- महेन्द्र पाण्डेय
चीनबाट सुरु भई संसारभर आतंक मच्चाएको कोरोना भाइरसले नेपाललाई पनि अछुतो त राखेन नै सरकारको नालायकीपनले दिन प्रति दिन संक्रमितको संख्यामा समेत बृद्धी भइरहेको छ । विशेष गरी भारतमा रोजागारीका सिलसिलामा बसेका नेपालीहरु सुरुका दिनमा आफ्नो जन्मभूमि फर्कनका लागि हार गुहार गर्दा फर्कन पाएनन् । जुन समयमा उनीहरुमा संक्रमण भएको थिएन त्यो बेला सरकारसँग रोइकराई गर्दा समेत सरकार रमिते बनेर बस्यो । जब उनीहरु संक्रमित भए त्यसपछि बल्ल स्वदेश फर्कन दिएर सरकारले उनीहरुलाई अन्याय गरेको छ ।
बल्लतल्ल आफ्नो मातृभूमिमा फर्किएका ती श्रमजिवी दाजुभाईलाई दोस्रो दर्जाको नागरिकलाई जस्तै व्यवहार समेत गरिएको छ । कोरोनाको कहर भारतमा देखिनासाथ तर्सिएर आफ्नै जन्मभूमि पुगेर आधा छाक खाने अठोट गरेर फर्कन चाहेकालाई समयमा फर्कन नदिएर कोरोनाले सरकारको नालायकीपनलाई उदांगो परेको छ । अहिले भारतबाट आएका नेपाली दाजुभाईलाई गाउँ–गाउँमा क्वारेन्टाइन बनाएर राखिएको छ ।
ति क्वारेन्टाइनका विषयमा बुझ्दा त्यहाँ बस्नेको उचित स्वास्थ्य परिक्षण त परै जाओस अपमान किसिमले जीवन बिताइरहेका छन् । सेवा सुबिधा र उनीहरुलाई आत्मबल दिनुको सट्टा घृणित व्यवहार गरेको पनि सुनिन्छ । सरकारको स्पष्ट नीति र उनीहरुलाई गर्नुपर्ने सम्मान र व्यवहार अत्यन्तै कमजोर र घृणा गर्ने लायकको छ । जुन व्यक्ति संक्रमित छन् उनीहरुले त जानीजानी संक्रमित भएर आएको जस्तो व्यवहार गरिएको छ । हिजोसम्म उनीहरुको रगत र पसिनाबाट आर्जित रेमिट्यान्सबाट शासन र आसन जमाएकाहरुले आज ती निरिह दाजुभाईलाई गर्ने व्यवहार यही हो त ? यो पंतिकार राज्य संचालकहरुलाई प्रश्न गर्न चाहान्छ ।
कोरोनासँग लड्नका लागि सरकारले आफ्नो काम कारबाही जसरी गर्नुपर्ने थियो त्यो निरिह गरिब जनतालाई मात्र लागू गरियो । गरिब जनता सयौं किलोमिटर भोकै प्यासै पैदल हिड्न बाध्य भए । सरकारको असफलताको गुणगान गाउने र वरिपरी घुम्नेहरुले पास लिएर मोजमस्ती गर्दै हिडे । यो भन्दा बिडम्बना अरु के हुनसक्छ । जनताहरु सरकारको गैह्र जिम्मेवार कामका बिरुद्ध उभिएका छन् । यो भन्दा सरकार प्रति अविश्वास केही हुन सक्दैन । जनताले गरेका प्रश्न र आशंका मेटाउन सरकार जसरी अघि बढ्नुपर्ने थियो त्यसो नगरी प्रधानमन्त्रीले जनतालाई बेवकुफ बनाउन बेसार खान र टोपी कसरी लगाउने भनेर प्रशिक्षण दिने गरेका छन् ।
लकडाउनका नाममा सरकारी आतंकले जनता भोकभाकै बस्न बाध्य भए भने कतिले आफ्नो जीवन लिला नै समाप्त पार्न पुगे । रोगले भन्दा भोकले अत्तालिन बाध्य जनतालाई सरकारले राहत दिनुको सट्टा आहत मात्रै दियो । नेपालमा वर्षेनी दूरदराज गाउँमा हुने गरेको झाडा पखालाको महामारी भन्दा कोरोना सुन्दा र भनिदा कडा भएपनि मृत्युको संख्या र बिरामीको संख्या यसको तुलनामा हजारगुणा बढी हुन्थ्यो । हामीले यस्ता अभिलेखिकरणलाई ध्यान दिएका छैनौं र हाम्रो बिर्सने रोग पनि बढी नै छ ।
