- शकुन्तला आचार्य
२ सय ७औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै भएको र भागवान राम त्यहीँ जन्मेको उद्घोष गरे । यतिबेला प्रधानमन्त्री ओलीको उक्त उद्घोषको विषयमा धेरै तर्क वितर्क सुरु भएका छन् । नेपालमा मात्रै होइन भारतमा पनि प्रधानमन्त्री ओलीको यो भनाईले निकै ठूलो तहल्का मच्चाएको छ । भारतको सत्तारुढ पार्टी भारतीय जनतापार्टी (विजेपी) ले त विज्ञाप्ति नै निकालेर प्रधानमन्त्री ओलीको उक्त भनाई खारेज गरेको छ ।
अयोध्या, बाबरी मस्जिद र राममन्दीरको विषयमा भारतमा विगत ३ सय वर्षदेखि धेरै ठूलो बिवाद छ । त्यही बिवादको जगमा भारतको वर्तमान सत्तारुढ पार्टी विजेपी अस्तित्वमा आएको हो । यदी उक्त बिवाद हुँदैनथियो भने विजेपी अस्तित्वमा आउने थिएन । त्यसैले प्रधानमन्त्री ओलीको उद्घोष प्रति विजेपी आक्रोसित हुनु स्वभाविकै हो ।
यसैगरी प्रधानमन्त्रीद्धारा यति महत्वपूर्ण उद्घोष आएपछि नेपाली जनताका निकै ठूलो उत्साह तथा खुशी छाउनु पर्ने हो । विश्वका करिव २ अर्ब हिन्दूहरुले मर्यादा पुरुषका रुपमा अझ भगवानकै रुपमा मानेका रामको जन्मभूमी यदी नेपाल हो भने हाम्रा लागि धेरै नै गौरवको कुरा हो । प्रधानमन्त्रीले यत्तिकै भनेका अवस्य पनि होइनन् । प्रधानमन्त्रीद्धारा देशबासी सामु झुठो कुरा बोल्न मिल्दैन । तर यति ठूलो कुरा प्रधानमन्त्रीले सार्वजनिक गर्दा पनि नेपालीहरुमा कुनै खुशी र उत्साह देखिएन । उल्टो प्रधानमन्त्री ओलीले झुट्टा कुरा बोलेका हुन् कि ? भन्ने आशंका गरिएको छ । कतिपयले त हावादारी कुरा भन्दै सामाजिक सञ्जालमा उडाउन थालेका पनि छन् । विगतमा ओलीले ६ महिना भित्र पानीजाहज र २ वर्ष भित्र चिनियाँ रेल ल्याउने भाषण गरे । सर्वसाधरण जनताले पात्याए पनि, तर ओलीका यी गफ हावादारी र वकम्फुसे रहेछ भन्ने पुष्टि भयो । रेल र पानीजहाजको मामिला मात्रै होइन, प्रधानमन्त्री ओलीले अढाई वर्षको यो अवधीमा धेरै बकम्फुसे कुरा गरे, जसका कारण रामजन्मभूमी जस्तो संवेदनशील मामिलालाई पनि जनताले हावामा उँडाइदिए ।
एउटा लोक कथा छ, जो हाम्रा प्रधानमन्त्री ओलीको रवैयासँग हुबहु मिल्छ । एकादेशमा एउटा गाउँ थियो, उक्त गाउँमा एउटा केटो थियो । अरुलाई झुक्याउँदा उसलाई आनन्द आउँथ्यो । उसले धेरै बाख्रा पालेको थियो । बाख्रा चराउन जंगल जान्थ्यो । एक दिन उसको मनमा गाउँलेलाई झुक्याउने आइडिया फुर्यो । उसले अग्लो रुखमा चडेर चिच्याउँदै रुँदै भन्यो, बाघले बाख्रा मार्न थाल्यो, गुहार, गुहार । यसरी चिच्याएको सुनेर सारा गाउँले उ भए तिर गए । गाउँलेलाई देख्ने वित्तिकै उ मज्जाले हाँस्न थाल्यो । ‘हाहाहाहा , मैले भुक्याएको थाह नै पाएनन्’ , भन्दै गाउँलेलाई गिज्याउन थाल्यो । नरमाइलो मान्दै गाउँले फर्किए । उता झुक्याउन पाएकोमा उसलाई मज्जा भइरहेको थियो । अर्को दिन पनि उ अग्लो रुखमा चढेर यसरी नै चिच्यायो । गुहार दिन जाने कि नजाने भन्ने दोधारमा गाउँलेहरु परे । यस पटक त झुक्याएको होइन होला, जानै पर्छ भन्दै गाउँलेहरु गए, तर हालत पहिलेकै । उ मज्जालेहाँस्न थाल्यो । तेस्रो पटक पनि यस्तै भयो । तर चौथो पटक त साँचै नै बाघ आएर धमाधम बाख्रा मार्न थाल्यो । उसले चिच्यिाउँदै रुँदै गुहार माग्न थाल्यो, तर गाउँलेले पत्याएनन्, झुक्याउने बानी नै हो यसको, किन दुःख पाउनु ? भन्दै गाउँलेहरु गएनन् । उसका सबै बाख्रा बाघले मारेर सोत्तर बनाइ दियो । बेलुका रुँदै रुँदै रित्तै घर फर्कियो ।
