सिपाहीले नाम बिर्सदा बीपीले साबुनको खोलमा पठाए नेहरुलाई चिठी

| 2019 Mar 09 | 07:45 am 2806

बाहिरी दुनियासँगको सम्पर्क त कल्पनाभन्दा परको कुरा थियो । बीपीले थुनामा परेको कैयौं दिनसम्म मानिसले बालेको समेत सुन्न पाएनन् । थुनिएको कोठालाई नै शौचालयको रुपमा प्रयोग गर्न बाध्य बनाइएको थियो । दुर्गन्धका कारण चुलो बनाउन प्रयोग गरिने इँटाले दिसा बगाउने प्वाँल थुन्नुपथ्र्यो । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा चार वर्ष थुनामा परेको बीपी विराटनगर जुटमिल्स आन्दोलनका क्रममा केही महिना राणाको बन्दी भएका थिए ।

तर कुनै कैदीमाथि त्यो हदसम्मको अमानवीय व्यवहार गरिन्छ भन्ने कल्पनासम्म थिएन उनलाई । एकान्तमा त्यसरी बस्नुपर्दा मानसिक असर पर्नसक्छ भन्ने कुरामा सचेत थिए । थुनिएकै दिनदेखि चिसो भित्तामा नङले चिह्न लगाउन थाले । कति दिन थुनामा बसे भन्ने थाहा होस् भनेर । तर एकडेढ महिनापछि त्यो काम पनि रोकियो ।

बीपीलाई थुनिएको कालकोठरी चारैतिरबाट बन्द थियो । त्यहाँ एउटा सानो प्वाल थियो । बन्दीलाई दैनिक तीन पाउ चामल, एक पैसा, तीन ओटा खोर्सानी, अलिकति नुन र दाउरा त्यहीँ प्वालबाट छिराइदिन्थे । सुरुको दिन बीपीलाई जेलमा राख्न ल्याउँदा उनीसँग आधा घण्टा बसेपछि जेलरले भनेका थिए, “बढी भएको चामल अलिकति बेचेर उनले तरकारी किन्न सक्नेछन् ।”

छ महिना त्यहाँ बन्दी हुँदा कसैसँग दोहोरो कुरा गर्नु त कता हो कता, मान्छेको छायासमेत देख्न पाएनन् । एक दिन अचानक बीपीको कानमा कसैले कामुक गीत गाएको आवाज गुन्जियो । त्यो मान्छेलाई उनले बोलाए । जेलको चौकिदार सिपाही रहेछ ।  श्रीमतीले बुनेको रुमाल धारामा धुँदै थियो ऊ । उसको प्रशंसा गर्दै बीपीले सोधे ।

बीपीः तिम्रो तलब कति छ ?

सिपाहीः मासिक ३० रुपैयां ।

बीपीः त्यति कम प्रसा पाउँदा रहेछौ । भारतीय सेनामा भर्तीहुन लाहोर किन नगएको ? त्यहाँ काम गरेको भए बढी पैसा पाउँथ्यौ ।

सिपाहीः एकपटक भागेर भिमफेदीसम्म गएको हो, समाएर फर्काइहाले । फेरि भारतमा आफूले चिनेको मानिस पनि छैनन् ।

बीपीः ठीक छ । बाहिर भएका मेरा साथीहरसँग सम्पर्क गर्न पाएँ भने तिमीलाई सहयोग गरौँला नि । मेरा साथी छन् त्यहाँ ।

सिपाहिः भन्नुस् न, कसलाई सम्पर्क गर्न खोज्नुभएको ?

बीपीः पूर्णबहादुर भन्ने मास्टर छन् । भेडासिंङतिर बस्छन् ।

लामा थरका ती सिपाही सहयोग गर्न तयार भए । बीपीले उनलाई भनेका थिए, “पूर्णबहादुर भेट्नु, उनले कागज र एउटा कलम दिनेछन्, लिएर आउनु ।” ऊ जान्थ्यो । तर पूर्णबहादुर नाम भुलेर फर्कन्थ्यो । कैयौं पटक गयो । तर कहिले रामबहादुर त कहिले के बहादुर ! पूर्ण नाम उसले सम्झिनै सकेन ।

बरु छिमेकीको घरबाट उडेर आएको एउटा साबुनको खोल र ठुटे सिसाकलम कोठामा छिराइदियो । त्यही साबुनको खोलमा बीपीले जवाहरलाल नेहरुलाई पत्र लेखे । चिठी पूर्णबहादुर मार्फत पठाउनुपर्ने थियो । जति गर्दा पनि उनको नाम सम्झन सिपाहीले सकिरहेको थिएन । चिठी दिएपछि ठट्टा गर्दै बीपीले भने, “हेर पु हुन्छ पु त्यो सम्झ महिलाको गुप्ताङ्गको पहिलो अक्षर । उनलाई यो चिठी दिनू । मैले पठाएको भनेपछि पूर्णबहादुरले तिमिलाई पाँच रुपैयां दिनेछन् ।”

त्यसपछि मात्र उसले पूर्णबहादुरलाई भेट्यो चिठी दियो । पूर्णबहादुरले जुत्ताको तलुवाभित्र सिलाएर त्यो चिठी कृष्णप्रसाद भट्टराईसम्म पुर्याए । भट्टराई र बालचन्द्र शर्माले नेहरुसम्म । चिठी पढेर नेहरु रोएको थिए । पत्रमा बीपीले लेखेका थिए, “सुरुको एक महिनासम्म चौबीसै घण्टा नेल र हतकडी लगाई साङ्लोले बाँधेर राखिएको थियो । अहिले हतकडी र साङ्लो हटाएका छन् । तर गहु्रँगो नेल भने छदँै छ । म जेलको सामान्य रासन पाउँछु ।”

नेहरुकहाँ पत्र पुगेपछि उनलाई राणाहरुले अमानवीय रुपमा राखेको खबर भारतीय पत्रपत्रिकामा प्रकाशित हुन थाल्यो । त्यही मौकामा बीपीले आफ्ना माग पूरा गराउन अनशन बस्ने तयारी गरे । आफूसँगै त्यही जेलमा रहेका कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसाद भट्टराईसँग सल्लाह गरे । कर्मकाण्डी ब्राह्मण भएकाले सबै शुभकाम थाल्ने दिनबारे उनलाई ज्ञान थियो ।

भट्टराईकै सल्लाहमा अनशन सुरु गर्ने मिति तय भयो । बीपीेले भनेका छन्,“अक्षयतुतीया(२००६ जेठ १९ गते) अत्यन्त शुभदिन भएको र त्यस दिन जे काम गरेपनि म सफल हुने कुरा उहाँले बताउनुभयो । अनि मैले त्यस दिनदेखि भोकहडताल गर्ने निर्णय गरे ।” अनशन सुरु गर्ने जानकारी जेल प्रशासनलाई पहिल्यै पठाइदिए । अक्षयतृतीयाकै दिनदेखि खाना खान छोडिदिए । बीपीका साथै अरु राजबन्दीहरु पनि अनशन बसे । हरेक दिन खाना आउँथ्यो, फिर्ता गरिदिन्थे । आठ दिनसम्म खाना ल्याउने र फिर्ता गर्ने क्रम चलिरह्यो ।

कालकोठरीभित्र कसैसँग बोल्ने छुट थिएन । राणा सरकारले राजद्रोहको अभियोगमा थुनामा राखेका बन्दीसँग बोल्ने हिम्मत कोसँग हुने ? दसौं दिनमा उनलाई पखला सुरु भयो । पातलो दिसामा रगत बग्न थालेको थियो, त्यो पनि दिनमा २० पटकसम्म । बन्दी अवस्थामा रहेका बाहुनको मृत्यु भइहाल्छ कि भनेर महाराज मोहन शमशेरको आदेशमा डाक्टर सिद्धिमणि आचार्य दीक्षितलाई बीपीको जाँचका लागि जेलमा पुर्याइयो । रोग निको पार्न औषधि खानुपर्छ भनेर डाक्टरले जति सम्झाए पनि उनले मानेनन् ।

