विदेशमा बसेर स्वदेशी सुरक्षाकर्मीबारे टिप्पणी गर्नेलाई कारवाही हुनुपर्छ

रिपोर्ट नेपाल | 2019 Sep 15 | 04:20 pm 3111

  • महेन्द्र पाण्डेय

दिनेश अधिकारी ‘ चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ एक वर्षको अवधिमा लगालग प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि गुन्डागर्दीको संसारमा रमाउनेहरू धेरै जसो विदेश गएर आफ्नो धन्दालाई निरन्तरता दिन थालेको प्रहरी  अनुसन्धानबाट पुष्टि भएको छ ।  उदाहरणका लागि   केही महीना अघि महानगरीय प्रहरी अपराध महाशाखामा एउटा फोटो आयो । कुनै व्यापारीझैँ लाग्ने यी व्याक्ति अरू कोही नभएर प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका दावा लामा थिए । उनी झन्डै एक वर्षदेखि श्रीलंकामै बस्थे । २०७० मा काभ्रेको धुलिखेलबाट २५ किलो सुन लुटपाट भएको घटनाका फरार उनी श्रीलंकामै क्यासिनोमा टेबुल सञ्चालन गर्ने प्रक्रियामा  थिए ।  उनी मात्रै होइन उनको समुहले नै त्यहाँ आश्रय लिएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो ।

त्यसो त पर्यटक भिसामा नेपाल प्रवेश गरेका विदेशी नागरिकले लामो समय नेपालमै बसेर अवैध धन्दा गर्दै आउनेहरुको कमी पनि नेपालमा छैन ।  कमजोर राज्य संयन्त्रले गर्दा नेपाल विदेशीका लागि अवैध क्रियाकलाप गर्ने थलो बन्ने गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । ९५ प्रतिशतभन्दा बढी विदेशी नागरिक पर्यटक भिसामै नेपाल प्रवेश गर्ने अध्यागमन विभागको निश्कर्ष छ ।

यसरी भिसा पाएका विदेशी नागरिकले गलत गतिविधि गर्ने र भिसा समय सकिए पनि नेपालमै गैरकानुनी बसेर अवैध गतिविधि गर्ने गरेको पाइएको छ । अध्यागमन विभागले आर्थिक वर्ष २०७५–०७६ मा ५ सय ४० जना विदेशी नागरिकलाई पक्राउ गरी कारबाही चलाएको  थियो ।  यि तथ्यांकले पनि  अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउन नेपाल प्रहरीलाई सजिलो छैन भन्ने देखाउँछ ।

केही दशक अघिसम्म  एउटा प्रहरी गाउँ छिरेर १५–२० जना  शंकास्पद अपराधीहरुलाई पक्राउ गरी दुई–तीन दिनको बाटो हिँडाएर जिल्ला सदरमुकामसम्म ल्याउन सक्थ्यो ।  जिल्ला सदरमुकाम बाहेक थोरै ठाउँमा मात्रै प्रहरी चौकी हुन्थे ।  ती चौकीमा १ जना हवल्दार र २ जना सिपाही वस्थे ।  तर शान्ति सुरक्षाको अवस्था चुस्त थियो । प्रहरीको डरले अपराध गर्न मान्छे डराउँथे, कहीँ अपराध भइहाल्यो भने पनि प्रहरीले सजिलै पक्राउ गरेर कानूनी कारवाहीको दायरामा ल्याउँथ्यो ।

त्यतिबेला सिंगो जिल्लाको नेतृत्व इन्स्पेक्टरको कमाण्डमा १०–१२ जना  जनशक्ति मार्फत हुन्थ्यो ।  जिल्ला प्रहरी कार्यालयमा समेत सवारी साधन हुँदैनथ्यो । तर यतिबेला लगभग मुलुकका सबै वडामा  इन्सपेक्टरको नेतृत्वका इलाका प्रहरी कार्यालय र प्रभाग छन् । गाडीको सुविधा छ । जिल्लामा डिएसपी तथा एसपीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी शक्ति तैनाथ छ ।

