द्वन्द्धकालले खेदिएकाहरुलाई संक्रमण-कालको समेत उपेक्षा !!!

| 2020 Apr 22 | 11:25 am 2175

-विकास/कल्याण

विश्वलाई नै आक्रान्त बनाइराखेको कोरोनाभाईरस (कोभिड-१९) को विषय मानवजातिकोलागि अब नयाँ नाम वा शब्द रहेन तथापि, यसको उपचार भने अहिलेसम्मकालागि गर्भमै सिमित रहेको स्वीकार्नुको विकल्प देखिदैन् । जे जति प्रयासहरु भईरहेका छन्, ती सबै रोकथामका उपाय र उपचार पत्ता लगाउनमा नै सिमित रहेकाछन् । यसैबीच, संम्पूर्ण मानवजाति एक किसिमको वन्दिगृहमा भय र त्रासको जिवन गुजारिरहेको छ । यो बन्द अवस्था “लकडाऊन’’ को संज्ञाले परिचित छ । ‘कोरोना’ र ‘लकडाऊन’ अहिले संसारमा अधिक्तम् प्रयोग भइरहेका शब्दहरु हुन र लगभग पर्यावाची प्राय: भइसकेभन्दा अतिशयुक्ति नहोला । कोरोनाको संक्रमणले विश्वभरका आम जनमा परेको असरको वयान गर्नु त के त्यो सम्झदासमेत मन चिसो भएर आउँछ। यसै परिवेशमा नेपालबाट रोजगार लगायत अध्ययन र अन्य कारणबाट अहिले विदेशी भूमिमा बन्धक बन्न बाध्य नेपाली दाजुभाइ र दिदिबहिनीको प्रशंङ्गबारे संक्षिप्तमा चर्चा गर्ने एक प्रयास ।

नेपालबाट रोजगारिकालागि विदेश पलायन हुनुका पछाडि प्रशस्त कारणहरु छन, त्यसमा छलफछ गरिरहनु पर्ने आवश्कता रहेन। साथै यो प्रचलन नौलो समेत होइन । तर, यो पनि ध्रुव सत्य हो, कि हाम्रा दाजुभाइ र दिदिबहिनीहरु जुन किसिमले विदेशीने संख्यामा भारी वृद्धि हुन गयो, त्यसका पछाडिको बाध्यात्मक कारण मध्य प्रमुख कारण तत्कालिन अवस्ठामा देशले भोग्नु परेको द्वन्द्धकालिन परिस्थिति नै हो । फलस्वरुप, यसले निरन्तरता पाई आजसम्म पनि त्यो कायमै रहदै आएको छ । हुनत, अन्य कारणहरुले विदेश जानेको संख्यामा वृद्धि हुन्थ्यो नै, तर त्यो गति एककिसिमको लयमा हुने थियो, जुन अहिले जस्तो देशमा काम गर्ने केही नै संभावना नभएर विदेश जानुनै अन्तिम विकल्प हो जस्तो नहुनसक्थ्यो । साथै धेरैले स्वदेशमै केहि गरेर बस्न सक्ने संभावना समेत सिर्जित हुनसक्थ्यो । त्यो लहडलाई द्वन्द्धकालले थप बल दिएको हुनाले र त्यसपछि त्यहि निरन्तरता रहनुले द्वन्द्धकालले खेदिएका भन्न रुचाएको हु । यसको अर्थ यो होइन कि विदेश जानु गल्ति हो । विश्वव्यपिकरणको अहिलेको अवस्थामा सीमानाहरु साँघुरिसकेका छन । विदेशकै कमाइले देशको अर्थतन्त्रको ठूलो अंश सम्हालेको छ । तर, कोरोनाका कारण पुन: एकपटक जन्मभूमी र मातृभूमीको महत्व के रहेछ भन्ने कुरालाई मनन गर्न बाध्य भने पक्कै बनाएको छ । यसको अर्थ, जति पनि नेपालीहरु बाहिर गएका छन् देशको माया नभएर गएका हुन भन्ने चाहि होइन । बरु, साँचो अर्थ चाहि के हुन आउछ भने, नेपालिकोलागि विदेशीनु रहर भन्दा पनि कहर हो ।

