चिट्ठीबाटै होटल बुकिङ

| 2019 Oct 30 | 08:53 am 2751

ताप्लेजुङ, कात्तिक १३: कञ्चनजंघा क्षेत्रको चेराममा रहेको होटल ब्लु शिपका सञ्चालक दावा छिरिङ भोटेलाई गत असोज २९ गते साँझ एक पर्यटन सहयोगी (भरिया)ले चिट्ठी दिए।

विज्ञान र प्रविधिको विकाससँगै चिट्ठीको चलन घट्दै गएको समयमा करिब तीन हजार ९ सय मिटर उचाइमा रहेको चेराममा भने चिट्ठीकै माध्यमबाट सूचना आदानप्रदान हुने गरेको छ।

चिट्ठीमा अक्टोबर १९ र २० का लागि चार वटा डबल रुम राखिदिन आग्रह गरिएको थियो। गाउँबाट होटलको रुम बुकिङका लागि चिट्ठी नै पठाउने गरेको होटल व्यावसायी भोटेले बताए । भौगोलिक रुपले निकै टाढा भएकाले टेलिफोनजस्ता सञ्चारका साधन चल्दैनन्, त्यसैले सूचना आदानप्रदानका लागि चिट्ठीकै भर पर्नु परेको छ।

होटल बुकिङदेखि होटलमा चाहिने सामान अर्डर साथै सञ्चो बिसञ्चो खबर सोध्नका लागि दैनिकजसो चिट्ठी आदानप्रदान हुने गरेको यालुङ्खाङ गेष्ट हाउसकी पासाङ डोमा शेर्पाले बताइन्। सिजनको समयमा प्रायः दैनिकजसो नै चिट्ठी आउने जाने गरेको छ,’ शेर्पाले सुनाइन्, घरवाट हिँडेपछि फोन लाग्दैन, फोनको काम चिट्ठीबाट नै गर्ने गरेका छौँ।

त्यो स्थानसम्म चिट्ठी भने स्थानीय भरियाहरुले ल्याउने लैजाने गरेका छन्। फोनको नेटवर्क नहुँदा पर्यटकहरुलाई असजिलो हुने गरेको होटल व्यावसायी पासाङ डोमाले बताइन्।

कुनै कुनै ट्रेकिङ ग्रुपले स्याटलाइट फोन ल्याउने गरेका छन्, तर त्यसबाट फोन गर्न धेरै नै महँगो हुन्छ। कञ्चनजंघाको दक्षिण आधार शिविर क्षेत्र तारोङ्दिन, चेराम र राम्जेर क्षेत्रमा जम्मा ६ वटा होटल रहेका छन्। सो क्षेत्रमा वर्षमा दुई सिजन मात्र होटल सञ्चालन हुँदै आएइ रहेको छ।

त्यस क्षेत्रमा याम्फुदिनवासीले होटल सञ्चालन गर्दै आएका छन्। याम्फुदिनको ह्लासे भन्ने स्थानसम्म मात्र नेपाल टेलिकमको मोबाइलबाट फोनले काम गर्छ।

असोज–कात्तिक र चैत–बैशाख कञ्चनजंघा घुम्न जाने मुख्य सिजन हो। यस क्षेत्रमा जाने पर्यटकको संख्या बर्सेनि बढ्दै गएको व्यवसायीहरु बताउँछन्। साहसिक पदयात्रा क्षेत्र मानिएको कञ्चनजंघामा सञ्चारको पहुँच पुग्न सके अझै पर्यटक भित्रिने पर्यटन व्यावसायीहरु बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.