जथाभावी डोजरको प्रयोगले निम्तिएको समस्या

रिपोर्ट नेपाल | 2019 Jul 26 | 09:21 am 3142

  • कृष्ण प्रसाद सापकोटा

विगत केही वर्षदेखि पहाडमा पहिरो, बेसीमा बाढी तथा तराईमा डुवान मुलुकको स्थायी समस्या जस्तै बनेको छ । गत असारको अन्तिम साता बाढी तथा पहिरोका कारण सयौं नागरिकको ज्यान गएको र अरबौं रुपैंयाको भौतिक सम्पत्ति क्षति भयो ।

यो दुःखद घटनाको घाउमा खाटा बस्न नपाउँदै यसै साता गुल्मी जिल्लाको सत्यवती गाउँपालिकास्थित लिम्घाको भीरकुना र ठूलो लुम्पेक गाउँ पहिरोले तहस नहस भयो । एक दर्जन भन्दा बढीले ज्यान गुमाए । ६ सय परिवार विस्थापित भए ।

गुल्मीको यो घटनाले यतिबेला सिंगो मुलुकको ध्यान आकृष्ट भएको छ । विज्ञहरूले पहाडी भू–बनोटमा पर्याप्त अध्ययनबिना जथाभावी सडक खन्ने प्रवृत्ति बढ्दा पनि यस्तो पहिरोका घटनाहरूमा वृद्धि भएको बताउने गरेका छन् । गुल्मीको सन्दर्भमा पनि विज्ञहरुको यो भनाई सान्दर्भीक हुन सक्छ । भूगोल र जनसंख्याको अनुपातलाई हेर्ने हो भने नेपालका ७७ जिल्लामध्ये डोजर प्रयोग गरेर सबै भन्दा धेरै सडक खनिएको जिल्ला हो गुल्मी ।

गुल्मी जिल्लामा कुनै गाउँ सायदै होलान जहाँ सडक (डोजर) नपुगेको होस् । यतिबेला त प्रत्येक गाउँ होइन कि प्रत्येक घरमा सडक पु¥याउने अभियान गुल्मीमा सुरु भएको छ । डोजरले नखनेका कुनै पहाड बाँकी छैनन् । हालै गएको पहिरो पछि एक जनप्रतिनिधिले मिडियालाई प्रतिक्रिया दिँदै भने–जनताको चाहाना दुईचार वटा मात्रै घर भएको ठाउँमा समेत पनि बाटो पु¥याइदिए हुन्थ्यो भन्ने छ । त्यो चाहनालाई बेवास्था गर्न सक्ने अवस्थामा हामी छैनौ ।

समस्या सत्यवती गाउँपालिकामा मात्रै छैन । गुल्मी जिल्लाका अधिकांश गाउँ जोखिममा परेका छन् । करिव १२ सय वर्गकिलोमिटर क्षेत्रफल रहेको गुल्मीमा सडक सञ्जाल करिव १४ सय किलोमिटर छ । जसमध्ये ९० प्रतिशत सडक विगत २ दशक यता निर्माण गरिएको हो । ३ लाख पनि जनसंख्या नभएको र १२ सय कर्गकिलोमिटर पनि क्षेत्रफल नभएको गुल्मीमा १४ सय किलोमिटर सडक निर्माण हुनु भनेको सरसरर्ती हेर्दा निकै सुखद पक्ष हो । तर अधिकांश सडकहरु शिकारीले बदेल मार्न बनाएको पासो सावित भएका छन् । विना अध्ययन, विना सर्भे, ६० डिग्री भन्दा बढी भिरालो कमजोर पहाड डोजरले खोपेर सडक निर्माण गरिएका कारण गुल्मी जिल्लाले पहिरोको समस्या अझै धेरै झेल्नुपर्ने संभावना देखिएको छ । उदाहरणका लागि हस्तिचौर सबैभन्दा बढी प्रभावित छ । त्यस्तै रिमुवा, ग्वादी, बम्घा, वीरबास, पांैदीअमराईलगायतका क्षेत्रमा पनि पहिरोको जोखिम बढेको छ ।

