आन्दोलन कमजोर पार्न मेरो चरित्र हत्या भयो : शारदा चन्द

रिपोर्ट नेपाल | 2018 Dec 20 | 11:41 am 3465

काठमाडौं, पुस ५ : महिला अधिकारकर्मी तथा समाजसेवी शारदा चन्दले निर्मलाको न्यायका लागि भइरहेको आन्दोलन तुहाउन आफ्नो चरित्र हत्या गरेको बताएकी छन्। कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको दिनदेखि नै न्यायको लागि लड्दै आइरहेकी चन्दलार्इ विभिन्‍न आरोप लगाएर समाचार तथा सूचनाको प्रकाशन तथा प्रचार गरेकोप्रति उनले आपत्ति प्रकट गरकी छन्।

बिहीबार सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आन्दोलनलाई कमजोर पार्न र निर्मलाको हत्या प्रकरणलाई ओझेलमा पार्ने षड्यन्त्र स्वरुप आफ्नो चरित्र हत्या भएको उल्लेख गरेकी छन्। उनले यस्ता भ्रमात्मक सूचनाको पछि नलाग्‍न समेत उनले आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘सम्पूर्ण देशबासी शुभचिन्त्रक आदरणिय मित्रज्यूहरू समाज र सरकारका केही गलत पृविति भएका व्यक्तिहरूले मेरो निजि जिवन र सामाजिक प्रतिष्ठामाथि भ्रम फैलाउने दुष्प्रयास गरेकोले सो भ्रममा नपर्न सम्पूर्ण न्यायप्रेमी जनतासँग अपिल गर्दछु।’

उनले अन्याय र अत्याचारको विरुद्ध लड्न थालेको २४ वर्ष भएको उल्लेख गर्दै आफूले यस आन्दोलनमा कुनै किसिमको अराजक बनाउने, विदेशीको डलर खाने काम नगरेको प्रस्ट पार्दै त्यसो भेटिएमा जस्तोसुकै कारबाही भोग्‍न पनि तयार भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘मैले निर्मला घटनामा कुनै सरोकार निकाय वा नेताहरूसँग आन्दोलन कमजोर बनाउने प्रमाण नस्ट गर्ने हत्यारा लुकाउने हिन्सात्मक आन्दोलन अराजक आन्दोलन गराउने वा गर्ने प्रमाण भए वा कुनै सरकारी निकाय तथा विदेशी संस्थाबाट आर्थिक डलर खाएको प्रमाण पाए वा भेटाए मलाइ जनताले कालो मुसो जुत्ताको माला लगाई कानुन बमोजिम कारबाही गरोस म भोग्‍न तयार छु। तर मलाई र जनतालाई प्रमाण चाहियो।’

आफूलाई बदनाम गराउने काम नगर्नसमेत आग्रह गरेकी छन्। ‘मलाई बदनाम गराउन काम भइरहेको छ। मेरो आत्मा रोएको छ?’, उनले लेखेकी छन्। उनले थपेकी छन्, ‘मैले महिला अधिकार न्याय र समाजसेवाको कामका लागि विभिन्‍न परिवेश र अवस्थामा विभिन्‍न नेता तथा प्रहरी प्रशासनसँग पटक-पटक फोन सम्पर्कमा रहने र भेटघाट तथा कुरा गर्नुपर्थ्यो। त्यो हिजो पनि गरे, आज पनि गरिरहेकी छु र भोलीका दिनमा गर्नेछु । तर केही सिमित नेताको नाम जोडेर मलाई बद्‍नाम गर्ने र आन्दोलन तुहाउने काम भइरहेको छ। यसमा मेरो गम्भीर आपत्ति छ।

यसरी चरित्र हत्या गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.