बस्तुतः कांग्रेस र कम्युनिष्टहरु एकै खाले पार्टी हुन् त ?

रिपोर्ट नेपाल | 2019 Aug 26 | 03:00 pm 2742

  • प्रकाश कुमार कार्की

प्रश्न के गरिराखेका छन् कांगे्रस र कम्युनिष्टहरु ? प्रश्न यही हो । विगत सात आठ दशक लामो पृष्ठभूमि अगाडिदेखि हामीले कम्युनिष्ट र कांग्रेसलाई राम्रोसँग देख्दै र प्रत्यक्ष भोग्दै आइराखेका छौं । वास्तवमा कम्युनिष्ट ति हुन् जो पैसा र कमाउनका पछाडी कहिल्यै दौडिदैनन् । घर, वंगला गाडी अनि विलासिता जीवनलाई कहिल्यै आफ्नो अमूल्य सम्पत्ति ठानेका हुँदैनन् । न त यिनीहरु रैतीका कुरा गर्छन् न त मालिक, सबै उपलब्ध स्रोत साधन मात्र जनताको हो भन्ने वकालत गरेका हुन्छन् ।

कुनै किसिमका बर्ग हुँदैन, कुनै किसिमका भेदभाव अनि कुनै किसिमका साना अनि ठूला हुँदैन, हुन्छ त जनतामा खुसी अनि अमनचयन मात्र । कम्युनिष्ट ति हुन् जो विचार अनि सिद्धान्तका खानीका रुपमा रहेका हुन्छन् । अनि उपयुक्त समय अनुकुल उक्त विचार अनि सिद्धान्तलाई राम्रोसँग प्रयोग गर्ने एक प्रयोगकर्ता हुन् कम्युनिष्ट ।

नेपाली शब्दकोषमा आधारित भएर भन्ने हो भने कम्युनिष्टलाई जनाउने उपयुक्त शब्द साधु हो अझ सहज तरिका कम्युनिष्ट भनेको जोगी हो । कम्युनिष्ट ति हुन् जसले कहिल्यै शासन गर्दै भनी कसैलाई पनि अह्राउन खटाउँदैन । जहाँ कम्युनिष्ट हुन्छन् त्यहाँ प्रथमत मानिसको आधारभूत आवश्यकताको ग्यारेन्टी गरिदिएको हुन्छ । कम्युनिष्ट ति हुन् जसले हरेक क्षेत्रमा र व्यक्तिको आवश्यकता अनुरुप कामको प्रत्याभूति गराउँदछन्, भने मानव जातिलाई जीवन जिउनका लागि चौतर्फी शान्ति र ढुक्कको महशुस गराउँदछ ।

अन्तिम विन्दु कम्युनिष्टहरुको साम्यवादी विचार हो जहाँ शासन–शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानताको भय त्रास नहुने भनेको हो । तर विगत ७० बर्ष अगावैदेखि आफूलाई कम्युनिष्ट भन्दै कयौं नेपालको कम्युनिष्ट आन्दोलनको अगुवा गर्दै कम्युनिष्ट पार्टीको विभिन्न मोर्चावन्दी सम्मालिएका ति कम्युनिष्ट नेताद्वयहरु आज शासन–शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानताको त्रासमा स्वयं यति धेरै रहेका छन् जुन आफैमा एक आश्र्चय चकित हो ।

यति सम्मको त्रासको अवस्था सिर्जना भएको छ कि दिन प्रतिदिन आफ्नो सुरक्षाका लागि कयौं सुरक्षा कर्मीहरुको माग स्वयंम् गरिरहेका छन् । स्वयंम् सत्तामा छन्, स्थानीयदेखि प्रदेश हुँदै संघसम्म जवरजस्ती बहुमत रहेको छ त्यही पनि यिनमा यत्तिका धेरै असुरक्षित आफैमा महशुस हुनु एक लज्जाको विषय हो ।

