डाक्टर केसीलाई फेरि पनि धोका नहोस्

रिपोर्ट नेपाल | 2020 Oct 14 | 06:35 pm 2945

  • बसन्त भुजेल

दुई दशक अघिसम्म भन्ने गरिन्थ्यो, यस्तै पारा हो भने नेपाल भुटान जस्तो बन्छ । तर आज अवस्था के छ त ? दुई वर्ष अघि नेपाल आएकी भूटानकी अभिनेतृसँग पत्रकारहरुले सोधे –‘नेपाल कस्तो पाउनु भयो ?’ उनले भनिन् –‘एउटा अचम्मको कुरा बाहेक मैले नेपाल र भुटानमा खासै अन्तर देखिन ।’ त्यो अचम्मको एउटा कुरा के हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन् –‘नेपालमा बिरामी भए वापत उपचार गर्न जाँदा राज्यलाई कर तिर्नु पर्दो रहेछ, उपचार शुल्क महंगो रहेछ , आफ्ना छोराछोरी पढाए वापत अभिभावकले पैसा तिर्नुपर्दो रहेछ । तर भुटानमा शिक्षा र स्वास्थ्य उपचारका लागि जनताले पैसा तिर्नु पर्दैन ।’ भुटानीहरुले समेत आश्चर्य प्रकट गर्ने अवस्थामा हामी पुगिसक्यौं । यो सामान्य कुरा हुँदै होइन ।

हामीलाई अरु कसैले यो दुर्गतीमा पुर्याएका होइनन्, हामीले आफ्नै क्रियाकलापले यो दुरदशा निम्त्याएका हौं । डा. गोविन्द केसीलाई हामीले के कसरी सताई रहेका छौं ? त्यसको उदाहरण हेरे मात्रै पनि पुग्छ ।
३०सौं वर्ष डाक्टर र प्राध्यापक बनेर सरकारी सेवा गरेका केसीलाई पत्रकारले सोधेका थिए –‘तपाँइको जीवनका प्राथमिकता मध्ये मुख्य तीन वटा प्राथमिकता के के हुन् ?’ डा. केसीले जवाफ दिए –‘पहिलो प्राथमिकता नेपालका बिरामी, दोस्रो प्राथमिकता विद्यार्थी, त्यस बाहेक अरु प्राथमिकता मेरा छैनन् । एक पेट खान, एकधरो लगाउन र घाम पानी छेक्ने आश्रय बाहेक मेरो व्यक्तिगत लक्ष छैन ।’

वास्तवमा यस्ता महामानव एक युगमा एक जना मात्रै जन्मन्छन्, सुरुमा यस्ता महामानवलाई समाजले चिन्न सक्दैन, यस्ता महामानव निकै कालखण्डसम्म सत्ताको कोपभाजनमा पर्छन् । डा. केसीको हकमा त्यही भयो । समाजले उनलाई चिनेको १० –१२ वर्ष जति भयो । राज्यसत्ताले त उनलाई अझै पनि शत्रु ठानिरहेको छ । सरकारको यहाँ भन्दा नालायकी अरु के हुन सक्छ ? जनताको मित्रुलाई शत्रु ठान्नेहरु राज्य सत्तामा बस्न मिल्दैन, तर हामी कहाँ लोकतन्त्रको नाममा जनताका शत्रुहरुको राज्यसत्तामा हालीमुहाली चलिरहेको छ ।

यस पटक पनि डा. केसी सँगको सम्झौतामा धोका भयो भने जनता चुप लागेर बस्ने छैनन्, अबको आन्दोलनमा वारकी पार हुने गरी आँधीवेहरी उत्पन्न हुनेछ ।

नेपाली जनताको माग लिएर आफ्नो ज्यानलाई हत्केलामा राख्दै पटक पटक आमरण अनशनमा बसेका महामानव डा. गोविन्द केसीसँग लम्पसार पर्न सरकार वाध्य भएको छ । सुरुका दिनमा अत्याएर गलाउन खोजेको सरकारका खिलापमा चिकित्सक, पत्रकार, नागरिक समाज, कानून व्यवसायीले समेत डा. केसीको पक्षमा ऐक्यवद्धता जनाएपछि अन्तत्वगत्वा घुँडा टेक्न सरकार वाध्य भयो ।

जनताको माग लिएर एउटा चिकित्सक दर्जनौ पटक अनशन बस्नु पर्ने वाध्यता भनेको जननिर्वाचित सरकार भएको मुलुकका लागि ज्यादै लाजमार्दो कुरा हो । शिक्षा र स्वास्थ्यलाई संविधानले जनताको मौलिकहकको सूचिमा राखेको छ । तर मुलुकमा केही माफियाहरुले सरकारको संरक्षणमा शिक्षा र स्वास्थ्यको व्यापार गरेका छन् । जसले धेरै रकम बुझाउन सक्छ उसैले डाक्टरी पढ्न पाउँछ, डाक्टर बन्ने क्षमता छ वा छैन ? त्यस अनुसारको उसको दिमाग छ वा छैन ? हेरिन्न । पैसा भए भयो । एक हिसावले प्रमाणपत्र खरिद गरे जस्तो । जो सँग पैसा छैन उनीहरुका छोरा छोरी जति सुकै मेधावी तथा योग्य भए पनि डाक्टरी पढ्न पाउँदैन् । पैसाको बलमा डाक्टर बनेकाहरु दुरदराजका गाउँमा जाने कुरै भएन, जसका कारण दुरदराजका बिरामी उपचार नपाई मर्ने गर्छन् । शहरमा अस्पतालहरु शहर केन्द्रित छन्, तर बिरामीले निकै महंगो शुल्क तिर्नुपर्छ । आफ्नो पढाइमा भएको लगानी उठाउन पनि डाक्टरहरुले चर्को शुल्क लिने नै भए ।

