काठमाडौँ, असार २४ : एउटा संस्कृत सम्बन्धी अन्तराष्ट्रिय कार्यक्रममा जानलागेका संस्कृत विश्वद्यिालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अपराध गरेसरह त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट डिआइजिले गिरफ्तार गरी प्रधानमन्त्री निवास ल्याएको कुरामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उक्त व्यवहारको विरोध जनाएको छ ।
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरेका छन् ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।
क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री निवास ल्याइएका कोइरालालाई प्रधानमन्त्रीलाई भेट्न दिइएन । कोइरालाबाहेक अन्य ६ जनालाई भने जान दिइएको थियो ।