विदेशी हतियारसहित एकजना सशस्त्र प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Jan 29 | 07:11 pm 2349

रौतहट, माघ १५ :  रौतहटको सिमावर्ती क्षेत्र इशनाथ नगरपालिका–१ बनजरहा घाट लालबकैया किनारबाट सशस्त्र प्रहरीले एकथान विदेशी हतियार र एकथान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलिया घर भएका ४७ वर्षीय नकुल पटेल रहेको सशस्त्र प्रहरीले जनाएको छ । पटेलको साथबाट ‘मेड इन इटालियन’ लेखिएको ९ एमएम पेस्तोल जस्तो हतियार १ थान, कटुवा पेस्तोल १ थान, १.८ एमएमको गोली ५ राउण्ड, सामसुङ कम्पनीको मोबाइल एक थान बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कृष्ण ढकालले बताए ।

सशस्त्र प्रहरी बल मुल्यालय महोतरी–२ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलवार बिहान १० बजे बनजरहाघाट लालबकैया नदी किनारमा शंका लागेर अभियुक्त पटेलले बोकेको झोला चेकजाँच गर्दा झोलामा धानभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार बरामद भएको एसपी ढकालले बताए ।

बरामद हतियारसहित पटेललाई आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल आउट पोष्ट औरैयामार्फत जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.