आफ्नो देशको लामो समयसम्मको अभिलेख राख्ने युरोपेली मुलुकमा सन ५४१ । ४२ तिर २ करोड ५० लाख नागरिकले ज्यान गुमाएको पाइन्छ । कोरोनाको सुरुवात भएको चीनमा पनि २००३ मा सार्सको महामारीले झण्डै साढे तीन सयको ज्यान लिएको थियो । त्यस्तै १३४६। ५३ मा फैलिएको संक्रमणले ५० लाखको मृत्यु भएको यूरोपेलीको अभिलेखमा पाइन्छ । यस्ता थुप्रै उदाहरण छन्, तर, हामी कहाँ कहिले कुन विपत्तिमा भएको थियो र त्यसको सामना कसरी भएको थियो भन्ने विषयमा राज्यको ध्यान जानुपर्नेमा कसरी जनतालाई उल्लु बनाउन सकिन्छ भन्ने मै ध्यान केन्द्रित छ ।
कोरोना रोकथामको लागि भनेर खर्च गरिएको भनिएको कुरामा जनता विश्वस्त हुन सकेका छैनन् । दश अर्ब भन्दा माथि खर्च गरिएको तथ्यांक सरकारले प्रष्टसँग देखाएको छैन । संक्रमित संख्या नियन्त्रण होला भन्दा दिनहुँ सयौंको संख्यामा बृद्धी हुँदैछ । सरकार केटाकेटीपनको निर्णय गर्दै जनताबाट आलोचित हुँदै गएको छ । कहिले मोटरसाइकलमा दुई जना चढ्न नपाइने हास्यास्पद निर्णय गर्छ त कहिले के निर्णय गर्छ ।
नागढुङ्गामा देखाइएको जात्रा हेर्दा अझ बढी उदेक लागेर आउँछ । मालबाहक गाडीमा बसेर चेक प्वाइन्ट भन्दा १ सय मिटरबाट हिडेर आउने निर्वाध रुपमा प्रवेश पाइरहेका छन् भने पहुँच नभएर पास नभएका मानिसलाई त्यहाँबाट फर्काइने गरेको छ । चेकजाँचको नाममा घण्टौसम्म दिइने सजाय पनि खेद जनक छ । जुन समयमा संक्रमितको संख्यामा न्यून थियो त्यो बेला लकडाउन गरेर आफ्नो सत्ता बचाउनमा सरकार केन्द्रीत भयो । अहिले संक्रमितको संख्या दिनदिनै बढ्दै छ तर, त्यसलाई रोकथाम गर्न तिर भन्दा सरकार आफ्नो मिसन पूरा गर्न तर्फ केन्द्रीत छ ।
वर्षौं देखि विभिन्न रोगसँग जुध्दै त्यसको प्रतिरोध गर्दै पराष्त गरेका हामीसँग कोरोना भाइरससँग पनि जुध्नु र सतर्कता रहनु बाहेक अर्को विकल्प छैन । तर, सरकार भनेको जनताको अभिभावक हो भनेर सुखानुभूति गर्न नेपाली जनताले पाएनन् । उद्योगी व्यवसायीहरु धरासायी भएको समयमा सरकारले उनीहरुलाई सहानुभूति र राहत दिनुको साटो करको डण्डा चलाउन खोजिरहेको छ । लकडाउन कोरोनालाई पराष्त गरेर खुकुलो पारिएको होइन जनतालाई करको डण्डा चलाउनको लागि हो भनेर जनताले बुझिसकेको छन् । यस्तो बेला आम नेपाली दाजुभाई दिदीबहिनीलाई यो पंतिकार सरकारको आशा र भरोसा नगरी सतर्क रहन आग्रह गर्दछ । आफू सतर्क रही सरकारको बहिरो कान खोल्न र अन्धो आँखा उघारीदिन झकझकाउने बाहेक हामीसँग अरु के पो छ र !