यो समस्या निराकरणका लागि डा. केसीले उपाय समेत सुझाएका छन् । त्यो उपाय हो–‘दुर्गम ठाउँका मेधावी विद्यार्थीलाई सुपथ शुल्कमा डाक्टरी पढाउने र उनीहरुलाई आफ्नै थातथलोमा निश्चित वर्ष सेवा गर्न वाध्य हुने गरी कानुनी व्यवस्था गर्ने ।’ यो उपाय अवलम्वन गर्न जटिल छैन । तर यसैका लागि डा. केसीले १९ पटकसम्म आमरण अनशन बसिसकेका छन् । लामो अनशन पछि चौतर्फी दबाव उत्पन्न हुन्छ, अनि घुँडा टेकेर सरकारले सम्झौता गर्छ । तर सम्झौता कार्यान्वयन हुँदैन, डा केसी फेरि अनशन बस्छन् । यो सिलसिला लामो समयदेखि चल्दै आएको छ । धोका दिनकै लागि सम्झौता गरिए जस्तो भएको छ । अब फेरी यस्तो नहोस् ।
आफैले बनाएको संविधान अनुसार नेताहरु शासन सत्तामा छन् । संविधानले प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयनका लागि नै डा. केसीले आमरण अनशन बसेका हुन् । तर जुन पार्टीको सरकार भए पनि डा. केसीलाई शत्रुको व्यवहार गर्छ किन ? यो ज्यादै विचारणीय प्रश्न हो । हाम्रा नेताहरु कतिसम्म बेइमान छन् ? जनतालाई कतिसम्म ढाँटछल गरिरहेका छन् ? भन्ने ज्वलन्त उदाहरण हो यो । कि त संविधानको मौलिक हकको सूचिबाट शिक्षा र स्वास्थ्यको अधिकार झिक्नु पर्यो, होइन भने बेइमानी गर्न भएन । सत्तारुढ दलका झण्डे कार्यकर्ताहरुको पनि ठूलो कमजोरी देखियो । आफ्ना नेतालाई दबाव दिन सकेनन् ।

अब सरकार संचालनमा विज्ञहरुलाई ल्याउनु पर्छ । अमेरिकी सिष्टम जस्तै । प्रधानमन्त्री राजनीतिक तहबाट होस्, मन्त्रीहरु विषय विज्ञ मध्येबाट छनौट गरियोस् ।

डा. केसी जस्ता विज्ञ शिक्षा तथा स्वास्थ्यमन्त्री बन्नु पर्छ । कुलमान घिसिङ जस्ता विज्ञ उर्जामन्त्री बन्नु पर्छ । महावीर पुन जस्ता विज्ञ विज्ञान तथा प्रविधिमन्त्री बन्नु पर्छ ।

‘चोरलाई चौतारो साधुलाई शुली’ को अवस्था कतिन्जेल सहने ? डा. केसी जस्ता होनाहार महामानवहरु भोकै रातदिन खटिनु पर्ने, पढाई हापेका, भारतबाट शैक्षिक प्रमाणपत्र किनेका भुँइफुट्टाहरु राज्य सत्तामा छन् । दश पुस्तालाई पुग्नगरी सम्पत्ति जोडिरहेका छन् । हिँजो फाटेका चप्पल लगानउनेहरु आज कसरी राजसी ठाँटवाडमा पुगे ? भन्ने हिसाव किताव जनताले माग्ने दिन आउँदैछ । स्वास्थ्य र शिक्षको व्यापारले माफियाहरु दिन दुगुना रात चौगुना धनी बनिरहेका छन् । उनीहरुले मोटो रकम नेताहरुलाई बुझाउँछन् । जसका कारण डा. केसी नेताहरुको कोपभाजनमा परेका हुन् ।

स्वर्ग जस्तो हाम्रो मुलुक नेताहरुको असक्षमताकै कारण असफलतातिर अघि बढेको छ । कोरोनालाई देखाएर लुटतन्त्र मच्चाइएको छ । मुलुक यति भताभुंग कहिल्यै भएको थिएन । यति धेरै दलका राजा महाराजालाई पाल्नु भन्दा अब एउटै राजा खोज्नु पर्ने दिन आइसकेको छ । राजालाई देश रहे मात्रै राजा हुन पाउँछु भन्ने हुन्छ तर नेताहरुलाई देश जहाँ सुकै जाओस, आफू बने हुन्छ भन्ने छ । जनताको पक्षमा काम नगर्ने हो भने यत्रो खर्चिलो लोकतन्त्र किन चाहियो ?

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.