काठमाडौंमा खुकुरी दलको आतंक

| 2019 Sep 28 | 08:08 am 9468

सशस्त्र क्रान्ति उत्कर्षमा पुगेपछि राणाहरुलाई आफ्नो हुकुमी शासन समाप्त हुने डर थियो । श्री ३ मोहन र उनीपछि प्रधानमन्त्रीको रोलमा रहेका बबर शमशेर परिवर्तन रोक्न सबै भन्दा बढी सक्रिय थिए । सशस्त्र आन्दोलन चलाएको कांग्रेसले देशको दुई तिहाई भू–भाग कब्जा गरिसकेपछि काठमाडौंका बासिन्दाले पनि बिद्रोह गर्लान् भनेर अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरद्वारा उक्साइएका व्यक्तिहरुले रातारात खुकुरी दल गठन गरेका हुन् ।

राजा, राणा र कांग्रेसबीच दिल्ली सम्झौता भइरहेका बेला यता काठमाडौंमा मोहन शमशेर, बबर शमशेरहरुको संरक्षणमा गोर्खादल स्थापना भयो । बीपीको भनाइमा, मोहन शमशेरकै आर्शीवादले बबरमहलबाट गोर्खादलका गतिविधि सञ्चालन भइरहेका थिए । नेवार काट्ने, बाहुन मास्ने नाराका साथ सहरमा खुकुरी प्रदर्शन गर्दै आतंक मच्चाउने अभियान चलाइएको थियो ।

खुकुरी दलको मुख्य उद्देश्य प्रतिक्रान्तिमार्फत आफ्नो अधिकार पुनः स्थापित गर्ने रहेको थियो । २००७ साल चैत २९ गते विधिवत् गठन भएको गोर्खादलले सबैभन्दा बढी नेपाली कांग्रेस र त्यसका नेता बीपी कोइरालालाई निसान बनाएको थियो । महामन्त्री भरत शमशेर त सहरबजार घुमीघुमी कोइरालाहरुको विरोध गर्दै हिड्थे । उनी भन्ने गर्थे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपाल खानलाई कांग्रेस पठाएको हो । कोइराला यसको नाइने हो । कोइरालाहरुले हाम्रो सनातन धर्म मास्छन्, बाहुन र सार्कीको बिहे गराइदिन्छन् । देवदेवालय सबै तोडिदिन्छन् ।

बबर शमशेर भन्ने गर्थे, हामीले तरबारको बलले लिएको यो राज्य तरबारकै बलले अर्को ५० वर्ष चलाउनेछौं । आफ्नो पालो आउनै लाग्दा प्रजातन्त्र बहाली हुने पीडाले छटपटाएका उनी हरेक उपाय लगाउँदै परिवर्तन रोक्न सक्रिय थिए । गोर्खादल खोले पनि त्यसलाई राजनीतिक दलको स्वरुप दिन नसकिएको अवस्थामा प्रधानमन्त्री मोहन शमशेरले ऋषिकेश शाहलाई छलफलका लागि बोलाए । त्यो भेटबारे शाहले भनेका छन्, पार्टी खोल्न मलाई समेत मोहन शमशेर पैसा दिन आएका थिए । तर मैल पूर्ण रुपमा अस्वीकार गरें । तयसपछि उनले दार्जिलिङमा गोर्खालीसँग सहयोगका लागि अनुरोध गरे । शाहले आफ्नो कुरामा चासो नदिएपछि राजा त्रिभुवन दिल्लीमै रहँदा मोहन शमशेरले ललितजंग सिजापतिलाई बोलाई गोर्खादल स्थापना गर्न लगाएका हुन् ।

आम जनतालाई तर्साउने, भड्काउने र आतंकित बनाउने उद्देश्यका साथ राणाका आठपहरिया, बैठके, ढोके, छातेहरुले दिनहुँ हातमा नाङ्गो खुकुरी बोकेर जुलुस निकाल्न थालेका थिए । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्, प्रजातन्त्र स्थापना भएर संयुक्त सरकार बनिसकेपछि पनि राणाका रिसल्ला गुरिल्ला जस्तै सहरगाउँहुँदीउत्पात मच्चाउने, खुकुरी नचाउँदै तर्साउने, मन्दिरका गजुर चोर्ने, लुटपाट गर्ने काममा सक्रिय थिए ।

कांग्रेसलाई तथानाम गाली गर्दै दिनहुँजसो गोर्खादल कार्यकर्ताले सहर परिक्रमा गर्ने अभियान चलाएका थिए ।
नाङ्गा खुकुरी लिएर सहर घुम्ने भएकाले जनताले खुकुरी दलका रुपमा त्यसलाई चिन्न थाले । त्यस्तो जुलुस देख्नेबित्तिकै वलवल अर्थात आयो आयो भन्दै मानिसको भागाभाग हुन्थ्यो । तिनको आक्रमणबाट कति रगताम्मे भए कति छ्याकछ्याक काटिए । दिल्ली सम्झौता भएर राजा स्वदेश फर्किने निश्चित भइसक्दा यता काठमाडौंमा खुकुरी दलको आतंक उत्कर्षमा थियो । आत्मरक्षाका लागि टोलटोलमा रक्षा संघ बनाइएको थियो । जनता आफैं रातभर गस्ती गर्दै हिँड्थे ।

सेना र प्रहरी राणाहरुकै मातहत भएकाले दिल्लीमा शरण लिन पुगेका राजा त्रिभुवनसमेत स्वदेश फर्किने बेलामा सुरक्षाका दुष्टिले आश्वस्त हुन सकिरहेका थिएनन् । चारभञ्ज्याङभित्रलाई मात्र नेपाल गन्ने र चौबीस पल्टनलाई राणाको अङ्गरक्षक ठान्ने समयमा राजा सशंकित हुनु स्वभाविक थिएन । त्यसमा खुकुरी दलको आतंक त छँदै थियो ।

दिल्लीमा त्यस विषयमा छलफल भएपछि राजाको सुरक्षाका लागि भारतबाट सादा पोसाकमा विशेष सुरक्षा दस्ता परिचालन गरियो । जगत नेपालद्वारा लिखित बीपीको विद्रोह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.