारका प्राय सबै सामाजिक संस्थाको नेतृत्व गरिरहेका यस्ता मित्रलाई गुमाउँदा मैले जति लेख्दै छु त्यति आत्मा रोइरहेको छ । मित्र सुदर्शन राजनीतिक यात्रामा कति दुःख सुख गरीयो त्यो भनि साध्य छैन । अहिले मैले आफूलाई धिक्कारी रहेको छु जिन्दगीका धेरै यात्रामा हामी सँगसँगै हिड्यौं । आज तिम्रो अन्तिम यात्रामा सिङ्गो गुल्मेलीले आँसु बगाउँदा र यात्रा गर्दा म उपस्थित हुन सकिन त्यसैले मलाई माफ गर्नु । अब कहिल्यै नफर्किने गरी यात्रा गरेको सुदर्शन तिम्रो बैकुण्ठको बासको लागि पशुपतिनाथसँग प्रार्थना गर्दछु । भावपूर्ण श्रद्धाञ्जली । श्रद्धाञ्जली ।। श्रद्धाञ्जली ।।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.