काँग्रेस कसरी राप्रपा बन्दै छ ?

रिपोर्ट नेपाल | 2019 Apr 09 | 05:06 pm 5138

  • कृष्ण प्रसाद सापकोटा

एक वर्ष अघि प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सकिए लगत्तै समीक्षक तथा विश्लेषकहरूले प्रश्न राखेका थिए–‘ नेपाली काँग्रेस राप्रपाकै हविगतमा त जाँदै छैन ? ’ यो प्रश्न गरिनुका २ कारण थिए । पहिलो कारण थियो– प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ प्राप्त गरेको सिट सङ्ख्या ।

२०५१ सालको मध्यावधि निर्वाचनमा चार वर्ष मात्रै इतिहास बोकेको राप्रपाले ९ प्रतिशत सिट जितेको थियो । यस पटकको निर्वाचनमा ७० वर्षको इतिहास बोकेको पार्टी नेपाली काँग्रेसले पनि प्रदेशसभा तर्फ ( प्रत्यक्ष) करिब ९ प्रतिशतको हाराहारीमा सिट जित्यो भने प्रतिनिधिसभातर्फ (प्रत्यक्ष) १३ प्रतिशतको हाराहारीमा सिट जित्यो ।

कुनै पनि जीवन्त पार्टीका लागि एउटा चुनावको जित र हारले तात्त्विक असर पार्दैन । तर राप्रपा २०५१ साल देखि निरन्तर ओरालो लाग्दै गयो । यतिबेलासम्म त राष्ट्रिय मान्यता समेत पाउन नसक्ने गरी राप्रपा थला परेको छ । अस्तिका मधेसीदलहरुले मात्रै होइनन् हिजोको विवेकशील साझा पार्टीले समेत राप्रपालाई धेरै पछि पारिसकेको छ ।

राप्रपाको जनमत तथा सिट निरन्तर ओरालो लाग्दै जानुको मुख्य कारण हो–‘ पुराना नेताहरूले पार्टीको नेतृत्व तह ओगटिराख्नु र नयाँ पुस्ताको प्रवाह पार्टी सङ्गठनमा नहुनु ।’ केन्द्रीय समितिका रहनका लागि मन्त्री बनिसकेको हुनै पर्ने अघोषित सिन्डिकेट राप्रपामा लागु गरियो । जसका कारण नयाँ पुस्ताले ठाउँ पाएन । मन्त्री तथा सांसद बनेकाहरू दिवङ्गत हुँदै गए , नयाँ प्रवाह नहुँदा पार्टी रित्तिँदै गयो ।

उदाहरणका लागि पद्मसुन्दर लावतीको निधनसँगै पाँचथरबाट राप्रपा सकियो । रामकृष्ण आचार्यको निधनसँगै रसुवाबाट राप्रपा सकियो । राजेश्वर देवकोटाको निधनसँगै गोरखाबाट सकियो । रविन्द्रनाथ शर्माको निधनसँगै नवलपरासीबाट सकियो । भगवानदास गुप्ताको निधनसँगै कपिलवस्तुबाट सकियो । जोगमेयर श्रेष्ठको निधनसँगै काठमाडौँबाट सकियो । नारायणदत्त भट्टको निधनसँगै डोटीबाट सकियो ।

यतिबेला कमल थापाले मकवानपुर , पशुपति शमशेर राणाले सिन्धुपाल्चोक , डा. प्रकाशचन्द्र लोहनीले नुवाकोट , लोकेन्द्रबहादुर चन्दले बैतडी बुद्धिमान तामाङले धादिङ, दीपक बोहोराले रुपन्देही , विक्रम पाण्डेले चितवन , धवलशमशेर राणाले बाँके , राजेन्द्र लिङ्लेनले झापा धानेका छन् । उनीहरूको शेष पछि यी जिल्लाहरूबाट पनि राप्रपा सकिने अनुमान धेरैले गरेका छन् ।