अपराध नियन्त्रणका धेरै प्रविधि आएका छन् । अपराधी पहिचानका नयाँ नयाँ प्रविधि पनि आएका छन् ,  तर अपराधको दर वृद्धि भइरहेको छ । अपराधीलाई  पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । एक जना  शंकाष्पद अपराधी पक्राउ गर्न भ्यान सहित  दुई दर्जन प्रहरी परिचालन हुनु पर्ने अवस्था बनेको छ ।

आखिर यस्तो किन भइरहेको छ ?  समस्याको कारण पत्ता नलगाई समाधान संभव छैन ।  पहिले अपराधी भाग्न सजिलो थिएन । भाग्ने भनेको भारतमा हो । सीमा क्षेत्रमा कडाइ गरिदिए पुग्थ्यो । भारत छिरी हाल्यो भने पनि  उतै गएर  पक्राउ गर्न सकिने अवस्था थियो । भारत बाहेक अरु मुलुकमा भाग्न संभव थिएन ।  निश्चित व्याक्ति बाहेक अरुले पासपोर्ट पाउँदैनथे । तर अहिले संसार गाउँ जस्तो बन्यो । धेरै देशमा नेपालीहरु सहजै जान सक्ने भए । संचारको पहुँचका कारण विदेशमै बसेर स्वदेशमा अपराधा कर्म गर्न सकिने अवस्था बन्यो ।

नेपाली नागरिकता त्यागेर विदेशमा गएर बस्ने र त्यहीँबाट संचार प्रविधि प्रयोग गरी अपराधा गर्न सक्ने अवस्था बन्यो । विज्ञान प्रविधिले अपराध अनुसन्धान तथा नियन्त्रणका लागि जे जति उपाय आवस्किार गरेको छ त्यसरी नै अपराधीहरुले पनि अपराध कर्मका विविधि उपाय अवलम्वन गर्न थालेका छन् ।

उदाहरणका लागि केही दिन अघि  चिनियाँ पर्यटकहरुले नक्कली एटिएम कार्ड बनाएर  विभिन्न बैंकको रकम लुटे । बैंकका कर्मचारीले समयमै संकेत पाए पछि प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल अपराधी पक्राउ गर्यो । यदी उनीहरु भोली पल्ट चीन गइसके पछि मात्रै बैंकका कर्मचारीले यो जानकारी पाएको भए  अपराधी पत्ता लगाउन तथा पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे पर्ने थियो ।  पहिलो कुरा त नेपाल प्रहरी चीन नै कसरी जानु , दोस्रो कुरा डेढ अर्ब जनसंख्या भएको चीनमा गएर कसरी अपराधी पहिचान गरी पक्राउ गर्नु ?

४० वर्ष अघिसम्म नेपालको जनसंख्या जम्मा डेढ करोड थियो ।  यतिबेला ३ करोड नाघेको छ । पुग नपुग १ करोड त विदेशमै छन् ।  प्रहरी संगठनको जनशक्ति अहोरात्र खटियो भने स्वदेशमा रहेका २ करोड नेपालीको  गतिविधिका बारेमा सूचना लिन सक्ला तर विदेशमा रहेका नेपालीहरुको गतिविधिका बारेमा सूचना लिन सक्ने अवस्था छैन ।

जनसंख्याको अनुपातमा प्रहरीको संख्या जति हुनु पर्ने हो नेपालमा  त्यति नभएको तथ्य पनि उजागर भइसकेको छ ।  जेलभित्र रहेको अपराधीले समेत सूचना प्रविधिको दुरुपयोग गरी आफ्नो सन्जाल मार्फत अपराध कर्म  जारी राख्ने गरेको समाचार आएका छन् ।  नेपाली नागरिकता त्यागेर विदेशमा बसेका अपराधीहरुले झन सजिलै आफ्नो सन्जाल मार्फत अपराध कर्म  गरिरहेका हुनसक्छन् ।