यस्तो अवस्थामा आफूलाई कम्युनिष्ट बन्नु र मुलुकमा कम्युनिष्ट पार्टीको बलमा बनिएको सत्ता छ भन्दा कतिको न्यायोचित हुन्छ आज यो आम चासोको विषय रहेको छ । सायद नेपालका कम्युनिष्टहरलाई र यिनका सत्तालाई हेर्दा यिनीहरु कम्युनिष्ट न भएर एक गफाडी सावित भएका छन् । जो पटक पटक सिद्धान्त र विचारको खेतीका नाममा आस्वासनका पोका बोक्ने एक ढोङ्गी देखिएका छन् ।

जसले मानिसलाई विभिन्न कार्यविभाजन गरी मानिसमा दासत्वको प्रत्याभूति दिलाउनु, मुलुकमा निहित सम्पूर्ण साधन स्रोतमा आफ्नो कब्जा जनाउँदै जनतामाथि शोषण गर्नु यिनका विशेषता भइरहेका छन् । आफूलाई मात्र कुनै पनि रचानात्मक र सिर्जानात्मक रुपमा देख्नाले होला, आज कम्युनिष्टहरुले दिन प्रतिदिन यतीका असुरक्षीत महशुस गरिराखेका छन् । लाग्थ्यो कम्युनिष्टहरुमा अहंकार र घमण्ड पटक्कै हुँदैन ।

यिनीहरुमात्र यस्ता हुन् जसले गरीब निमुखा जनताको श्रम र तिनका पसिनाको उचित मोलतोल दिलाउँद छन् । तर आज नेपालमा आफूलाई कम्युनिष्ट भनेकाहरुबाट यति धेरै अंहकार र घमण्ड साथ गरीब निमुखामाथि दमन, अत्याचार र तिनका रगतलाई एकै घुट्कोमा पिउने कार्य दिन प्रतिदिनको आहार नै भइरहेको छ ।

