निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई हुनुपर्ने माग

रिपोर्ट नेपाल | 2018 Jun 22 | 08:26 am 3154

निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ । विराटनगरमा आयोजित प्रदेश नं १ को निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले आगामी वर्षमा हुने निर्वाचनलाई स्वतन्त्र, मितव्ययी, निष्पक्ष, भयरहित, स्वतन्त्र एवं पारदर्शी बनाउन सहभागीको अमूल्य सुझावले आयोगको काममा बल पुग्ने विश्वास व्यक्त गर्दै सो अभिव्यक्ति दिएका हुन् ।

निर्वाचनको पूर्वतयारी, निर्वाचन मिति, निर्वाचनसम्बन्धी कानूनी व्यवस्था र कानुनको तर्जुमा, मतदाता नामावली र मतदाता परिचयपत्र, राजनीतिक दल दर्ता, मतदान केन्द्रको पुनरवलोकन, निर्वाचन कार्यक्रम सञ्चालन, निर्वाचन प्रचारप्रसार, आचारसंहिता अनुगमन, जनशक्ति व्यवस्थापन, मतपत्र व्यवस्थापन, निर्वाचन सामग्रीजस्ता निर्वाचनमा आवश्यक पर्ने पृष्ठभूमिमा रहेर कार्यक्रमका सहभागीले आ–आफ्ना लिखित सुझाव दिए ।

सो अवसरमा प्रमुख निर्वाचन अधिकृत झापाका जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललगायत सबै अधिकृत र अधिकारीलाई प्रशंसापत्र वितरण गरिएको थियो । दुईदिने सो कार्यक्रममा प्रदेश नं १ का प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश, जिल्ला निर्वाचन अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन पर्यवेक्षण संस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.