कोरोनाले निम्ताएको स्थिति र त्यसपश्चात विश्वभर छरिएर रहेका नेपालीहरुले व्यहोर्दै आएका कथा, व्यथा र मानसिक प्रभावका बारेमा दैनिक जसो समाचारहरु आइनैरहेका छन । कतिपय ठाँऊमा रहेका नेपालीहरुलाई कोरोना संक्रमण भएर कोरोनालाई परास्त समेत गर्न सफल भएका समाचार आए भने, कतिपय अवस्थामा हार समेत व्योहोर्न परेका तिता समाचार पनि सुन्नुपर्यो । हो, विदेशीएका नेपालीहरु मध्य कतिपय
त्यही देशको आवासीय कागजत तथा नागरिक भैसकेका छन । ऊनीहरुको हकमा दु:ख बिरामी पर्दा कमसेकम त्यही देशले जिम्मा लिन्छ भन्ने विश्नास छ, तर बाँकीमध्य अधिकांश नेपालीहरुको मानसिक र भौतिक अवस्था कस्तो छ भन्ने कुराको जानकारी दैनिकरूपमा आउने समाचार, सामाजिक संजाल र कतिपय अवस्थामा व्यक्तिगत रुपमा गरेका याचनाबाट प्रष्टै हुन्छ । अझ तिनले हरेकका एक एक कथा त सुनाउन बाँकि नै होला । देशको सीमाबाट कोसौं टाढा हुनेहरुको त कुरा छोडौं, देशको सीमानामा आई आफ्नो जन्मभूमी टेक्न चाहनेको जमात नै देश विहिन र अभिभावक विहिन महसुश गरिरहेको अवस्था छ । यतिबेला संसारका अन्य देशहरुले अफ्ठ्यारोमा परेका आफ्ना नागरिकहरुलाई खोजि खोजि उद्धार गरिनैरहेका छन । हो, हाम्रो जस्तो देशले तत्काल त्यति ठूलो कार्य गर्न नसक्ला, तर कमसेकम अन्तिम अवस्थामा देश छ, सरकार छ भन्ने भरोषा र विश्वास त देऊ । ती देशमा रहेका गैह्र आवासीय नेपाली लगायतका संस्थाहरुले केही गर्न खोजे जस्तो भान दिइरहेको भएपनि त्यसले यो अवस्थामा खासै उल्लेख्य योगदान पुर्याउन सक्ने देखिदैन र त्यसको पछाडी सरकार लाग्नु हुदैन । सरकारले कोरोना कति छिटो सकिएला भनेर कामना गरेर नबसी जतिसक्दो चाँडो आफ्नो मार्गचित्र प्रष्ट्याउनु पर्दछ । यसले विदेशमा निराश बनेर दिन काटिरहेका कर्मवीर नेपालीलाई एउटा आशा दिनसक्छ ।

कोरोनाले फैलाएको त्रासका कारण देशभित्र बन्धक समय बिताइरहेका नेपालीलाईसमेत विदेशबाट आउने र आउन चाहने आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरुलाई देशभित्र प्रवेश दिन हुने वा नहुनेबारे बढो अन्यौल देखिन्छ । त्यसो त सरकार पनि कहा दुविधारहित छ र ? यसमा वादविवाद गर्नसकिएला, तर यो त्यो गर्ने बेला नभई देश विहिन, अभिभावक विहिन महशुस गरिरहेकालाई त्यसको प्रतित दिलाऊनु नै पहिलो कर्तव्य हो । यो कर्तव्य देशको, सरकारको र समग्र नेपालीको हो । एक पटक ती दु:खी आत्माहरुको ठाँऊमा आफूलाई राखी हेरौ त ! जसका आफन्त त्यो अवस्थामा छन् तिनलाई सोधि हेरौं त ! हो, पक्कै पनि यो हतारमा निर्णय गरी फुर्सदमा पछूताउने कार्य भने होइन । तर, यसबाट पन्छिने छुट, न त देशलाई छ न त सरकारलाई नै । यसको लागि आवश्यक तयारीहरु गरेर योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्दछ । तत्काललाई कमसेकम सीमामा आई याचना गर्नेहरुको त आवाज सुनौं । के तिनीहरुले व्यहोरिरहेको अवस्थाका रंगीन तस्विरहरु हेरर हामी बसिरहन सक्छौं ? बरु के कस्तो तयारी चाहिने हो, पुरा गरौं। ऊनीहरुलाई देशले गर्ने व्यवहारले अन्य देशमा रहेका नेपालीलाई समेत प्रत्यक्ष असर पर्न जान्छ ।