सिद्धान्तमा के लेखियो र हाम्रो मूलभूत उद्देश्य के हो भनेर यिनलाई पटक्कै फरक पर्दैन, जसरी हुन्छ आफ्नो स्वार्थ र सत्ताको विलासितामा रमाउनु नै यिनका विशेषता हुन् भने यिनलाई नाममात्रका कम्युनिष्ट भन्दा कुनै फरक पर्दैन । सिद्धान्त र विचार व्यवहार र आचरणमा झुल्किनुपर्छ वास्तविक कम्युनिष्टहरुको तर के वास्तवमा यो छ त ? प्रसंग कम्युनिष्टहरुमा मात्र निहित छैन, प्रसंग कांग्रेसको पनि ? आफूलाई लोकतन्त्रको एक खम्बाको रुपमा चित्रण गर्दै, लोकतन्त्र र कांग्रेस एक अर्काका परिपुरक हुन् भनेर दाबी गर्ने कांग्रेसभित्र आज यतिका धेरै अलोकतान्त्रिक अवस्था र गतिविधि भइरहेका छन् । जुन एक चिन्ताको विषय समेत रहेको छ । आफूलाई समयानुकुल परिवर्तनका सारथीका रुपमा देखाउने कांग्रेसभित्रका धेरै जसो युवा नेताहरुले वाहिर, मिडियामा जति पार्टीभित्रको अलोकतान्त्रिक गतिविधिका विरुद्धमा आवाज उठाएता पनि वास्तवमा नै कम्मर कसेर वा हिम्मत गरेर पार्टी भित्रका यस्ता अलोकतान्त्रिक गतिविधि गर्नेका विरुद्धमा पटक्कै बोल्ने साहस गरेको खासै पाइदैन । वास्तवमा नै भन्ने हो भने आन्तरिक गुट उपगुट जे जति पार्टीभित्र देखेता पनि यिनको कुनै अर्थ सिद्ध भएको छैन । गुटउपगुटले डटेर पार्टीभित्रको अलोकतान्त्रिक कदमका विरुद्ध पौठेजोरी पटक्कै खेल्न सकेको छैन भने समायानुकुल पार्टी परिचालित गर्न होइन समयानुकुल कांग्रेस नेताहरु पदका लागि आफूलाई परिचालित गरिरहेका छन् जुन एक अधर्मी बाटो हो र लाग्छ गुट उपगुट पनि यस्ताका नै उपज हुन् । आज कांग्रेस वास्तवमा नै भन्नुपर्दा एजेण्डा विहिन सिद्ध भएको छ । होला हिजो कांग्रेसको इतिहासलाई हामीले नजरअन्दाज लगाउन मिल्दैन, वास्तवमा नै गर्विलो इतिहास बोकेको छ यस्का कयौं क्रान्तिकारी र त्यागी नेताअरु सधै इतिहासका पानामा स–सम्मानित रहिरहेका छन् । यस्ता तत्कालिन समयका निर्णय, तपस्या, त्याग र योगदानलाई मात्र गरिखाने माध्यम वर्तमानमा देखापरेका छन् । विगत लामो दशकदेखि यसका नेताद्वय र यिनका कार्यकर्ताले वी.पी., गणेशमानका नाममा कथा, कविता र निबन्ध लेख्न सिवाय केही गरेको खासै भेटिदैन । मुलुकमा गम्भीर संकट आइपर्दा यसका नेतृत्वहरु जहिल्यै नदेखेको नसुनेको जस्तो अभिनय गरिराखेका हुन्छन् । कहिले काहीं देखेता वा सुनेता पनि आन्दोलनको आवरणमा त्यसैलाई विरोधको प्रमुख एजेण्डा बनाउने वाहेक खासै गतिलो प्रस्तावना आउँदैनन् । खोक्रो र आडम्बरी सिद्धान्तभन्दा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास र समृद्धिको एजेण्डा लिएर जानुपर्नेमा आजका दिनसम्म कांग्रेसले त्यसो गरेको खासै देखिएको छैन । पार्टी तल्लो तहमा प्रजातान्त्रिक तवरको अभावको चरम देखिन्छ । जति युवा पुस्ता छन् वा जति यसभित्रका गुट उपगुटको समुहका क्रान्तिकारी कदम सधै जसो पद अनि कुर्सी देखेर मुख मिठ्याउने नै प्रमुख विशेषता भएको छ ।