नेपालमा  अपराध गरी  फरार भएर विदेश जानेहरुको सूचि धेरै नै लामो छ । उनीहरु पक्राउ पर्नुको सट्टा विदेशमै बसेर आफ्नो धन्दालाई सुचना प्रविधि मार्फत निरन्तरता दिइरहेका समाचार पनि आउने गरेका छन् । खास गरी यतिबेला बैदेशिक रोजगारीका नाममा ठगी गर्ने अपराधीहरुले विदेशमै बसेर आफ्नो धन्दा मज्जाले चलाई रहेका छन् । उनहिरुलाई प्रहरीले नियन्त्रण गर्ने होइन कि प्रहरीलाई नै उनीहरुले नियन्त्रण गरिरहेका छन् ।

उदाहरणका लागि ३ वर्ष अघि नेपाल प्रहरीका एक डिआइजीले  दुवईबाट आएको ३८ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद गरी केही भरियाहरुलाई पक्राउ गरे ।  आइजीपी पदको फूली लगाउने तयारी अवस्थामा रहेका उनलाई तत्काल    दुवईबाट कुनै नेपालीले नै फोन गर्दै भन्यो–‘ यदी तपाँइ आइजीपी बन्न चाहनुहुन्छ भने तत्काल उक्त सुन  फिर्ता गरी त्यसको सट्टा पित्तल  बरामद भएको मुचुल्का बनाउनु , होइन भने  तपाँइको दशा सुरु भयो ।’ उनले अपराधीको यो प्रस्तावलाई अस्वीकार गरे ।  नभन्दै पहिलो मर्यादाक्रमका उनलाई हटाएर चौथो मर्यादाक्रमको अर्कै डिआइजीलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइजीपी नियुक्त गरे । विदेशमा बस्ने अपराधीको पहुँच कति सम्म भइसकेको रहेछ ? भन्ने कुरा यो घटनाले पुष्टि गर्छ ।

कति सम्म अप्ठेरो अवस्था सिर्जना भएको छ भने कुनै पनि नेपाली विदेश गए पछि आँफू बसेको देशको सम्पूर्ण नियम कानून तथा नीतिहरु पालना गर्छ । यति सम्मकी सडकमा थुक्नु अघि समेत तीन–चार पटक सोच्छ । त्यो देशमा ज्यादै अनुशासित नागरिक भएर बसको हुन्छ , तर आफ्नो देश माथि भने सामाजिक सन्जाल मार्फत तथानाम गाली गर्छ ।

विदेशमा बसोबार गर्ने मध्ये करिव एक तिहाई नेपालीहरुको सामाजिक सन्जाल हेर्ने हो भने आफ्नै देशका नेता, प्रहरी प्रशासकहरु माथि तथानाम गाली गलौजले भरिएको हुन्छ ।  जसले नेपालबाट अबैध रुपमा  सम्पत्ति विदेश लगिरेहको हुन्छ, उसैले नेपालमा अपराध नियन्त्रण भएन, यस्तो मुलुकमा कसरी बस्नु भन्दै  समाजिक सन्जाल तथा विभिन्न अनलाइन दुरुपयोग गरिरहेको देखिन्छ । विदेशमा बसेर देशको सुरक्षार्थ अहोरात्र खट्ने प्रहरीलाई तथानाम लेख्नेहरुको रेकर्ड प्रहरीले राख्न जरुरी भएको छ ।

प्रहरीको आत्मवल  गिराउने र उसको उच्च छविलाई होच्याउने  खालका टिका टिप्पणी आए भने त्यस्तालाई कारवाहीको दायरामा ल्याउनु पर्छ । उसले लेखेका हरेक कुरालाई कम्प्युटरराइज गरेर कुनै दिन प्रहरीबाट चालचलन (प्रहरी) रिपोर्ट लिन आउँदा कम्प्युटरमा भएको कुरा उल्लेख गरेर दिइयो भने विदेशमा बसेर स्वदेशी सुरक्षाकर्मीका विषयमा लेख्न बन्द हुन्छ भन्ने यो पंतिकारको ठम्याई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.