यतिबेला राप्रपाको जस्तै बुढो गोरुले गाई ओगट्ने चरित्रबाट नेपाली काँग्रेस गुज्रिरहेको छ । २०४८ साल देखि नै नेतृत्व तहमा सधैँ एउटै तप्का हाबी छ । त्यही तप्काले नै सधैँ केन्द्रीय समितिमा चुनाव जितिरहनेगरी विधानमै प्रावधान राखिएको छ । २०४८ सालमा उनीहरू ४० देखि ५० वर्ष उमेरका थिए । काम गर्ने जोस जाँगर थियो , ऊर्जा पनि थियो ।

पञ्चहरूको सधैँ एउटै अनुहार देखेर वाक्क दिक्क भएका जनताले नयाँ अनुहार खोजेका थिए । त्यसको फाइदा नेपाली काँग्रेसका नेताहरूले भरपुर उठाए । अहिले ती नेताहरू ६५ वर्षदेखि ८० वर्ष पुगिसकेका छन् । आगामी आमनिर्वाचनमा ७० देखि ८५ वर्ष पुग्नेछन् । एकातिर मुलुकमा ४० वर्ष मुनिको उमेर भएको जनसङ्ख्या कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा माथि छ । अर्कोतर्फ नेपाली काँग्रेसको केन्द्रीय सङ्गठन ७० देखि ८५ वर्ष उमेर समूहकाले ओगट्दै छन् । अनि नेपाली कांग्रसको हालत राप्रपाको जस्तो नभए के हुन्छ ?

पार्टी राप्रपाको हालतमा पुगिरहँदा पनि चिन्ता गर्ने कार्यकर्ताको सङ्ख्या नेपाली काँग्रेसमा अत्यन्त कम छ । बुढा नेताहरूसँग पैसा माग्ने र त्यही पैसाले उनीहरूको जयजयगान गर्ने कार्यकर्ताको बाहुल्यता रहेको नेपाली काँग्रेसमा बुढो गोरुले गाई ओगट्ने नियति जारी रहने सम्भावना देखिन्छ । यो सम्भावनालाई न्युनिकरण गर्ने जमर्को पार्टी जिल्ला सभापतिहरूले गरे ।

उनीहरुले गत पुसमा बसेको महासमितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिबशेसन प्रतिनिधि हुने विधानको प्रावधान खारेज गर्न प्रस्ताव गरे । जिल्लासभापतिहरुको यो प्रस्तावलाई महासमितिको बैठकले सर्वसम्मत पारित गर्‍याे । तर महासमितिको निर्णय अभिलेखिकरण गर्न बसेको केन्द्रीय समितिमा सभापति देउवाले चलखेल गरे । महासमितिको उक्त निर्णय विधानमा उल्लेख गरिएन ।

केही केन्द्रीय सदस्यले नोटआफ् डिसेन्ट लेखे । तर त्यो नोटआफ् डिसेन्टलाई पनि सभापति देउवाले धोती लगाइदिए । केन्द्रीय समितिमा रहनेहरू पनि महाधिवेशन प्रतिनिधि बन्नका लागि अन्य सर्वसाधारण कार्यकर्ता सरह वडा तहबाटै चुनाव लड्नु पर्ने प्रावधान राखिएको भए बुढाहरू बिदा हुँदै जाने र पार्टी नेतृत्वमा नयाँ पुस्ताको प्रवाह हुँदै जाने थियो । तर जिल्ला सभापतिहरूको यो प्रयत्नलाई ब्रेक लगाइयो ।

पुरानो पानी रहिरहने र नयाँ पानीको आपूर्ति नहुने पोखरी आफैँ दुर्गन्धित हुन्छ । त्यस्तो पोखरीमा नुहाउन त परै जाओस् कसैले पनि खुट्टा चोपल्ने हिम्मत राख्दैन । नेपाली काँग्रेस पनि दुर्गन्धित पोखरी बन्ने लक्षणबाट गुज्रिरहेको छ । विश्वमा कुनै पन लोकतान्त्रिक पार्टी छैनन् जुन पार्टीको केन्द्रीय नेतृत्वमा लगातार ३० वर्षदेखि एउटै पुस्ताका एउटै व्याक्तिहरुले निरन्तर पद ओगटिरहेका होउन् ।