जिल्ला विकास समितिले तीन वर्ष अघि दिएको तथ्यांक अनुसार दर्ता भएर जिल्लाभरी सडक निर्माणमा प्रयोग गरिएका डोजरको संख्या ५ सय भन्दा माथि छ । दर्ता नगरिएका डोजरको संख्या पनि त्यति नै भएको अनुमान गरिएको छ । सडक निर्माणबाट प्रसस्त आम्दानी हुने भएकोले निर्माण व्यवसायीहरुले डोजर खरिदमा ठूलो लगानी गरेका हुन् । जनताको आवश्यकता भन्दा पनि डोजरलाई काम दिनका लागि गाउँ तथा नगरपालिकाहरुले सडक निर्माणको शीर्षकमा उल्लेख्य बजेट छुट्याउने गरेको देशव्यापी तथ्यांक छ । यो तथ्यांकबाट गुल्मी पनि अछुतो छैन । डोजर धनीहरुले नै गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सडक निर्माण शीर्षकमा उल्लेख्य बजेट छुट्याउन दबाव दिने गरेको पनि कतिपय ठाउँमा देखिएको छ । कतिपय पालिकामा त ठेकेदारहरु नै जनप्रतिनिधि बनेका छन् । आफ्नो डोजरहरुलाई काम दिन उनीहरुले सडक निर्माण शीषकमा बजेट छुट्याउने नै भए । यसैगरी कोही कोहीले आँफू जनप्रतिनिधि भए पछि मिलेसम्म आफ्ना नाममा, नमिले नातेदारका नाममा डोजर किनेर काम दिने गरेका छन् ।

गुल्मी जिल्लामा रहेका करिव १ हजार डोजरले वर्षभरी काम पाउँदै जाने हो भने अबको पाँच वर्ष भित्र कुनै पनि पहाड बाँकी रहने छैनन्, जो नउधिनिएको होस् । तलबाट डोजरले उधिनेपछि माथिबाट पहिरो खस्नबाट कसैले रोक्न सक्दैन ।

गुल्मी जिल्लाको त उदाहरण मात्रै दिइएको हो । मुलुकका कुनै पनि पहाडी जिल्ला यो चक्रव्युहबाट अछुतो छैनन् । हिँजोका हरियाली पहाडहरु आज धुलाम्मे, सेताम्मे र हिलाम्मे छन् । डोजरले अन्धाधुन्ध उधिनेका ती पहाडका भीत्ताहरू छियाछिया भएका छन् । एकमाथि अर्को गर्दै पहाडी ती पाखाहरूमा भर्याङका खुट्टिकलाजस्ता सडक बनाइएका छन् । कुनै बाटोहरू आधा खनिएका छन् । ठूला चट्टान भेटिएका ठाउँबाट ती बाटोका गन्तब्य सकिएका छन् ।

सडक भनेको विकासको पहिलो पूर्वाधार हो । अर्थात विकासको मुल ढोका भनेकै सडक हो । सडक विना विकासका अन्य पूर्वाधार पु¥याउने संभावना नै रहन्न । त्यसैले कुनै पनि हालतमा सडक निर्माण गर्नै पर्छ । तर कसरी ? मुल प्रश्न भनेको यही हो । यसका लागि योजना बनाउनु पर्छ । छरिएर रहेका बस्तीहरुलाई एकत्रित गर्नु पर्छ । २–४ वटा घर भएका ठाउँमा ४ किलोमिटर पहाड खनेर सडक पु¥याउनु भन्दा ती घरहरुलाई सडक भएको ठाउँमा स्थानान्तरण गर्ने अभियान सुरु गर्नु पर्छ । तर अहिले गाउँका टोलैपिच्छे सडक बनिरहेका छन् । डोजर चालक नै इन्जिनियर बनेर भिरालो जमिनलाई तलबाट भत्काइरहेका छन् ।

