त्यति बेला कवि गोपालप्रसाद रिमालको कविता निकै चर्चामा थियो–
एक युगमा एक दिन, एक चोटी आउँछ
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ ।
लाटा सुधा बोल्न थाल्छन्
चल्छ ओठ दुःखको ।
एक सय चार वर्षसम्म चलेको राणाशाही अन्त्य भएसँगै २००७ साल फागुन ३ गते मुक्तिसेनाका अधिकृतहरु विमानबाट काठमाडौं उत्रिए । त्यही दि बीपी, मातृका र सवर्णका साथै पूर्णसिंह ठाकुर, जीबी याक्थुम्बालगायत मुक्तिसेनका कमाण्डर सवार अरु दुई जहाज पनि हवाई मैदानमा ओर्लिए । नेपाली कांग्रेसका नेताहरु हवाइजहाजबाट गौचर विमानघाटमा ओर्लिंदा उनीहरुको भब्य स्वागत भयो । वीर विश्वेश्वर जिन्दावादको नाराले आकाश गुन्जियो ।
क्रान्तिका नायक थिए, ३५–३६ वर्षका बीपी । उनी अलि चञ्चल पनि थिए । क्रान्तिको स्वभाव पनि चञ्चल हुन्छ । ब्रिटिस अर्काइभहरुमा यो मान्छे यति चञ्चल र तीक्ष्ण बुद्धिको छ, यो राजनीतिमा बस्यो भने खलबल गर्छ, यसलाई पढ्नलाई छात्रावृत्तीमा बोलाऊ भन्ने किसिमका नोट त्यस बेलाको बेलायती दूतावासले लेखेको पाइएको छ ।
बीपी आएको भोलिपल्ट फगुन ४ गते राजा स्वदेश फर्किंदै थिए । त्यति बेला त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दै गरेका इन्जिनियर शंकरनाथ रिमालले भनेका छन्, डकोटा जहाजबाट त्रिभुवन ओर्लिएपछि मोहन शमशेरले पहिला स्वागत गरे । हामी विद्यार्थीलाई पहिलो लहरमा राखिएको थियो । हामीले नारा लगायौं–त्रिभुवन जिन्दावाद, मोहन शमशेर मुर्दावाद । देशद्रोहीको आरोपमा निष्कासित त्रिभुवन पुनः राजाका रुपमा स्थापित भए । विश्व इतिहासमा यस्तो घटना दुर्लभै पाइन्छ ।
२००७ साल फागुन ६ गते शनिबारका दिन श्री ३ महाराज मोहनले तत्कालीन राजा सुरेन्द्रबाट आफ्ना पुर्खा जंगबहादुर राणालाई शासनसत्ता सञ्चालन गर्न दिइएको राजकीय अधिकार (पन्जापत्र) राजा त्रिभुवनलाई नारायणहिटी दरबारमै गएर फिर्ता गरे । राजाको नाममा राणाले शासन गरेको एक सय चार वर्ष पूरा भएको थियो । निर्णय राणा प्रधानमन्त्री गर्थे ।
राजाको लालमोहर लगाएपछि मात्र त्यो सदर हुन्थ्यो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले सिंहदरबारमा रहेको लालपेटी (बाकसभित्र पन्जापत्र र लालमोहर थियो) को साँचो र तीन चाँद नाराणहिटीमा बुझाएपछि विधिव् रुपमा राणाको अधिकार कटौती भयो । राणा प्रधानमन्त्रीहरुको निवास सिंहदरबार नेपाल सरकारको सचिवालयका रुपमा रहेने घोषणा गरियो । जगत नेपालद्वारा लिखित बीपीको विद्रोहबाट