पोखरा,असार २६: गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनाबाट आमाबाबु गुमाएका एक १२ बर्षीय बालकले किरिया बसेका छन्। घरको आर्थिक स्थिति कमजोर भएका कारण रोल्पाबाट रोजगारीका लागि मुस्ताङ पुगेका १२ बर्षिय बालक विवस घर्तीले टु हुरो मात्रै हुनु परेन कि यो कलिलो उमेरमा आफ्ना जन्म दिने आमाबाबुको किरिया समेत गर्न बाध्य हुनुपर्यो।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैले ज्यान गुमाउनु परेको थियो। अभिभावकको दुःखद मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन्। उनका ६ बर्षिय भाई विशेषन कपाल मुण्डन गरी बसेका छन्।
गरिबिको बाध्यताले विवशका आमाबाबुले ति कलिला बालकलाई पोखरामै छोडेर आफूहरु मजदुरी गर्नका लागि मुस्ताङ गएका थिए। स्थानीय एउटा पसलमा खाद्यन्य सामग्री उपलब्ध गराइदिन भनेर मजदुरी गर्न गएका आमाबाबुको यसरी आफ्नै आँखा अगाडी लास देख्नु पर्ला भन्ने ति बालकहरुले सपनामा समेत सोचेका थिएनन्। १२ बर्षकै कलिलो उमेरमा भाईको हेरचाह देखि खानपानको व्यवस्था गर्दै आएका विवशलाई दैवले पनि सानै उमेरमा टुहुरो बनाइदियो। अहिले उनी किरिया बसेको ठाउँमा जाने जो कोहीको पनि त्यो दृष्य देख्दा मुटु भक्कानीनुको साथै आँखामा आसु आउने गरेको स्थानीय बासी बताउछन्।
बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेको उनकी फुपूदिदी डिलकुमारी घर्तीले बताइन । मृत्यु भएका दम्पतीको काजकिरियाको व्यवस्था रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च रु ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिए ।
वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो। वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए ।
दुवैको मृत्युले ती शिशुको भविष्य अब के होला भन्ने कुराले आफूहरूलाई निकै चिन्तित बनाएको घरबेटी वीरबहादुर गोदारले बताए । मुस्ताङ दुर्घटनाबाट ज्यान गुमाएका परिवारलाई सरकारले पाँच लाख दिने निर्णय गरेको छ।