हिजोका दिनमा लाग्थ्यो कांग्रेस भनेको क्रान्तिको पर्यावाची हो । दमन, अत्याचार अनि थिचोमिचोबाट सधैंका लागि मुक्त दिलाउने सारथी हो । गतिशील हुनु र समयानुकुल परिवर्तन भइ विकास अनि समृद्धिलाई जनताको स्पर्शमा पु¥याउनु हो जुन एक सिद्धान्तमा मात्र वर्तमानमा सिद्ध भएको छ । आज कांग्रेस हुनु भनेको मालिकबाट रैतीलाई शासन गर्नु हो भन्ने वुझाइ रहेको छ । सत्ता र पदको विलासिताका लागि नेताद्वयको दौराको तुना समाउने संस्कार सिक्नु हो । समयानुकुल परिवर्तन नहुनु र यथास्थितिमा रमाउनु कांग्रेस हुनु हो भन्ने कुराले मान्यता पाउँदै गएको छ । कुनै पनि कोणमा जवाफदेही नहुनु र जय नेपाल भन्दै राष्ट्रको साधनस्रोतको दोहन गर्नु नै कांग्रेसका वर्तमान विशेषतासँग मिल्दाजुल्दा छन् । आफ्नो पार्टीभित्रका फरक मत राख्नेलाई कसरी हुन्छ, चरित्रहत्या गरेर होस् या त पार्टीभित्र कयौं लान्छना लगाएर होस् तिनलाई खुइलाउने काम बाहेक अरु केही हुन सकेको छैन । पार्टी र मुलुकको सपना पटक्कै देख्दैनन् मात्र आफ्नो निकटका सपना देख्छन् भने भविष्यमा पार्टीको भविष्य र नेपालको भविष्यका बारेमा पटक्कै बोल्दैन । जुन कांग्रेस हुनुको एक विशेषता मान्न सकिन्छ । सत्ताको विलासितामा रहेको वा रमाइएको कम्युष्टिको कुरै नगरौं तर मार्ग विराएमा पटकपटकको सचेतनाको पाठ सिकाउने प्रतिपक्षमा रहेको कांग्रेसले एक अहम भूमिका निभाउनुपर्ने ठाउँमा आज आफै कुम्भकर्ण सुताइमा रहेको छ । यसो हेरौं सत्तामा कम्युनिष्ट छ जो पाइलै पिछे गलतका गलत कार्य गर्दै गइरहेका छन् । समाज अनि प्राकृतिक नियम विपरीत पटकपटक ति कार्य गर्दै गइरहेका छन् । तिनलाई तिनले गरेका कार्यलाई सचेत गराउने प्रतिपक्ष यानिकी कांग्रेस आफै कता हराउँदै गइरहेको छ । जसका फलस्वरुप कहिले काहीँ लाग्छ चाहे कांग्रेस होस् या त कम्युनिष्ट दुबै नाम फरक सिद्धान्त फरक तर प्रक्रिया र पद्धती एउटै भएका एउटै पार्टी जस्तो लाग्छ । राजनीतिक दल भएपछि देश अनि जनताका विषयमा विकास केन्द्रिकृत गरिनुपर्दछ । तर लाग्छ स्थापना कालदेखि कांग्रेस या त कम्युनिष्टहरुले पटकपटकको बहस अनि वैठक मात्र आफ्नै गुट, सत्ता, आफ्नो शक्ति अझै विस्तारमा भन्नुपर्दा आफ्नै स्वार्थका लागि रचिएका छन् । जस्तो कयौं उदाहरण हामी माझ जीवितै छ । जसका कारण पटकपटक कहिले कम्युनिष्ट सत्तापक्षमा त कहिले कांग्रेस प्रतिपक्षमा भने कहिले कांग्रेस सत्तापक्षमा त कहिले कम्युनिष्ट प्रतिपक्षमा रही मुलुक हाँकिनै रहिरहेछ । तर जो जो सत्तापक्षमा या त प्रतिपक्षमा रहेता पनि कहिल्यै यिनका शासकीय शैलीमा कुनै फरक पाइएन । जसका कारण न त मुलुकले गतिशीलताको फड्को मार्न नै सफल भयो न त मुलुकले विकास, समृद्धि अनि पुजीँगत विकासलाई प्रोत्साहन गर्न नै सक्यो । वेरोजगारी, गरिबी, हत्या, हिंसा, सामाजीक असुरक्षा जस्ता मुद्दाहरु जो जो सरकारमा रहेता पनि एक विकराल र बढ्दो समस्याका रुपमा देखाप¥र्याे । कुशासनले ग्रस्त नै भयो वास्तवमा नै भन्नुपर्दा यिनका सत्तापक्ष रणनीति या त प्रतिपक्ष रणनीतिमा । भ्रष्टाचार र अनुशासनहीन कर्मचारीतन्त्र र विग्रदो राजनीति प्राय सबै यिनका पाला एक अहम विशेषताको रुपमा हामी लिन सक्छौं । सबैमा अपेक्षा गर्दागर्दै पनि यि दिन प्रतिदिन सन्दर्भहीन भएपछि यस्ता प्रश्न स्वाभाविक उठ्छन् । वस्तुत कांग्रेस कम्युनिष्ट एकै पार्टी हुन् त ? दुबैको संगठानात्मक जिवनी लगभग उस्ता उस्तै छ । पुराना, गतिहीन, यथास्थितिवादी, ढोङ्गी अनि दुबै कुवाका भ्यागुता जस्ता !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.