महिलाहरू के चाहन्छन् ?

रिपोर्ट नेपाल | 2019 Mar 10 | 07:17 am 1892

  • बबिता बस्नेत

एकादेशका एक राजालाई मृत्युको मुखमा पुगेको बेला एउटा प्रश्न गरिएछ– ‘महिलाहरू के चाहन्छन् ? जवाफ दिन सक्यौ भने तिमी बाँच्ने छौ ।’

धेरै पत्नी साथमा भए पनि राजालाई जवाफ दिन गाह्रो भएछ र केही समय मागेछन् । यमराजले उनलाई एक वर्षको समय दिएछन् ।

फर्किएर उनले आफ्ना पत्नीहरूलाई सोधे, फरक–फरक जवाफ पाए ।

आफन्त, नातेदार, साथीहरू, कर्मचारी, सेना एवम् वरिपरि जो–जो थिए ती सबैलाई सोध्दा पनि एउटा निश्चित जवाफ नपाएपछि मृत्युको समय नजिक आएर हतास भएका राजालाई कसैले भनेछन्– ‘उ त्यो पल्लो गाउँको एकान्त झुपडीमा एक वृद्ध महिला बस्छिन्, उनलाई धेरै कुरा थाहा हुन्छ, यसको जवाफ पनि सायद उनैले दिन सक्छिन् ।’

राजा आफ्ना छोराका साथ झुपडीमा पुग्दा हेर्दै डरलाग्दी, दाँत बाहिर निस्किएकी, कपाल ठाडो भएकी, समग्रमा भूतको इमेजकी महिलालाई देखेर डराउँदै जम्ला हात जोडेछन् ।

राजालाई देखेर उनले ‘मलाई थाहा छ, तिमी यहाँ किन आएका हौ’ भन्दै जवाफका लागि राजाका छोरा राजकुमारसँग आफ्नो विवाह गरिदिनु पर्ने शर्त राखिछन् ।

राजालाई फसाद पऱ्यो, त्यस्ती महिलासँग आफ्नो राजकुमारको विवाह कसरी गरिदिने ? तर, सँगै गएका छोराले बाबुको जिन्दगीका लागि महिलाको त्यो शर्त मञ्जुर गरेछन् ।

हेर्दै डरलाग्दी ती वृद्ध महिलालाई राजदुलहीका रुपमा घुम्टोले मुहार छोपेर भित्र्याइयो । कोठामा उनलाई छोडेर बाहिर निस्किएका राजकुमार राती फर्किंदा उमेरले भर्खरकी, राम्री, दुलहीको श्रृङ्गारमा सजिएकी राजकुमारी छवीकी युवतीलाई ओछ्यानमा देखेर छक्क परे र सोधे– ‘तपाईं त्यस्ती हुनुहुन्थ्यो, अहिले यस्ती कसरी हुनु’भो ?’

उनले भनिन्– ‘म दिन या रात दुईमध्ये एकमा यो रुपमा रहन सक्छु, तपाईं म दिउँसो यस्ती हुँ भन्ने चाहनुहुन्छ कि राती ? तपाईं जे चाहनुहुन्छ, त्यही हुन्छ ।’

राजकुमार रोज्न सक्ने अवस्थामा थिएनन् । दिउँसो भनुँ आफूले भुतको इमेजकी महिलासँग रात बिताउनुपर्ने, राती भनुँ त राजकुमारीका रुपमा संसारलाई चिनाउनु पर्ने । जवाफमा राजकुमारले भने–‘शरीर तिम्रो हो, चाहना पनि तिम्रै हुनुपर्छ, तिमीलाई जे इच्छा र सही लाग्छ त्यही गर । तिम्रो निर्णय मलाई स्वीकार्य छ ।’

त्यसपछि ती महिला ओछ्यानबाट उठेर राजकुमारको हात समाउँदै भनिछन्– ‘नराम्रो हुने या गर्ने रहर कसलाई हुन्छ र ? म दिन र रात दुवै समय यही रुपमा तिमीसँग हुनेछु । म कतिबेला के बन्ने, कस्तो बन्ने, मैले के गर्ने, के नगर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार दिएर तिमीले मेरो स्वतन्त्र अस्तित्व र आत्मसम्मानको रक्षा गऱ्यौ, म के चाहन्छु भनी मेरो रोजाईको सम्मान गऱ्यौ । राजकुमार ! बुवा महाराजलाई भनिदेउ, महिलाहरू यही चाहन्छन् ।’

(बस्‍नेत घटना र विचारकी सम्पादक हुन्।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.