– महेन्द्र पाण्डेय
मुलुकका ठूला शहरहरूमा पछिल्लो समय मायाप्रेमको नक्कली कथामा थुप्रै यूवतीहरू फसेर आफ्नो जीवन बर्बाद गरिरहेको छन् । कुनै बुझ–बुझारथको चेष्टा नै नगरी समाजिक संजालबाट मायाको सुर्केगाँठोमा जावानीको आवेगका साथ आफ्नो शरिरलाई सहजै सुम्पनेको संख्या यतिखेर ह्वात्तै बढेको छ । विशेषगरी पश्चिमा शैली वा प्रवृत्ति अपनाएर सँगै बस्ने र स–साना कुरामै छुट्टिने प्रक्रिया झन्–झन बढोत्तरी भइरहेका छन् । पछिल्लो समय सँगै जिउने र मर्ने कसम खाँदै वैधानिकताको प्रक्रियालाई विश्वासमा सुम्पिएर शरीरमाथि छाडा खेल्न दिने थुप्रै–थुप्रै कलिला दिमाग भएका र अधबैंसे महिलाले समेत अनेक समस्या झेल्नुपरेको छ ।
कैयौँ पुरुषले फेसबुकमार्फत खोजी गर्ने र त्यहीँबाट प्रस्ताव राखी होटल–रेष्टुरेन्टमा भेटेर सम्पर्क अघि बढाउने गरेका घटना पनि हाम्रो समाजमा प्रसस्तै देखिन थालेका छन् । विशेषगरी ‘लिभिङ टुगेदर’का नाममा पछिल्लो समय आएको नक्कली प्रेम–आतंक त चासो दिनैपर्ने प्रकारका छन् ।
शुरुका दिनमा केटा पक्षले आकाशका तारा नै खसालिदिने सपना बाँड्दा मनको लड्डु घ्युसँग खाने धेरै युवती तथा महिलाहरू शोषणको शिकार भएर पनि भित्रभित्रै सहेर बस्न बाध्य छन् । विशेषगरी पर्यटकीय नगरी पोखरा, सुन्दर नगरी धरान र राजधानी काठमाडौंमै लिभिङ टुगेदरको बहानामा शुरुका दिनमा रमाउने र लफडा मच्चिएपछि पछुताउनेको संख्या प्रशस्तै छन् । प्रहरीको रेकर्डमा पनि शुरुका दिनमा खुसीका साथ बसेर रंगीन दिनरात बिताउने पछि झगडा गर्ने अनि ‘बलात्कार गरेको’ भन्ने उजुरी दिने उपक्रम प्रशस्तै बढेर गएका छन् । कैयौँ केटाकटीको भेटघाट सामाजिक संजालबाट हुने र पछि गएर एकै साथ बस्ने तर वैधानिक र कानुनी रूपमा अविवाहित तर व्यवहारिक रुपमा शारीरिक तथा यौनसम्बन्धी सबै क्रियाकलाप गर्ने गरेको पनि पाइन्छ ।
यस्ता क्रियाकलाप धेरै लामो समय टिकाउ भएको पनि पाइँदैन । महिलाले जब वैधानिकताको कुरा र सन्तान–इच्छाको कुरा उठाउन थाल्छन् त्यसपछि उनीहरूमा खटपट शुरु हुन्छ । पुरुषले न्यूनतम खर्चमा महिलाको यौन शोषण गरी शारीरिक प्यास मेटाउने खेलौना बनाउन खोजेको कुरा त्यतिबेला छरप्रष्ट हुन जान्छ जब महिलाले औपचारिक विवाह र सन्तान जन्माउने कुरा उठाउन थाल्छिन् । यसपछि पुरुषले अनेक बहानवाजी गर्न शुरु गर्ने र उस्तै परे हिंसामा उत्रने हर्कत गरेको पनि सुन्ने गरिन्छ ।
