पोखरा, असार २१ : एक विद्यालय भवनका उद्घाटनको लागि गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालालाई आग्रह गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकार सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठन गुणस्तरिय बनाउन लागी परेकोले सरकारले गरेको लगानी अनुरुपको प्रतिफल आउनुपर्ने बताएका थिए ।
साविकको जिल्ला शिक्षा कार्यालयबाट रु ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट रु ८४ लाख ९५ हजार र सांसद विकास कोषको रु १५ लाख गरी कूल रु एक करोड ५१ लाख ९५ हजारको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको सो विद्यालयले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिए ।