कांग्रेसद्वारा सुनुवाई समितिको बैठक बहिस्कार

| 2019 Feb 03 | 02:42 pm 1094

काठमाडौं, माघ २० :  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।

आइतबार बसेको बैठकमा माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई समितिको बैठक बहिस्कार गरेका हुन् । संवैधानिक परिषद्ले यस अगाडि पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।

समितिका चार सदस्यले समिति सभापति लक्ष्मणलाल कर्णलाई लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्र नारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले संयुक्त रूपमा असहमति पत्र पेश गर्दै गैर कानूनी निर्णयमा सहभागी नहुने जनाएका हुन् ।

संवैधानिक परिषद्को सदस्यमा प्रमुख प्रतिपक्ष दलका नेता रहने व्यवस्था रहेको छ । यद्यपि कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेतालाई विधिवत सूचना नदिई, प्रतिपक्षलाई बेवास्ता गरी एकलौटी संविधान, ऐन कानुन प्रक्रिया र पद्धतिको ठाडै उलङ्घन गरेको आरोप लगाएको छ । कांग्रेसले संवैधानिक राजनीतिक र नैतिक मूल्य मान्यता विपरित संवैधानिक परिषदबाट सिफारिस आयोगका अध्यक्षहरु गैह्र कानुनी भएकाले असहमति रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.