माफ गर निर्मला….

| 2020 Aug 25 | 07:51 pm 2571

काठमाडौं, भदौ ९ः निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले न्याय नपाएको विषयमा आधारित नयाँ गीत बजारमा आएको छ ।

माफ गर निर्मला भन्ने गीतकाे बाेल रहेकाे छ । गीत डा राजुबाबु श्रेष्ठको शब्द संयोजन र हरि लम्सालको संगीत तथा स्वर रहेको छ । उक्त घटना प्रति राज्य संबेदनशील हुन नसकेकोले वास्तबिक अपराधी अझै पत्ता लगाउन सकेको छैन ।

यस्तो बेलामा निर्मलाका बाबु आमाहरुलाई मात्र होईन आम छोरीका बाबुआमाहरुले चिन्ता गर्नु पर्ने अवस्था छ । गाउँघरमा छाति खोलेर हिडेका अपराधीबाट अन्य छोरीहरुको जीवन बर्बाद नहोला भन्न सकिदैन ।

त्यसैले निर्मलासंग माफी मागेर लेखिएको गीत भएको गीतकार डा राजुबाबु श्रेष्ठले बताए ।

गीत युट्युबमा रिलिज भइसकेकाे छ । गीतकाे शब्द र भिडियाे तल राखिएकाे छ ।

गीतका शब्दहरु

माफ गर है निर्मला माफ गर

तिम्रै चित्कार गुन्जिरन्छ वरपर

सुन्नु पर्नेले सुनेन , बुझ्नु पर्नेले बुझेन

गरिबको जुनी सस्तो भो , न्याय मरेको जस्तो भो

केहि गर्दा नि सकिएन न्याय दिलाउन

माफ गर है निर्मला माफ गर ।

माफ गर है हे छोरी माफ गर ।

तिम्री आमा रुँदा रुँदा सुकि सक्यो आशुँ

तिम्रै पीरले ज्यान सुकेर भाछ आधा मासु

तिम्रो न्यायको लागि सयौ ढोका ढक्ढक्याएँ छोरी

तिम्रै यादले सडकैमा ढलेका छौ घरीघरी

तिम्रो फोटो बोकी निस्के जनता देशै भरी

न्याय बिक्ला भनि गरि रहे खबरदारी

सत्ताले बाटो बिरायो, लोकको बिश्वास गुमायो

जुलुशको आवाज सुनेन, बन्दको शक्ति बुझेन

केहि गर्दा नि सकिएन न्याय दिलाउन

माफ गर है निर्मला माफ गर ।

माफ गर है हे छोरी माफ गर ।

देशका सबै छोरीमा देख्छु म त तिम्रै मुहार

तिनलाई अफ्ठेरो परे बरै कसले देला गुहार

तिम्रो खुनी छाति खोली डुलिराछ गाउँ घर

छोरी चेलीलाई घर बाहिर हिड्न भयो डरै डर

सत्यको भुले कि त कानुनैको रखवालाले

दोषी कसरि पो पत्ता लाग्ला यस्तो चालाले

पीँडाको मुल्य बुझेन, दुःखीको पुकार सुनेन

सत्यको पर्दा खुल्नेछ , दैवले निसाफ दिनेछ

केहि गर्दा नि सकिएन न्याय दिलाउन

माफ गर है निर्मला माफ गर

माफ गर है हे छोरी माफ गर ।

गीतकाे भिडियाे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.