यौनका लागि गरिने यस्ता झुठो मायाप्रेममा कतै केटा मान्छे भन्दा केटी आधा उमेर कमका भेटिन्छन् त कतै केटाभन्दा केटी ८–१० वर्ष नै पाका उमेरका भेटिन्छन् । पाका उमेरका महिलाहरू प्रायः घरबार बिग्रीएका वा पति विदेशमा भएका कारण यौन सम्पर्कको चाहनामा ‘अन्धो’ भएका भेटिन्छन् । कतिपय पाका उमेरका महिलाले शुरुका समयमा आफ्नै घर–कोठामा लैजाने र पछि अन्धोप्रेममा परिणत भएपछि आफ्नो श्रीमानलाई कंगाल बनाएका घटना पनि यत्रतत्र सुन्ने गरिन्छ । धेरै पुरुषहरूले पहिला प्रस्ताव गर्दा मायाप्रेम र जीवनभर संगै जिउने कुरा गर्ने अनि केटीलाई आफ्नो नक्कली मायाको जालोमा पार्न सफल भएपछि सँगै डिस्को, क्लब, दोहोरी, रेष्टुरेन्ट या गेष्टहाउस पुर्याउँछन् ।
विश्वासमा ‘लिभिङ टुगेदर’ गर्नेहरू अविश्वास बढेपछि झगडा गरेर अन्ततः जेलको छिँडीमा पुग्ने घटना बढेर जाँदा थुप्रैका लागि यो आयातित ‘लिभिङ टुगेदर’ संस्कृति गलपासो बन्न पुगेको छ । शुरुका दिनमा मन मिलेर सम्पर्क गर्ने र पछि बलात्कारको आरोप लागेर अड्डा–अदालत धाइरहेका कैयौँ युवा र धोकाधडीमा परेका कैयौँ युवतीहरू पछुताउने मात्रै होइन कि आफ्ना सातपुस्ताले पनि यस्तो नगरोस् भन्दै हिँड्ने गरेकासमेत भेटिन्छन् ।
यसरी युवती वा महिलाको जवानी लुटेपछि उसलाई चुइगमको खोस्टा सरह फाल्न खोज्नेको संख्या पनि थुप्रै छ । भेटेको दिनदेखि स्वार्थपूर्ति गर्दासम्म आकाशको चन्द्रमा झारीदिन्छु भन्ने पुरुषले जब केटीपक्षबाट विवाह वा सँगै जीवन बिताउने कुरा आउँछ त्यसपछि अनेक बहानावाजी बनाउने, विदेशतिर लाग्ने अनि फर्केपछि बिहेगर्ने भन्ने गरेका गुनासा पनि केटी पक्षबाट सुन्न पाइन्छ । यस्तो घटनाका कारण विदेश जान खुट्टा उचालेर बसेका युवा महिलाले जबर्जस्ती करणीको मुद्दा हालेपछि जेलको चिसो छिँडीमा बसेर आफ्नो गलत बाटोको विषयमा पछुताइरहेका पनि छन् ।
विश्वासमा ‘लिभिङ टुगेदर’ गर्नेहरू अविश्वास बढेपछि झगडा गरेर अन्ततः जेलको छिँडीमा पुग्ने घटना बढेर जाँदा थुप्रैका लागि यो आयातित ‘लिभिङ टुगेदर’ संस्कृति गलपासो बन्न पुगेको छ । शुरुका दिनमा मन मिलेर सम्पर्क गर्ने र पछि बलात्कारको आरोप लागेर अड्डा–अदालत धाइरहेका कैयौँ युवा र धोकाधडीमा परेका कैयौँ युवतीहरू पछुताउने मात्रै होइन कि आफ्ना सातपुस्ताले पनि यस्तो नगरोस् भन्दै हिँड्ने गरेकासमेत भेटिन्छन् । कैयौँ युवतीले युवालाई मायाको जालोमा फसाएर वार्गेनिङ वा ब्ल्याकमेलिङको माध्यम बनाएको पनि पाइन्छ । ‘अवैधानिक रूपमा आफ्नो सबै सुम्पिएर पछि पछुताउने परिस्थिति पैदा गर्नुभन्दा शुरुमै कानुनी मान्यतासँगै आफ्नो जीवनको शुरुवात गर्नुपर्ने रहेछ’ भन्दै कोटेश्वर बस्ने कल्पना (नाम परिवर्तन) पछुताउ गर्छिन् ।
यसअघि उल्लेख गरिएका शहरबाहेक विराटनगर, बुटवल, नेपालगञ्ज लगायतका थुप्रै शहर–बजारमा लिभिङ टुगेदरको विकृति फस्टाइरहेको छ । पर्याप्त कानुन र विषयबस्तुबारे ठोस जानकारी नहुँदा प्रहरीले पछि मात्रै घटनाबारे थाहा पाउने गरेको छ । लिभिङ टुगेदरमा पाटनरसँग मनमुटाव भएपछि अनेक बहानावाजी गरेर मुद्दा दर्ता गर्न प्रहरीकहाँ जाने गरेका सन्दर्भ एकातिर छ भने अर्कोतिर प्रोपर्टीका लागि पनि केटीहरू सँगै बस्ने गरेको कुरालाई पनि नकार्न सकिन्न । धेरै घटना मिल्दासम्म लिभिङ टुगेदर भन्ने अनि मनमुटाव बढेपछि आर्थिक लाभको लागि ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीको बुझाइ छ ।
लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रष्ट कानुन बनाएर सम्बन्धित निकायलाई कार्वाही गर्ने बाटो खुलाउनुपर्यो, होइन र सँगै बस्न पाउनुपर्ने हो भने पनि त्यसको प्रष्ट व्याख्यासहितको कानुन अपरिहार्य बन्न पुगेको छ । अन्यथा, मन पर्दा रमाइलो गर्ने नपर्दा अपराध भन्ने कुराले कति केटाकेटीले जेल र सडक रोज्नुपर्ने हो, यसको कुनै हिसाब रहने छैन । कानुनी दायरा खडा गरेर समयमै यस्तो बेथिति नियन्त्रण गर्न नसके समाज र देश नै पथभ्रष्ट हुने दिन देख्न धेरै कुर्नुपर्ने छैन ।
प्रहरीका अनुसार लिभिङ टुगेदरले आजको समाजमा धेरै ठूलो चुनौती खडा गरेको छ । त्यसरी बसेका केटाकेटीहरूको सम्झौता नै कानुनविरोधि भएको प्रहरी निकायको ठम्याई छ । वैदेशिक रोजगारीमा गएर फर्किएका धेरैले त्यहाँको देखासिकी गर्दै नेपाल आएपछि ‘लिभिङ टुगेदर’ शैली अवलम्बन गर्ने गरेका अनुमान लगाउन गाह्रो छैन । यस्ता कैयन जोडीबाट बच्चा पनि जन्मिएका छन् । त्यसरी जन्मिएका बच्चाको भविष्यको कुरा एकातर्फ छ भने अर्कोतर्फ बच्चा जन्माउने आमा घर न घाटकी हुने सम्भावना पनि त्यतिकै रहन्छ । कानुनले लिभिङ टुगेदरका विषयमा खास केही बोलेको पाइँदैन त्यसैले धेरै घटना कानुन अभावकै कारण दबेका पनि छन् । आँटका साथ बाहिर निस्कन सक्नेले त प्रहरीकहाँ गएर बलात्कार, जबर्जस्ती करणी भनेर उजुरी गर्लान्, तर सजाय दिलाउन बाहिर निस्कन नसक्ने र सोझासाधा महिला यस्तो कार्यबाट अलपत्र परेका घटना पनि प्रशस्त छन् ।
जे होस्, यस विषयमा राज्यले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । यदि लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रष्ट कानुन बनाएर सम्बन्धित निकायलाई कार्वाही गर्ने बाटो खुलाउनुपर्यो, होइन र सँगै बस्न पाउनुपर्ने हो भने पनि त्यसको प्रष्ट व्याख्यासहितको कानुन अपरिहार्य बन्न पुगेको छ । अन्यथा, मन पर्दा रमाइलो गर्ने नपर्दा अपराध भन्ने कुराले कति केटाकेटीले जेल र सडक रोज्नुपर्ने हो, यसको कुनै हिसाब रहने छैन । कानुनी दायरा खडा गरेर समयमै यस्तो बेथिति नियन्त्रण गर्न नसके समाज र देश नै पथभ्रष्ट हुने दिन देख्न धेरै कुर्नुपर्ने छैन ।
(यस अघि प्रकाशित भएको यो लेख पाठकको अनुरोधमा पुनः प्रकाशित गरेका छौं)