प्रचण्डको राजनीतिक चतुर्‍याँइ

रिपोर्ट नेपाल | 2019 Aug 25 | 04:20 pm 3499

  • कृष्ण प्रसाद सापकोटा

गत विहिबार बसेको सचिवालयको बैठकमा सत्तारुढ नेकपाका दुई जना नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच निकै तल्लो स्तरमा भनाभन भयो । नेकपाका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार तथा मिडियाहरुले दिएको समाचार अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले गरेको स्वास्थ्य लाभको कामना स्वीकार गरेनन् ।

बैठकमा वरिष्ठ नेता नेपालले स्वास्थ्य लाभको कामना गर्नासाथ प्रधानमन्त्री ओलीले झर्कँदै भने–‘ आजै मर्छ , भोली नै मर्छ भनेर मेरो बारेमा नाना भाँती प्रचार गर्ने तपाँइ जस्ता परपीडकको स्वास्थ्यलाभको कामना मलाई चाँहिदैन , तपाँइलाई नै फिर्ता गर्छु ।’ स्वास्थ्य लाभको कमना समेत सार्वजनिक रुपमै अस्वीकार गर्ने हदसम्मको द्धन्द सत्तारुढ नेकपामा प्रकट भइसकेको छ ।

आँफू शक्तिशाली बन्ने प्रयत्न स्वरुप प्रतिस्पर्धीलाई कमजोर बनाउन खोज्नु राजनीतिमा स्वभाविकै मानिन्छ । राजनीति भनेकै त्यही हो । प्रतिस्पर्धी कमजोर नभई शक्ति आर्जन हुँदैन । विगत १५ वर्ष देखि माधव नेपाल र केपी ओली एक अर्काका प्रतिस्पर्धी हुन् । उनीहरुबीच एक अर्कालाई कमजोर बनाउने खेल भएकै थिए । तर अहिले जति तुच्छ आरोप प्रत्यारोपमा उनीहरु कहिल्यै उत्रेका थिएनन् । सार्वजनिक रुपमा एक अर्कालाई अत्यन्त सम्मानका साथ प्रस्तुत हुन्थे ।

जब नेकपामा पुष्पकमल दाहाल प्रचण्डको प्रवेश भयो तब नेपाल र ओली आफ्नो पदीय मर्यादा भुल्दै एक अर्का विरुद्ध निकृष्ठ शैलीमा जाई लागेका छन् । ओली त रुखो बोली तथा तुच्छ शैलीका कारण नै प्रख्यात छन् तर माधव नेपालले आफ्ना भनाई भद्रताका साथ राख्दै आएका थिए । यस पटक भने माधव नेपालले पनि आफ्नो धैर्यताको बाँध टुटाए ।

किन भयो द्धन्द ?

माथि नै उल्लेख गरियो कि, ओली र नेपालबीचको यो द्धन्द नयाँ होइन । पछिल्लो पटक द्धन्द हुनुको मुख्य कारण पार्टीको मर्यादा क्रममा नेपालको एक स्टेप घटुवा हो । पार्टी एकीकरणका बेला माधवको मर्यादाक्रम तेस्रो नम्बरमा थियो । एक जना अध्यक्ष ओली सिंगापुरबाट र अर्का अध्यक्ष प्रचण्ड दुवईबाट फर्के लगत्तै बसेको बैठकले माधव नेपालको मर्यादाक्रम चौथो नम्वरमा पु¥यायो ।

साथै बामदेव गौतमलाई उपाध्यक्ष नियुक्त ग¥यो । दुई अध्यक्ष ओली र प्रचण्डका अलवा माधव नेपाल समेत तीन जनाको सहमति अनुसार निर्णय गर्ने परिपार्टीको अन्त्य गरियो । दुई जना अध्यक्ष बसेर निर्णय गर्ने नयाँ अवधारण आए पछि माधव नेपाल रिङ आउट भए । पार्टी भित्र माधव नेपालको हैसियत रहेन । यस अघिको महाधिबेशनमा माधव ओली सँग करिव ५० भोटले पराजित भएका थिए । पराजित भए पनि पार्टी भित्र माधवको हैसियत ओली सरह रहेको संकेत थियो । अहिले सम्म माधवको यो हैसियतलाई स्वीकार गरिएको पनि थियो । तर एकाएक माधव रिङ आउट भए ।

