हतारले गणतन्त्र

रिपोर्ट नेपाल | 2019 Nov 16 | 07:40 am 2836

२००७ साल फागुन ७ गते राजाबाट राणाशाहीको अन्त्य र प्रजातन्त्र स्थापना भएको घोषणा हुनुपर्ने । त्यसका लागि अंग्रेजी मस्यौदामा दिल्लीमै तयार गरिएको थियो । नेपालीमा उल्था गर्नुपर्ने थियो । बीपीले भनेका छन्, डेमोक्रेसीको अनुवाद गर्दै कसैले के भन्यो, कसैले के भन्यो । मैले लोकतन्त्र भन्न खोजेको थिएँ । लोक मैले बिर्से, गणतन्त्र भने । सबैले ठीक छ ठीक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुन गयो । त्यो गणतन्त्र भनेको रिपब्लिक होइन । त्यहाँ एउटा कुरा फेरि भनिएको छ– जब यी भनाइ बाझिए भने अंग्रेजी भनाइ कायम रहनेछ । भनेर पास भएको छ । नेपालको इतिहासमा पहिलो पटक सत्ता हस्तान्तरणका लागि समारोह हुँदै थियो ।

राणा र कांग्रेसका तर्फबाट पाँचपाँच दस्यलाई समावेश गरी मन्त्रीमण्डल गठन हुँदै थियो । त्यसअघि प्रधानमन्त्रीहरु अकालमा मारिकएका वा धपाइएका थिए । तर राणाशाहीको पतनपछि पनि सहमतिबमोजिम मोहन शमशेर प्रधानमन्त्री भए । कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री बीपी दोस्रो वरीयतामा रहने तय भयो । तर रक्षामन्त्री बबर शमशेर बीपीभन्दा तल्लो वरीयतामा बस्न तयार भएनन् । रैतीको छोराभन्दा तल बस्नुलाई उनी आफ्नो मानमर्दन ठान्थे । भइसकेको सम्झौता उल्टाई आफूलाई बीपीभन्दा माथिल्लो वरीयतामा उकाल्न उनी अन्तिम बल लगाइरहेका थिए । आफूलाई दास्रो स्थान छाडिदिन आग्रह गर्दै बबर भन्दै थिए, तपाईको बाबुको उमेर मान्छे, दुनिँयाका सामु म तपाईको तल कसरी बस्न सक्छु ? मेरो यति सम्मान जोगाइदिनुस् ।

बबरको आग्रहलाई इन्कार गर्दै भनिरहेका थिए, त्यसो गर्नु भनेको सम्झौता उलंघन हो । मले आफैं नेतृत्व गरेको प्यानेलको तोजोबध हुने काम गर्न हुन्न, त्यो म कुनै हालतमा गर्दिनँ । राणाशासनको धङधङी छँदै थियो । सेनाको मार्चा जारी रहँदा बीपीलाई सम्झाउन बबरले अनेकौं प्रयास गरे । बीपीको हात समातेर उनले भने, हेर्नुस् विश्वेश्वरबाबु म केबल इज्जतको निम्ति गरिरहेको छु । एक चोटी मात्रै क्याबिनेटमा उपस्थित हुन्छु र त्यसपछि म गएको गयै हुन्छु । म बम्बै जान्छु । त्यसपछि तपाई नै हुनुहुन्छ । त्यति मलाई गरिदिनुस् । सम्झौताबाट बाँधिएकाले मात्र मन्त्री पद स्वीकार गरेको भन्दै आफ्नो इज्जतका लागि कुरा सुनिदिन बीपीसँग उनी आग्रह गरीरहेका थिए । अन्त्यमा बबरलाई वरीयता दिन बीपी तयार भए । त्यतिन्जेल मोहन आइपुगेका थिएनन् । उनको प्रतीक्षा भइरहेको थियो । मुलुकको इतिहासमा पहिलो पटक भव्य समारोहबीच सत्ता हस्तान्तरण हुँदै थियो ।

