नेपाली हाैं र पाे, पुगेका छाैं प्रत्येक राष्ट्रमा

रिपोर्ट नेपाल | 2020 Jun 07 | 08:07 pm 3058

कृष्ण प्रसाद सापकाेटा

नेपाली हामी रहौँला कहाँ ,नेपालै नरहे ।
उचाइ हाम्रो चुलिन्छ कहाँ , हिमालै नरहे ।।
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको ।
माटो र पानी पहिलो धन धर्तीका छोराको ।।

विदेशमा बस्ने नेपालीहरुले आफ्नो देशको माया कसरी गर्दछन् ? भन्ने सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका गीतका पंति हुन् यी । यो गीत कसरी लेखियो ? भन्ने प्रश्नमा राष्ट्रकवि घिमिरे भन्छन् –‘त्यतिबेला म वर्मा भ्रमणमा गएको थिएँ । त्यहीँको नागरिक भएर पुस्तौदेखि स्थायी बसोबास गरेका नेपालीहरुसँग भेट भयो । उनीहरु जमेर बसेका थिए । तर नेपाल प्रति उनीहरुको आगाध माया थियो । उनीहरुले भने –‘ नेपाल देश छ र नै हामी नेपालीको पहिचान बस्न पाएका छौं , यदी नेपाल नै नरहने हो भने हाम्रो पहिचान के बाँकी रहला र ?’ उनीहरुको यो जवाफले नै आफ्नो दिमागमा गीतका यी पंतिहरु फुरेको राष्ट्रकवि घिमिरे बताउँछन् ।

भारत , बर्मा , तिव्वतको ल्हासा , पाकिस्तानको लाहौरमा नेपालीहरु रोजगारीका लागि पुग्ने सिलसिला सयौं वर्ष पुरानो हो । यस विषयलाई लिएर थुप्रै गीत , कविता , कथा लेखिएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामुदन खण्डकाव्यको जग पनि यही हो । त्यो सिलसिला अहिले बढेर विश्वका प्रायजसो मुलुकमा पुगेको छ । युवकहरु मात्रै होइन थुप्रै युवतीहरु पनि रोजगारका लागि विदेशिएका छन् । परम्परागत रोजगारस्थल भारतमा करिव २० लाख नेपाली रहेको अनुमान गरिएको छ भने भारत बाहेकका अन्यमुलुकमा करिव ५० लाख नेपाली रहेको अनुमान गरिएको छ । पुग नपुग ३ करोड जनसंख्या भएको देशबाट करिव ७० लाख युवाहरु रोजगारीका लागि विदेश जानु भनेको सानो कुरा होइन ।

विदेशमा रहेका नेपाली युवाहरुले स्वदेशको कुल ग्राहस्थ उत्पादनमा करिव ३० प्रतिशत योगदान पुर्याएका थिए । जसका कारण मुलुकको आर्थिक गतिविधि चलायमान भएको थियो । तर अब कोरोनाको विश्वव्यापी महामारीका कारण त्यो अवस्था रहेन । भारतमा रहेका नेपाली त जेन तेन स्वदेश फर्किरहेका छन् , तर तेस्रो मुलुकमा रहेका नेपाली स्वदेश फर्कने प्रक्रिया सजिलो छैन । केही दिन अघि यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्याक्तिका विषयलाई लिएर निकै ठूलो हंगामा भयो । उनले विदेशमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन मुलुकको सामर्थ्यले नभेट्ने अभिव्याक्ति दिएका थिए । उनको भनाई थियो –‘करिव ५० लाख नेपाली ल्याउनु पर्ने हुन्छ , हाम्रो अन्तर्राष्ट्रिय बिमानस्थल तथा हाम्रा ठूला बिमानलाई पूर्ण क्षमतामा परिचालन गर्ने हो भने दैनिक ५ हजार जना ल्याउन सकिन्छ । यो हिसावले ५० लाख नेपालीलाई ल्याउन २ वर्ष ६ महिना लाग्छ । उनीहरुलाई राख्ने क्वारेण्टाइन कहाँ बनाउने ?’

प्रधानमन्त्री ओलीको यो आँकडा गलत होइन । एक जना नेपाली भित्र्याउनका लागि सरदर ३० हजार रुपैंया लागत हिसाव गर्ने हो भने पनि ५० लाखका लागि करिव २ अर्ब रुपैंया खर्च हुन्छ । त्यस बाहेक उनीहरुलाई राख्ने क्वारेष्टाइन तथा पिसिआर परिक्षणका लागि यति नै रकम खर्च हुन्छ । तर ठूलो धनराशी खर्च हुन्छ ? लामो समय लाग्छ भन्दैमा आफ्ना नागरिक प्रति राज्य उदासिन बन्न मिल्दैन । देश चाहिने भनेको यस्तै संकटका बेलामा हो, कर तिर्ने भनेको यस्तै संकटका बेलामा काम लाग्छ भनेर हो ।

विदेशमा रहेका नेपाली प्रति निर्ममता पूर्वक प्रस्तुत भएको भन्दै प्रधानमन्त्री ओलीको व्यापक आलोचना भयो । यो आलोचनापछि सरकार आफ्नो अडानबाटपछि हट्यो । विदेशमा रहेका नेपाली ल्याउनका लागि सरकारले प्राथमिकताको मापदण्ड बनाएको छ । आफ्नै खर्चमा आउने र आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नेका लागि पहिलो प्राथमिकतामा राखिएको छ । छोटो काम विशेषले गएकाहरुलाई दोस्रो प्राथमिकतामा राखिएको छ । अध्यायनका लागि गएकालाई तेस्रो प्राथमिकतामा राखिएको छ । महिला, बालबालिका र वृद्धवृद्धालाई चौथो प्राथमिकतामा राखिएको छ । महिलामध्ये पनि गर्भवतिलाई विशेष प्राथमिकतामा राखिएको छ ।

प्राथमिकता क्रम निर्धारण बाहेक अर्को विकल्प थिएन पनि । तर प्राथमिकताको परिपालनमा इमान्दारिता अपनाइन्छ कि अपनाइन्न ? भन्ने प्रश्न भने जिवितै छ । पहुँच हुनेलाई प्राथमिकतामा पार्ने चलखेल हुने संभावना एकातिर छ भने अर्कातिर प्राथमिकतामा पर्न अनेक तिकडम गरिने संभावना अर्कातिर छ । उदाहरणका लागि कतिपय वैदेसिक रोजगार व्यवसायीहरुले अध्यान भिषामा म्यानपावर सप्लाई गरेका छन् । कतिपयले भ्रमण भिषामा म्यान पारवर सप्लाई गरेका छन् । अझ खतरनाक कुरा के छ भने केही अनुशान हिन महिलाहरुले उतैको पुरुषबाट गर्भधारण गरेर सन्तान जन्माएका छन् ।

स्वदेश फर्कनाका लागि प्राथमिकतामा पर्ने भएपछि केही छाडा स्वभावका महिलाहरुले धमाधम गर्भधारण गर्न थाले भने हाम्रो मुलुकको हविगत के होला ? त्यसैले सरकारले गर्भवति महिलाको हकमा पनि एक मापदण्ड बनाउनु पर्छ । यो क्राइटयरिया बनाइएको मिति भन्दापछि गर्भधारण गरेका महिलाहरुलाई प्राथमिकताको सूचिमा अली तल राख्ने गरी अर्को क्राइटयरिया बनाउन सकिन्छ । यसैगरी विदेशी पुरुषबाट गर्भधारण गर्नेहरुलाई क्राइटयरियाको सूचीमा सबै भन्दा तल राख्नु पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.