कोरोनाले विश्नलाई नै एकैचोटी दपेटेको अवस्था भएको हुदाँ अन्य कसैको भरमा पर्ने सोच्नु पनि भूल हुनसक्छ । यो २०७२ सालको भूकम्पको जस्तो समस्या होइन । त्यतिबेला त समस्या नेपालमा मात्र थियो र सारा विश्वले सहानुभूति देखाए र सहयोग गरे । अहिले त विश्वको महाशक्ति अमेरिका समेत लडबडाएको छ । उसले आफैलाई सम्हाल्न नसकिरहेको अवस्था छ र अन्यको पनि त्यस्तै । त्यसैले, हाम्रो कुटनैतिक पहलले पनि खासै ठूलो भूमिका खेल्न सक्ने संभावना कम छ । यसमा देश र सरकारले नै अधिक्तम पहलता लिनुपर्ने हुन्छ । द्वन्द्धकालले खेदाएकाहरुलाई संक्रमण-कालमा उपेक्षित महशुस हुन दिनुहुदैन । देश र हामीले गर्नुपर्ने कार्य गर्न चुकेको अवस्थामा पनि, बाच्न सफलहरु जसोतसो कसै गरी कुनै दिन त घर पक्कै फर्केलान, त्यति बेला के हामी ऊनीहरुका आँखामा आँखा जुधाएर जवाफ दिन सकौंला । के जवाफ देला जनताको सेवा गर्ने कसम खाएको सरकारले ? के भन्लान ती धोका पाएका मनले ? यसका अलवा कोरोना संक्रमणको अवस्थालाई दुईवटा दृष्टिकोणबाट हेर्नुपर्ने जरुरत समेत छ । पहिलो, कोरोनाको बढ्दो गति र लम्बिदै जानसक्ने अवस्थाबाट परिआउनसक्ने विकराल समस्या । आन्तरिक परिस्थिति त छदैछ, त्यसमाथि बाहिर रहेका नेपालहरुको अवस्था के हुने हो र तिनलाई के उपायले सम्बोधन गर्न सकिन्छ । दोस्रो, कोरोनाको प्रकोप कम हुने लक्षण आएमा विश्व अर्थतन्त्रमा देखिने मन्दीबाट उत्पन्न रोजगारीको समस्या तथा कोरोनाको अवस्थाबाट मानसिक रुपमा विक्षिप्त भई बसेका मनहरुको देश फिर्ताको संभावना र हरेक क्षेत्रमा निम्तिन सक्ने समस्या ।

माथिका हरफ लेखिरहदाँ सरकारले केहि नै गरेन, कुटनैतिक प्रयास नै भएन भन्न खोजेको नभई, जति भैरहको छ त्यो प्रयाप्त छैन, व्याप्त र संभावित समस्यालाई सामाधान गर्न वृहत योजना र कार्यान्वयनको भने टड्कारो आवश्कता भइसकेको छ र विलम्व नहोस भन्ने चाहनाका साथै परिआउँदा देश त हुदोँरहेछ, सरकार हुदोँरहेछ, तथा मातृभूमी र नेपाली दाजुभाइ-दिदीबहिनी भन्दा नजिक कोही नहुदोरहेछ भन्ने भरोषा विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई दिलाउन सोहि अनुरुप काम पनि गरियोस भन्ने हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.