क्षणभरमै हातहतियारले सुसज्जित बिजुली गारतको कडा सुरक्षाबीच प्रधानमन्त्री नारायणहिटी दरबार आइपुगे । उनलाई देख्नासाथ राजा त्रिभुवन सशंकित भए । मोहनले षडयन्त्र त गरेनन् भन्ने आशंका थियो उनलाई । श्री ३ को व्यक्तिगत सुरक्षाका लागि बनाइएको बिजुली गारत, अहोरात्र प्रधानमन्त्रीको सुरक्षा दिने फौज थियो । शंका लागेमा जोसुकैको खानतलासी लिने अधिकार त्यसलाई थियो । उसको काममा बाधा गर्नेलाई तत्काल हत्या गर्नेसम्मको अधिकार दिइएको थियो । त्यसैले विजुली गारतदेखि नडराउने कोही हुँदैनथ्यो । मोहन मोटरबाट ओर्लिएर समारोहस्थल जाँदासम्म बिजुली गारतले पूरै दरबार घेरिसकेको थियो । त्यो वातावरणका कारण राजा त्रिभुवन छटपटाएर चारैतिर पल्याकपुलुक नजर लगाउँदै थिए । विजुली गारतलाई बाजपल्टन पनि भन्थे । यो पल्टन भीमसेन थापाले आफ्नो सुरक्षाका लागि माथवरसिंह थापाको नेतृत्वमा गठन गरेका थिए । पछि राणा प्राइमिनिस्टरको पनि यसैले सुरक्षा गथ्र्यो । त्यही पल्टनका आडमा कैयौं भारदारहरुको हत्या गरी जंगबहादुरले सत्ता हत्याएका थिए ।

त्यसैले पनि विजुली गारतको उपस्थिती राजालाई कुनै भयंकर षडयन्त्रको प्रतीक लागिरहेको थियो । जंगबहादुरसँगै आएको पल्टनले कोतपर्व मच्चाएको थियो । त्यसपछिका प्रधानमन्त्री रणोद्दीपको हत्या गरी उनकै भतिजा वीर शमशेरले सत्ता हत्याएका थिए । अन्तरिम सरकारको शपथका लागि तय गरिएको मञ्चपरिसरमै रणेद्दीपको हत्या भएको थियो । विजुली गारतलाई हात लिएर चन्द्र शमशेरले दाजु पद्यम शमशेरलाई देश निकाला गरेका थिए । जुद्ध शमशेरले पनि यसैको बलले रुद्र शमशेर र उनका सन्तानलाई काठमाडौंबाट धपाएका थिए ।

राजको मुहार अचानक बदलाव देखर भारतीय राजदूत सीपीएन सिन्हासमेत गम्भीर भए । राजाको स्वास्थ्य अचानक बिग्रिएको त होइन ? उनलाई आशंका भयो । तर जब राजाले सिन्हाको कानमा प्रधानमन्त्रीको सुरक्षा दस्ताबारे जिज्ञासा राखे, तब मात्र राजाले सिन्हाको घडबडाहटको रहस्य पत्ता लाग्यो । राजदूतले भने, त्यो प्रधानमन्त्रीको सुरक्षा दस्ता हो । उनको सानसौकतका लागि ल्याएका हुन् । श्री ३ महाराजको हैसियतमा उनको यो अन्तिम सवारी हो, सरकारबाट चिन्ता मान्नुपर्दैन । त्यसपछि राजा शान्त भए ।

राजज्योतिषले तय गरेको साइतमा सपथको औपचारिक समारोह प्रारम्भ भयो । पुरानो प्रथा तोडिएको मुलुक नयाँ युगमा प्रवेश गर्दै थियो । राजालाई सलामी दिएपछि प्रधानमन्त्रीलाई दिइयो । श्री ३ का रुपमा मोहनको त्यो अन्तिम सलामी थियो । प्रधानमन्त्रीको सलामी राजा उठ्नुपर्ने थिएन । तर सलामी बज्नेबित्तिकै उनी उठे । त्यही समारोहमा राजा त्रिभुवनले आफ्ना जिजुबुबा श्री ५ सुरेन्द्रका तर्फबाट मुलुकको शासनभार श्री ३ जंगबहादुर राणाको परिवारलाई दिएको अधिकार फिर्ता लिएको घोषणा गरे । अनि अब उप्रान्त जनताले निर्वाचित गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानअनुसार मुलुकको शासन सञ्चालन हुने पनि घोषणा गरे ।