२० वर्ष भन्दा बढी केन्द्रीय सदस्य बन्न नपाउने र ७५ वर्षको उमेरहद लगाउने व्यवस्था विधानमा राख्नु पर्ने माग महासमिति बैठक अघि विधान संशोधन मस्यौदा प्रस्ताव तयार गर्ने बेला उठेको पनि हो । यो प्रावधानका बारे धेरै जसो केन्द्रीय नेताहरू सकारात्मक पनि थिए । तर लोकतान्त्रिक पार्टीमा अवधिको हद तथा उमेरहद लगाउनु भनेको सिन्डिकेट जस्तै हो भन्ने तर्क सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाए । यो तर्क एकहदसम्म जायज नै थियो ।

उमेरवाद बन्नबाट कसैलाई रोक्नु हुन्न , पार्टी भित्र सिन्डिकेट लगाउनु हुन्न भन्ने तर्क नाजायज होइन । केन्द्रीय पदाधिकारी तथा नेताहरू स्वतः महाधिवेशन प्रतिनिधित्व बन्ने प्रावधान खारेज गर्ने हो भने अवधि हद तथा उमेरहद लगाइरहनु पर्दैन, स्वतः पुरानो पात झदै नयाँ पात पलाउँछ भन्ने तर्क उठ्यो । यो अत्यन्त जायज तर्क थियो । किनकि पार्टीको एउटा पंक्ति स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने र अर्को पंक्तिले वडा , र निर्वाचन क्षेत्रमा चुनावको फेस गर्नुपर्ने प्रावधान भनेको सिन्डिकेट हो । तर नेपाली काँग्रेसमा यो सिण्डिकेटलाई निरन्तरता दिइयो । जुन सिण्डिकेटका कारण नेपाली काँग्रेसमा नयाँ पुस्ताको प्रवाह अवरुद्ध हुने देखियो ।

विधान छपाइको काम बाँकी नै भएकोले सुधारका लागि अझै मौका थियो । जिल्ला सभापतिहरूले यही चैत २० र २१ गते राजधानी काठमाडौँमा भेला गरेर त्यो प्रयत्न गरेका पनि हुन् । तर त्यो प्रयत्न प्रति सभापति देउवा धेरै नै असहिष्णु बनेर प्रस्तुत भए । उनी पार्टी सभापति पदको गरिमालाई समेत बिर्सेर सार्वजनिक रूपमै गाली गलौजमा उत्रे । उनले भने–‘ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान खारेज गर्ने प्रस्ताव महासिमीतकै बैठकमा आएकै थिएन , २१–२२ जना जिल्ला सभापतिहरू कुर्लिँदैमा हुन्छ ? तागत भए विशेष महाधिवेशन गरेर देखाऊ ।’

देउवाले विशेष महाधिबेन गरेर देखाउन चुनौती दिनुको अर्थ गम्भीर छ । आँफुसँग असहमत पक्ष पार्टीबाट बाहिरियो भने मात्रै बाँचुन्जेल आफू र त्यस पछि श्रीमती तथा छोरामा नेतृत्व हस्तान्तरण सहज हुन्छ भन्ने देउवाले बुझेका छन् । इतर पक्षबाट विशेष महाधिवेशन बोलाइनुको अर्थ हो पार्टी फुट्नु । जुन कुरा देउवा चाहन्छन् । पार्टी फुटेन भने आगामी महाधिवेशन पछि सभापति बन्न सजिलो छैन भन्ने कुरा देउवाले बुझेका छन् । जसरी हिजो गिरिजाप्रसाद कोइरालाले छोरीका लागि पार्टी फुट्ने वातावरण बनाएका थिए त्यसै गरी देउवाले आज श्रीमतीका लागि पार्टी फुट्ने वातावरण तयार गर्दै गरेका हुन् कि ? भन्ने तर्क काँग्रेसका विश्लेषकहरूको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.