सन १९५० को मध्यरातमा, मुक्तिसेनाले विराटनगरमा धावा बोल्यो । मुक्तिसेनाको पहिलो डम्फा खेतको आली, खाल्डाखुल्डी र सना खोलानाला हुँदै विराटनगरको सहरी क्षेत्रतर्फ बढिरहेको थियो , गर्भनर उत्तमविक्रम राणाको निवाससहित सबै सरकारी कार्यालय कब्जा गर्ने योजनाका साथ ।
सेनाका डम्फालाई दुई भागमा बाँडियो । पहिलो टोलीको नेतृत्व गिरिजा र विश्वबन्धु थापाले गरे भने तारिणी र गुरिल्ला युद्धका प्रशिक्षक भोला चटर्जीले दोस्रोको । अनि सुरु भयो दोहोरो भिडन्त ।
के गिरिजालाई कारतुस चाहिएको ? गोलीको आवाज आइरहेछ । सुँ..इँ..इँ..ठ्याँ । सरकारी सेनाको गोलीको जवाफ दिइरहेका छन् मुक्तिसेनाका जवानहरु । राणा सैनिक मुक्तिसेनालाई घेरामा पारी अगाडिपछाडि दुबैतिरबाट गोली बर्साउँदै छन् । यत्तिकैमा थ्री नट थ्रीको डेढ इन्चको गोली हुइँकिएर आयो । छेउको रुखमा अलिअलि ठोक्किएर गिरिजाको कनपट्टि छुँदै पछाडि गयो । रुखमा नठोक्किएको भए गिरिजा ठहरै हुने ।
गिरिजा ए गिरिजा । जमिनमा सुत अलिपर मोर्चामा डटिरहेको बिकु कराए । तर अर्को गोली आएर बिकुको तिघ्रा छेडिदियो ।
उनी भुँइमा लडे । अगाडिपट्टि सुतर राइफल चलाइरहेका मुक्तिसेनाका योद्धा बलबहादुर तेस्रो गोलीले निष्प्राण भए पल्टिए । उनको पूरै शरीरले गिरिजाको शरीरलाई ढाकिदियो । गोली हानाहान हुँदा एक्कासि आवाज आयो, ए बिकु सुतिराख ए फ्लास्कबाट पानी निकालेर बिकुलाई खुवाइदेउ । गोली लागेर लडेका । राइफल लिएर राख ..। त्यसलाई उता छेउतिर सुताउ ।
अमर सहिद कृष्णप्रसाद कोइरालाका छोरा, मुक्तिसेनाका पूर्वी कमाण्डर बीपी कोइरालाका कान्छा भाई गिरिजा हेरिरहेका थिए । आफैंमाथि लडेको बलबहादुर तामाङका गोलीले छियाछिया शरीर । गिरिजाले मनमनै भने अब मेरै पालो होला । ट..ट..ट..ठ्याँ, ठ्याँ । मुक्तिसेना दलपितले पछाडि हट्न आदेश दिए । तर कसरी फर्किने ? लाग्छ चारैतिरबाट गोली बर्सिरहेको छ ।
गिरिजाको नेतृत्वमा २००३ सालमा भएको मजदुर आन्दोलनबाट प्रभावित भएर कांग्रेस प्रवेश गरेका बलबहादुर तामाङले (त्यो दिन मारिएका) त्यसै बेला गिरिजासँग सोधेका थिए, यो कस्तो लडाइँ हो ? कस्तो आन्दोलन हो ? राणाहरुको गोली, लाठी र खुकुरीको जवाफ हामीचाहीँ जिन्दावाद, जिन्दावाद मात्रै भनेर हात नचलाई बस्नुपर्ने ? मलाई यस्तो लडाईँ मन पर्दैन । म त गोलीको उत्तर गोली नै दिने लडाइँमा भर्ती हुन्छु । तिनै तामाङ सहिद भए । आफू मनु अघि उनले धेरै साथीलाई बचाए । उनैले गर्दा गिरिजा बाँचे, बिकुलाई पनि घचेटेर उनैले बचाए । २५ सैनिक, चार स्टेनगन, चार रिभल्बर र केही हाते बमको भरमा मुक्तिसेना पहिलो दिन लडेको थियो ।
युद्ध चलिरहँदा उता कोइराला निवासमा आमा दिब्या एउटा कोठामा आफ्ना इष्टदेवलाई सम्झँदै बसेकी थिइन् । भगवानको ध्यानबाट बेलाबखत उनको मन अन्यत्रै खिचिन्थ्यो । छिनछिनमा गिरिजाको हँसिलो मुख आँखा अघिल्तिर नाँचिरहन्थ्यो । भारतीय साहित्यकार फणीश्वरनाथ रेणु लेख्छन्, कानकै छेउमा उनको मीठो स्वर प्रतिध्वनी हुन्छ–आमा ? म आएँ– को हँ– ? कसले बोलाएको हँ ? कसले बोलाएको यहाँ त कोही छैन ।
भ्रम हो अथवा मेरो कान्छो छोरा गिरिजा रातिको लडाइँमा प्रजातन्त्रका लागि बलिदान भइसक्यो कि ? आमाको हृदय हाहाकार भयो, भित्रभित्रै मडारिएर आयो । आमा दिब्या कुद्दै गएर आफ्ना परमगुरु स्वर्गीय पति कृष्णप्रसाद कोइरालाको फोटोको छेउमा बस्छिन् र फोटोलाई ढोगेर पसारोमा पर्छिन् । बल दिनुहोस प्रभु । मलाई शक्ति दिनुहोस् । मलाई हेरिरहनुभएको होला निश्चिन्त भएर । तपाईका सबै छोरा युद्धमैदानमा लडिरहेका छन् । दिब्यालाई पति बोलेझैँ लाग्यो–तिमीमलाई किन बारम्बार आफ्ना छोराछोरीको मात्रै सम्झना आउँछ ? नेपाल आमाका यति धेरै छोराछोरी युद्धमैदानमा लडिरहेका छन् ।
भीषण लडाइँ चलिरहेकै थियो, धनकुटाबाट सरकारी फौज विराटनगरका लागि हिँडेको सुइँको पाएपछि मुक्तिसेना झापातर्फ लाग्यो । रङ्गेली हुँदै झापा विजय कब्जा गरेर पुनः विराटनगर फर्कियो । बीपीको विद्रोह जगत नेपालद्वारा लिखित