‘एमालेको चौतारी’ र ‘माओवादी केन्द्रको सेन्टर’बीच एकता प्रक्रिया शुरु

| 2018 Jun 10 | 05:01 pm 5028

हालै पार्टी एकीकरण गरेका एमाले र माओवादी केन्द्रसम्बद्ध प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठक बसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिएका छन् ।

सो बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन गर्ने निर्णय गरेको छ । समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ ।

यसैगरी, एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिन दुबै संगठनको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेस चौतारीमा महासचिव राईले जानकारी दिए ।

बैठकमा प्रेस चौतारी इन्चार्ज तथा तत्कालीन नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस सेन्टरका इन्चार्ज तथा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर पाठकको सहभागिता रहेको राससले जनाएको छ ।

ज्ञातव्य छ, नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र सबै भातृ संगठनको एकताप्रक्रिया टुंग्याउने निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.