मालपोतका कर्मचारीका नाममा सार्वजनिक जग्गा, विशेष अदालतमा मुद्दा

| 2018 Jun 21 | 09:36 am 3910

धादिङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यालयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सीसमेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो। मुद्दा दायर भएकामा मालपोत, वन र नापी कार्यालयका खरिदार, नायब सुब्बा, शाखा अधिकृत र उपसचिवसमेत छन्।

उनीहरूविरुद्ध ६५ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। जिल्ला वन अधिकृत इमानाथ पौडेलले राजमार्ग वरपरका सार्वजनिक जग्गालाई घडेरीका रूपमा कित्ताकाँट गरी राजमार्गदेखि १५ मिटर कटाएर नक्कली नामसारी लगायतका कागजात मिलाइएको पाइएको बताए। ‘विसं. २०६५ देखि २०७० सम्म अत्यधिक रूपमा बेतिथि रहेछ,’ उनले भने।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार तत्कालीन गोगनपानी ६ (ङ) को कित्ता नम्बर ४९ को २१५–१४–३–० क्षेत्रफलको सार्वजनिक जग्गा विभिन्न कित्ता कायम गरी व्यक्तिका नाममा गैरकानुनी रूपमा दर्ता गरेको उजुरी परेको थियो।

मुद्दा दायर गरिएका कर्मचारीमा नापी कार्यालयका तत्कालीन प्रमुख दीपक सापकोटा, प्रमुख मालपोत अधिकृत रेवतीप्रसाद ढकाल, मालपोत अधिकृतहरू कुशध्वज खत्री, गोविन्दप्रसाद सापकोटा, चेतबहादुर डाँगी, परशुराम अधिकारी, मधुसूदन थपलिया, बालगोपाल अधिकारी, मोहनजंग थापा, प्रमुख नापी अधिकृत भरतसिंह ऐर, जिल्ला वन अधिकृत दिवाकर पाठक, कामु जिल्ला वन अधिकृत भरतराज अधिकारी, सहायक वन अधिकृत बाबुराम अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेतलगायत छन्।

धादिङमा विगत १५ वर्षदेखि राजमार्गसँग जोडिएका र वरिपरिका वन क्षेत्रदेखि खोलाका जग्गा पनि आर्थिक प्रलोभनमा गैरकानुनी रूपमा दर्ता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान गरेपछि एकपछि अर्को सरकारी जग्गा व्यक्तिका नाममा गैरकानुनी दर्ता गरेको खुल्दै जान थालेपछि अख्तियारले विस्तृत अनुसन्धान सुरु गरेको थियो।

धादिङका मालपोत र नापी कार्यालयका प्रमुखसहित ४० भन्दा बढी कर्मचारी गैरकानुनी रूपमा जग्गा दर्तामा संलग्न रहेको पाइएपछि अख्तियारले स्थलगत रूपमै अनुसन्धानमा खटाएको थियो। गैरकानुनी रूपमा व्यक्तिका नाममा जग्गा दर्ता गरेको आरोप लागेका ८ कार्यालय प्रमुखको त निधन नै भइसकेको छ । अख्तियारले गत आइतबार नै १५ भन्दा बढी कर्मचारीलाई पक्राउ गरेको थियो। कान्तिपुरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.