हाम्रा प्रधानमन्त्री ओलीको हकमा पनि कतै यस्तै हुने त होइन ? भन्ने ठूलो त्रास उत्पन्न भएको छ । ओली त व्याक्ति होइनन्, प्रधानमन्त्री हुन् । उनीप्रति जनतामा अविश्वास जाग्नु भनेको मुलुक कोल्याप्स हुनु हो । अयोध्या तथा राम जन्मभूमीकै विषयमा भन्ने हो भने पनि प्रधानमन्त्री ओलीको उद्घोषलाई यसरी हावामा उडाउनु हुन्न । प्रधानमन्त्री ओलीले केही तर्कहरु अघि सारेका छन् । यस विषयमा पहिलो पटक मुख खोलेको प्रधानमन्त्री ओलीले होइन । रामजन्मभूमी आयोध्या नेपालमै हो भन्ने तर्कका साथ धेरै विद्धानहरुले लेख लेखिसकेका छन् ।
चितवनको अयोध्यापुरी (माडी) पर्साको ठोरी र हाल भारतमा पर्ने रामनगर क्षेत्र नै सक्कली अयोध्या भएको र भगवान राम त्यही जन्मेको विषयमा धेरै विद्धानहरुले तर्क अघि सारिसकेका छन् । भारतको लखनउ नजिकै पनि अयोध्या भन्ने ठाउँ छ, त्यही ठाउँमा राम जन्मेका हुन् भन्ने कुरा पहिले अंग्रेजहरुले र पछि भारतीयहरुले प्रचार गर्दै आएका छन् । यसलाई धेरैले स्वीकार गरेका पनि छन् । तर अहिलेको नेपाली पुस्ताले वास्तविक अयोध्या लखनउको होइन, हाम्रै ठोरी, माडी र रामनगरमै हो भन्ने तर्क अघि सारेको छ । उनीहरुको तर्क छ –‘बाल्मिकी रामायणमा अयोध्याबाट सीताको स्वयंवरका लागि जन्तीहरु एक दिनमा पुगेको उल्लेख छ । लखनउबाट बिहान हिँडेको जन्ती बेलुका जनकपुर पुग्न सम्भव छैन, करिव ७ सय किलोमिटर दुरी पर्छ । रामले सीतालाई त्यागेपछि लक्ष्मणले बाल्मिकी आश्रममा लगेर गर्भवती सीतालाई छाडेको प्रसंग पनि छ । सीतालाई बिहान बाल्मीकी आश्रममा लगी बेलुका लक्ष्मण अयोध्या फर्केका थिए । बाल्मिकी आश्रम चितवनमै पर्छ । लखनउबाट बिहान चितवन आएर बेलुका लखनउ नै फर्कन सम्भव छैन । करिव ५ सय किलोमिटर दुरी छ । ’ यो तर्कलाई नजर अन्दाज गर्न मिल्दैन ।
यदी सक्कली अयोध्या माडी (अयोध्यापुरी ), ठोरी तथा रामनगर क्षेत्रहरु भने सक्कली लंका कहाँ हो त ? भन्ने तर्क पनि आउन सक्छन् । हामीले विर्सन नहुने कुरा के हो भने चितवन भरतपुरको पुरानो नाम लंका हो । जसलाई धेरै पछिसम्म पनि लंकु भनिन्थ्यो । जुनबेला नारायणीनदीले चुरे पहाडमा गल्छी बनाएको थिएन त्यतिबेला चितवन र नवलपुरको ठूलो भूभाग जलमग्न थियो । भारतपुर ( लंकु) टापुको रुपमा थियो । जहाँ खस राजाको हिउँदकालिन राजधानी थियो । रावण उनै खस राजा त थिएनन ? भन्ने तर्क तर्फ पनि ध्यान जाँदा नराम्रो हुँदैन । राजाखस शब्दको अपभ्रंश हुँदै रक्षस भएको पो हो कि ? ‘क्ष’ र ‘ख’ अक्षरको उत्पत्ति तथा उच्चारण मिल्दो जल्दो भएकोले ‘राजाखस’ अप्रभंश भई ‘राक्षस’ भनिएको पनि हुन सक्छ । किनभने रावणले तपस्या गरेको ठाउँ हिमाली क्षेत्र नै थियो । उनी विज्ञान, ज्ञान, ज्योतिष, साहित्य, कला, लगायत १० विषयका धुरन्धर विद्धान थिए । शिवको आराधाना गर्ने क्रममा डम्बरु बजाउँदै रावणले देवनागरी लिपी पत्ता लगाएका थिए भनिन्छ । जवकी देवनागरी लिपीको प्रचलन अहिलेको श्रीलंका तथा दक्षिण भारतमा छैन । नेपाल तथा उत्तर भारतमा मात्रै हो देवनागरी लिपी । तर विद्धानहरुले राम र रावण धेरै भएको तर्क पनि गरेका थिए । जसरी बुद्धहरु धेरै जन्मे त्यसरी नै राम तथा रावणहरु पनि धेरै जन्मे । जसमध्ये बाल्मिकी रामायणमा उल्लेख गरिएका राम, सीता, जनक, रावण नेपालकै हुन सक्ने सम्भावना धेरै छन् । प्रधानमन्त्री ओलीले मुखमात्रै नचलाउन । यस विषयमा अध्यायन गर्न एउटा स्थायी संयन्त्र नै बनाउनु पर्छ । रामनगर त भारतमै पर्छ तर ठोरी, माडी (अयोध्यापुरी ) क्षेत्रलाई समेटेर संरक्षण कार्यक्रम ल्याइनु पर्छ ।