सिमरा, माघ १३ : बाराका प्रमुख जिल्ला अधिकारीसहित अन्य सुरक्षा अधिकारी चढेको स्कोर्पियो जीप शनिबार साँझ दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको घटनास्थलमै ज्यान गुमेको छ। सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत एसपी पोखरेलको ज्यान गुमेको हो।
दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल पनि घाइते छन्।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित सहिद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटनामा परेको थियो। बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको स्कोर्पियो जिप सडकमा रोकेको ट्याक्टरको टेलरसँग ठोक्किँदा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।
दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव स्थानीय अल्पाइन अस्पतालमा राखिएको छ।