बाहुनको छोरा जेलमै मरे पापलाग्छ भनेर बीपीलाई सम्झाउन महाराज मोहन उनका आफन्तको खोजी गर्न थाले । नाताले बीपीका भिनाजु राममणि आचार्य दीक्षितलाई एक दिन दरबारबाट बोलावट आयो । सरदार राममणि सिंहदरबार हाजिर भए । उनलाई देख्नेबित्तिकै महाराजले भने, “ए राममणि ! तिम्रि बाहुनी कोइरालाकी छोरी होइनन् ? हेर, बीपीले नचाहिँदो हठ गरेर क्ही दिनदेखि केही पनि खाएको छैनन् ।

बाहुनका छोरा मर्लान भन्ने पिर भरेको छ । एक पटक तिमिले तिनलाई सम्झाउन दुलहीलाई पठाइदेऊ ।” राममणिका छोरा केशवमणिले भनेका छन्, “पिताजीले तुरुन्तै बिन्ती चढाउनुभएछ, सरकार, हामी सरकारको सेवामा लागेका, बीपीहरु सरकारविरुद्ध संघर्ष गर्ने । हाम्रो नातासम्बन्ध भए तापनि मेरी पत्नीले गरेर केही हुँदैन जस्तो लाग्छ ।”

बीपी सिकिस्त भइसक्दा समेत परिवारलाई त्यसबारे थाहा थिएन । मजदुर आन्दोलनका क्रममा पक्राउ परेका तारिणी र गिरिजा थुनामै थिए । छुटेर उपचारका लागि भारत गएका बीपी फेरि राणाको जेलमा छन् भन्ने उनीहरुलाई थाहै थिएन । गिरिजाले लेखकसँग भनेका छन्, “डाक्टर सिद्धिमणिले आर्मीका मानिसको साथ हामीलाई दिनु भनेर एक सिसी औषधि पठाएका थिए । हामीले त मगाएको थिएनौं । किन पठाएको भनेर छक्क पर्यौं ।” त्यसमा लेखिएको थियो, “बीपी तबेला घरमा हुनुहुन्छ ।

डाक्टरले पठाएको सूचनामा विश्वासै भएन । उपचारका लागि छुटेर भारत गएका सान्दाई कसरी फेरि काठमाडौंमा बन्दी हुनुहोला र ? उनीहरु एक आपसमा कुरा गर्न थाले । केही दिनपछि रातिको समयमा गिरिजा र तारिणी थुनामा रहेको जावलाखेलस्थित बङ्गलामा प्रहरी अधिकारी आएर भने, “महाराजबाट बोलावट भएको छ ।” दुबैले आश्चर्य मान्दै सोधे, “ककसलाई बोलाएको छ हँ ? ती अधिकारीले भने, दुबैलाई ।

डा सिद्धिमणिले बीपीको अवस्था कएदमै खराब छ, औषधि खान मानेनन् भने कुनै पनि बेला मर्न सक्छन् भन्ने रिपोर्ट महाराजलाई दिएका रहेछन् । त्यसपछि मात्र दाजुलाई सम्झाउन भनेर तारिणी र गिरिजालाई बोलाइएको रहेछ ।

प्रहरी भ्यानमा सिंहदरबार भित्र लगेर राति नै उनीहरुलाई मोहन शम्शेरसामु हाजिर गराइयो । साथमा रहेका प्रहरी अधिकारी भुइँमा बिछ्याएको कार्पेटमा थचक्क बसे । तारिणी र गिरिजालाई पनि बस्न इसारा गरे । दुबैले बस्न मानेनन्, उभिरहे । अनि छोराहरुका साथ रहेका श्री ३ मोहन आफैंले भने, “ए यिनीहरु बस्दैनन्, कुर्सी ल्याइदेऊ । दुई ओटा टिनका कुर्सी राखेपछि मात्र बसे ।  (बीपीकाे  विद्रोह जगत नेपालद्वारा लिखित )    

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.