वर्षाको भेल सँगै बग्यो करोडौँ बजेट

| 2018 Jul 15 | 09:21 am 3347

जाजरकोट, असार ३१: स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्षायामको भलले छियाछिया पारिदिएको छ।

जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ। वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन्।

छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनी सोध्दा नगरप्रमुख लालबहादुर महतराले सडक त खनियो तर कति किलोमिटर पुग्यो थाहा नभएको प्रतिक्रिया दिए।

उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको उहाँले जानकारी दिए। सडक निर्माण गरिएका सबै ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो।

त्यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिकाभित्र निर्माण गरिएको सडकको यकिन विवरण आउन नसकेको बताए। यो गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका सबै सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन्।

त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए। यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माणका काम भइरहेकोले अर्को वर्ष यातायातका साधन चल्ने अध्यक्ष केसीले बताए।

नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तरोन्नति गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । यो नगरपालिका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा छन् केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भए पनि पुनःनिर्माण गर्दै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको उहाँले जानकारी दिए।

सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन्। यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको नगरप्रमुख रावलले बताए ।

वडा नं ८ का वडाध्यक्ष गोविन्द शाहीले आफँै डोजर लगाएर दुई वटा सडक खन्नुभएको थियो। यो सडकले कायखेत गाउँ, बगारा र मन्मै गाउँसमेत जोखिममा परेको छ । कायखेतमा सयौँ रोपनीमा लगाएको धानबाली नष्ट हुनाका साथै पाँच घरपरिवारसमेत विस्थापित भएको नगरपालिकाले बताएको छ।
बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। कुशेगाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन्। वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो।

भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन्। नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । नयाँ सडक कति निर्माण भयो भन्ने यकिन विवरण यो नगरपालिकाले पनि दिन सकेन। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.