ओली, प्रचण्ड र नेपाल तीन नेता मध्ये दुई जना जता लाग्छन् उतै बहुमत पुग्ने गरी सत्तारुढ नेकपामा शक्ति सन्तुलन देखिएको छ । प्रचण्ड र नेपाल एक ठाउँमा मिल्दा ओलीको प्रधानमन्त्री तथा अध्यक्ष पद धरापमा पर्ने अवस्था थियो । त्यस कारण ओली सतर्क थिए । प्रचण्ड र नेपाललाई मिल्न नदिनुमै आफ्नो कल्याण छ भन्ने ओलीले बुझेका थिए । त्यस कारण ओलीले यो प्रयत्न गर्दै आए । यसैगरी ओली र नेपाल मिले भने आँफू समाप्त हुन्छु भन्ने प्रचण्डलाई थाहा थियो । उनी पनि यो प्रयत्नमा थिए ।

प्रचण्डले सुरुवाती चरणमा माधव नेपालसँग मिलेर ओलीलाई कमजोर पार्ने प्रयत्न नगरेका होइनन् । तर पदीय बाँडफाँडमा कुरा मिलेन । माधव नेपालले पार्टी अध्यक्ष या प्रधानमन्त्री मध्ये एक पद आँफूले पाउने सुनिस्चित भए मात्रै ओलीविरुद्ध प्रचण्डसँग समिकरण गर्ने जनाउ दिए । यसरी समिकरण गर्दा आँफू झन कमजोर हुने महशुस प्रचण्डले गरे । प्रचण्डलाई लाग्यो–‘ पहिलो कुरा त आगामी फागुन पछि सत्ता हस्तान्तरण गर्ने लिखित सहमतिको म्याद आउन बाँकी नै छ , दोस्रो कुरा स्वास्थ्यका कारण धोद्रो रुख जस्तो बनेको ओलीको शरीर कुनै पनि दिन ढल्न सक्छ , त्यस पछि पालो मेरै हो ।’ यसैगरी माधव र ओली एक ठाउँमा उभिने अवस्था पनि दुई वटा कारणले रहेन । पहिलो कारण विगत १५ वर्ष देखिको आन्तिरिक प्रतिस्पर्धा । दोस्रो कारण ओली र प्रचण्डबीच भएको सत्ता हस्तान्तरणको लिखित सहमति ।

अब के हुन्छ ?

ओली र माधवबीच सम्वन्ध चिसिनुको अर्थ हो सत्ता हस्तान्तरणका लागि ओली र प्रचण्डबीच भएको लिखित सहमति कार्यान्वयनमा आउनु । आगामी फागुन पछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्लान भन्ने कुरामा धेरैलाई आशंका थियो । यसको संकेत ओलीले पटकपटक गरेका पनि थिए । ओलीले सत्ता हस्तान्तरण नगर्ने, संसदीयदल भित्र बहुमत सिद्ध गर्न प्रचण्डले नसक्ने स्थिति थियो । तर अब ओलीलाई सत्ता हस्तान्तरणका लागि वाध्य पार्न माधव नेपाल खुलेरै मैदानमा उत्रने अवस्था बनेको छ ।