राजाको घोषणापत्रमा लालमोहर लगाउने प्रक्रिया पूरा गरियो । अनि उनले प्रधानमन्त्री मोहनलाई शपथ गराए । प्रधानमन्त्री पदको शपथ लिने उनी मुलुककौ पहिलो प्रधानमन्त्री बने । संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्रध्यक्षले प्रधानमन्त्री र प्रधानमन्त्रीले मन्त्रीहरुलाई शपथ गराउने चलन छ । त। जसका विरुद्ध क्रान्ति गरेको हो, उसैका हातबाट कांग्रेसका मन्त्रीहरुले शपथ लिन नपरोस भनेर राजाबाट अलग शपथ लिने व्यवस्था पहिल्यै मिलाइएको थियो । त्यस अघि सधैं कुर्तासुरुवालमा र सेरवानी लगाउने बीपी गृहमन्त्रीको शपथ लिँदा पहिलो पटक दौरासुरुवालमा सजिएका थिए । आफ्नो नाम बोलाइएपछि दुई हात जोडेर टाउको निहुराउँदै उनले राजालाई नमस्कार गरे अनि शपथ लिए ।

अब पालो आयो, दरबारको तौरतरिका बुझेका सुवर्णको । उनले आधा शरीर नै झुकाएर राजाको दर्शन गरे । बीपीले राजासामु टाउको झुकाएको समेत मन नपराएका गणेशमानलाई सुवर्णले आधा शरीर झुकाएको देख्दा त झन् कांग्रेसको इज्जत नै गयो भन्ने पर्यो । त्यसैले आफ्नो पालामा उनी शिर र शरीर झुकिहाल्ला कि भनेर बढी नै सचेत थिए । राजासामु टाउको निहुराउँदा कांग्रेस र क्रान्तिको शिर झुक्छ भन्ने बुझाई उनको थियो । गणेशमानले ठाडै दुई हात जोडेर नमस्कार गरे र सपथ लिए ।

शपथ लिए पनि पदबहाली कहाँ गर्ने ? अफिस कहाँ हुने ? केही थाहा थिएन । नेपालमा पहिलो पटक मन्त्री बनेकाले मन्त्रालय कहाँ रहन्छ, कसैलाई थाहा थिएन । राणाको हुकुमी शासन रहँदासम्म दरबारबाटै शासन चलेको थियो । काठमाडौं पूरै खाली थियो, राणाका ठूला दरबार र तिनलाई घेरिएका भयानक पर्खाल मात्र देखिन्थे । प्रधानमन्त्री मोहन शमशेर त सिंहदरबारमा बस्ने भएकाले उनलाई आफ्नो मन्त्रालय व्यवस्थापनको समस्या थिएन । राणापक्षका सबै मन्त्रीको आफ्नै घर थियो । बीपी, भद्रकाली मिश्र र भरतमणि शर्माको काठमाडौंमा घर थिएन ।

आफ्नै बासको ठेगान नभएका मन्त्री कता मन्त्रालय राख्नु । कांग्रेसका मन्त्रीमा सुवर्ण र गणेशमानबाहेक कसैको घर थिएन । सुवर्णले आफ्नै भव्य दरबार ललिता निवासमा मन्त्रालय राखे । संयुक्त परिवारमा रहेका गणेशमानको घरमा कोठा अपुग थियो । मन्त्रालय घरमै राख्न सम्भव थिएन । त्यसमाथि पार्टीका साथीहरु पाहुना लागिरहन्थे त्यो बेला काठमाडौंमा होटल थिएनन् । मन्त्रीहरुले घरको छिँडीमा मन्त्रालय स्थापना गरे । गणेशमानले भनेका छन्, छिँडीमा आधुनिक नेपालको प्रजातान्त्रिक प्रशासन यन्त्रको जन्म भएको थियो । झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्ने र अचम्म मान्ने विषय मान्ने विषय हुनसक्छ । कर्मचारीले पनि गल्लीगल्लीमा मन्त्रीहरुका घर खोजेर अफिस धाउने गर्नुपरेको थियो । टेबलकुर्सीको अभावमा सचिवहरु चकटीमा आसन जमाएर निगालोको कलम मसीदानीमा चोप्दै नेपाली कागजमा टिप्पणीउठाउने गर्थे । (जगत नेपालद्वारा लिखित बीपीको विद्रोह)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.