संरक्षणवादीहरुले सडक निर्माणमा डोजरको सट्टा परम्परागत प्रविधि प्रयोग गर्दा पहिरोको जोखिम नहुने र श्रमिकले पनि काम पाउने तर्क राख्ने गरेका छन् । शहरका तारे होटलमा बसेर सुन्दा यी तर्कहरु निकै कर्ण प्रिय लाग्छन् । तर कुटो कोदालोले खनेर सडक निर्माण संभव छैन । गल्मीकै उदाहरण लिउँ, पाल्पादेखि तमघास सम्मको करिव ७५ किलोमिटर सडक २०३५ सालदेखि कुटो कोदालोले खन्न सुरु गरिएको हो तर त्यो सडक तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दको विशेष सक्रियतामा २०३९ सालमा जनताकै श्रमदानबाट सम्पन्न भएको हो । २०५० साल यताको २५ वर्षमा १३ सय किलोमिटर भन्दा बढी सडक बन्यो । त्यसैले डोजर प्रयोग गर्नै हुन्न भन्नेहरु विकास विरोधी त होइनन् ? भन्ने प्रश्न पनि उत्पन्न भएको छ ।

डोजर प्रयोग गरेर विना अध्यायन, विना सर्भे जथाभावी सडक निर्माण गर्दा उत्पन्न हुने मुख्य समस्या पहिरो मात्रै होइन, यो भन्दा पनि डरलाग्दो समस्या पानीका मुहान सुक्नु पनि हो । पानीका परम्परागत स्रोतहरु सुक्न थालेका छन् । गुल्मी जिल्लामै यो समस्या देखिइसकेको छ । गुल्मी कै छिमेकी जिल्ला अर्घाखाँचीको उदाहरण लिउँ । २०३२ सालमा अर्घाखाँचीको छत्रगन्जस्थित मठेलचौर मुहानबाट बल्कोट, केरुंगा र चिदिका गाउँमा पानी पुर्याइएको थियो । त्यो जिल्लाकै ठूलो योजना थियो । त्यसले गाग्री बोकेर कुवा धाउनुपर्ने बाध्यता हटेको थियो । ३ दशक दुःख थिएन । यी तीन गाउँ सडक सञ्जालमा जोडिए । त्यतिबेला सदरमुकामबाट महिनौं दिन लगाएर कोदालो, गैंती, बेल्चाले गाउँलेले सडक निर्माण गरेर गाडी पुर्याए । पछिल्लो समय डोजर भित्रिए । मान्छेले भन्दा छिटो निर्माण हुने भएपछि जताततै बाटो बन्न थाल्यो ।

२०६० सालमा साबिकका सबै गाविसमा मोटर पुगेपछि नमुना जिल्ला बन्यो । मढेलचौरको मुहानभन्दा माथिबाट डोजर प्रयोग गरेर बाटो खनियो, त्यसपछि मुहान सुक्यो । गाउँमा सडक निर्माणले खुसी स्थानीय पानी सुकेपछि दुःखी बनेका छन् । छत्रदेव गाउँपालिका १, २, ३ र ४ वडामा पानीको हाहाकार छ । घन्टौं लाइन बसेर एक गाग्री भर्न बिहानभरिको समय खर्चिनुपर्छ  । मुहानमाथिबाट डोजर लगाएर सडक नखनेको भए पानी हराउने थिएन । जिल्लाका धेरै मुहानमा पहिलेको जस्तो पानी छैन । मालारानी गाउँपालिका–५ को घाटखोला मुहानबाट कुझेरी गाउँमा पानी ल्याइएको थियो । मुहानमाथि डोजर चलाएर बाटो खनेपछि अहिले पानी सुकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.