यो प्रचण्डका लागि ठूलो सफलता हो । सानो संगठनबाट ठूलो उपलव्धि हाँसिल गर्न सक्नुलाई नै राजनीतिक चतुर्‍याँइ भनिन्छ । यो चतुर्‍याँइ प्रचण्डमा देखिएको छ । उनी २०५२ सालमा सानो संगठन लिएर जंगल पसेका थिए । तर शासन व्यवस्था उल्ट्याउन मात्रै होइन राजतन्त्र फाल्न समेत उनी सफल भए । दोस्रो संविधान सभा निर्वाचनमा पनि प्रचण्डको पार्टी अत्यन्त सानो थियो । तर कांग्रेस एमाले जस्ता ठूला पार्टीलाई भिडाएर प्रधानमन्त्री बन्न प्रचण्ड सफल भए । स्थानीय चुनावमा प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा छोरीलाई उम्मेदवार बनाए । माओवादीको भोट जमानत फिर्ता हुने हैसियतको थिएन तर अनेक चतुर्‍याँइ गरेर छोरीलाई चुनाव जिताए ।

आम निर्वाचनमा उनको पार्टीले प्रत्यक्ष तर्फ ४–५ सिट भन्दा जित्ने अवस्था थिएन । उनी स्वयं चुनाव हार्ने अवस्थामा पुगेका थिए । तर अचानक एमालेसँग पार्टी एकीकरण गरे । सिंगो नेकपाकै अध्यक्ष बने । नेकपाको शक्ति सन्तुलनमा उनी कमजोर रहेको पक्का हो तर यस्ता खेल आरम्भ गरेका छन् जुन खेलले उनलाई एमालेको सर्वशक्तिवान अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्ने संभावनालाई नजिक ल्याएको छ ।

माओवादी पार्टीको नेतृत्व गर्दा पनि प्रचण्ड ३४ वर्षसम्म निरन्तर अध्यक्ष रहे । आफ्ना संभावित प्रतिस्पर्धीहरुलाई झगडा मच्चाइदिने र त्यस पछि आँफूले तर मारिरहने फरमुला उनले अवलम्वन गरे । २०४३ सालमा शेक्टर काण्ड मच्चाएर तत्कालिन अध्यक्ष मोहन बैद्यलाई अपदस्थ गरे । त्यस पछि बैद्यलाई कहिल्यै माथि उठ्न दिएनन् । बाबुराम भट्टराई र बैद्यलाई आपसमा भिडाएर आँफू अध्यक्ष बनि रहे । यो कुरा बैद्य र बाबुरामले धेरै पछि थाह पाए । अब नेकपामा पनि ओली र नेपाललाई भिडाएर आँफू शक्तिशाली बन्ने प्रचण्डको अभियानले मूर्तरुप लिँदैछ ।

यो फरमुला कुनै बेला नेपाली कांग्रेसमा पनि राणा शाहहरुले शेरबहादुर देउवालाई सत्तामा पु¥याउनका लागि प्रयोग गरेका थिए । जुन बेला सम्म आरजु राणा देउवाकी दुलही बनेर भित्रिएकी थिइनन् त्यतिबेला सम्म प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हरेक साता गणेशमान सिंहको निवास क्षेत्रपार्टी पुग्थे । मंगला भाउजुको हातले बनाएको खाना नखाएसम्म भोक मेटिँदैन भन्थे । गणेशमान सिँह महिनाको एक पटक विराटनगर कोेइराला निवासमा गएर बस्थे । तर जब देउवा र राणबीच बिबाह भयो तब कांग्रेस भित्र तीन जना नेता तिन तिर फर्कन थाले।

आपसी द्धन्दकै कारण संसद विघटन भयो । मध्यावधी निर्वाचन पछि देउवा प्रधानमन्त्री बने । गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता सिनियर लिडरहरु राजनीतिमा अत्यन्त सक्रीय रहँदा रहँदै देउवा प्रधानमन्त्री बने । त्यसपछि देउवाका संभावित प्रतिस्पर्धीहरु खुमबहादुर खड्का, बलबहादुर केसी, चिरन्जीवि वाग्ले लगायतका नेताहरुलाई पनि डिजाइन पुर्वक नै खुइल्याइयो । राजनीतिक चतुर्याइँ भनेकै यही हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.