‘प्रतिपक्षी दलले सत्ता पक्षलाई सबै काम बिगार्‍यो भनेर आलोचना गर्नु उसको धर्म’ : प्रचण्ड

| 2019 May 07 | 02:09 pm 2423

काठमाडौं, वैशाख २४ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै सत्ता पक्ष र प्रतिपक्ष निषेधात्कम रुपमा लड्ने बेला आइनसकेको बताएका छन् । प्रतिनिधिसभा वैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अहिले प्रतिपक्षले दोषारोपण गरे जस्तो सबै कुरा सहज भइनसकेको बताए ।

उनले प्रतिपक्षी दलले सत्ता पक्षलाई सबै काम बिगार्‍यो भनेर आलोचना गर्नु उसको धर्म भएको बताउँदै तर, अहिले नेपालमा प्रतिपक्षले देखे जस्तो सत्ता पक्षले सबै कुरा काम नलाग्ने गरी बिगारी सक्यो भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

उनले अहिलेको सरकार संघीयता कार्यान्वयन, कानून निर्माण, कर्मचारी समायोजन जस्ता जटिल काममा रहेकाले प्रतिपक्षले देखे जस्तो र जनताले अपेक्षा गरे जस्तो एकै पटक परिवर्तनकारी काम हुन कठिन भइरहेको बताए ।

तर प्रतिपक्षको आलोचनालाई पनि सरकारले सहज रुपमा लिएको र लिने बताउँदै उनले जनप्रतिनिधिहरु इमान्दार र नैतिकवान भएर जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताए । उनले नागरिकले चाहे जस्तो समृद्ध नेपाल र सुखी नेपाली बन्ने सम्भावना नेपालमा धेरै रहेको बताउँदै उनले यसका लागि प्रतिपक्षले दोष मात्र देखाउने भन्दा पनि राम्रा कुरामा सहयोग र नराम्रा काममा स्वच्छ आलोचना गर्नुपर्ने बताए ।

उनले आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रमको खुलेर समय सान्दर्भिक रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने उद्देश्यबाट नीति तथा कार्यक्रम आएको जिकिर गरे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।

संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सत्ता पक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने परम्परागत राजनीतिक शैली रहेको उनको भनाइ थियो । सत्ता पक्षले राम्रै कुरा गरे पनि, राम्रै नीति ल्याए पनि विपक्षीले विरोध गर्नुपर्ने बाध्यताजस्तो, प्रतिपक्षीले राम्रै सुझाव दिए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गर्नैपर्ने बाध्यताजस्तो परम्परागत शैलीबाट माथि उठ्न जरुरी रहेको उनले औंल्याए ।

नेपालमा राणाशाहीविरुद्धको आन्दोलनको बेलादेखि नै राजनीतिक परिवर्तन हुँदै आएको जिकिर गर्दै ती आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्दै ल्याएको स्मरण गराए । २०६२र०६३ को जनआन्दोलनले ल्याएको परिवर्तन भने गुणात्मक रहेको उनको भनाइ थियो ।

‘त्यसअघिका परिवर्तन मात्रात्मक थिए,’ उनले भने, ‘२०६२–०६३ को जनआन्दोलनलले गुणात्मक परिवर्तन ल्याएको छ ।’ अबका बहस अगाडि बढाउँदै लैजाँदा ऐतिहासिक परिवर्तनको सार तत्वलाई गहिरो गरी ध्यान दिन जरुरी रहेको उनले बताए ।

उनले संविधान निर्माण भएर संघीयताको अभ्यास सुरु भए पनि धेरै काम गर्न अझै बाँकी रहेको बताए । ती काम पुरा गर्न सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्यको खाँचो रहेको उनको भनाइ थियो ।
कृषिमा विकास नगरी देशको विकास हुन नसक्ने उनले प्रष्ट पारे ।

झण्डै ६५ प्रतिशत जनता अहिले पनि कृषिमै आधारित रहेको जिकिर गर्दै उनले कृषिमा सुधार, आनुनिकीकरण, यान्त्रिकीकरण गर्ने नीनि नबनाएसम्म समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न नसकिने बताए । वैज्ञानिक भूमिसुधार लगायत नीति तथा कार्यक्रममा ल्याएका विषय यस दिशामा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.