देशका राजदूत कि नेताका दूत ?

| 2018 Dec 12 | 08:21 am 1708

– बबिता बस्नेत

मूलतः एउटा राष्ट्रले अर्को राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम राख्न र विस्तार गर्नका लागि राजदूतहरूको नियुक्ति गरिन्छ । विदेशमा देशको प्रतिनिधित्व गर्ने राजदूतहरूले राष्ट्रलाई साथमा बोकेर हिँड्छन् भन्ने मान्यता राखिन्छ । राजदूतहरूको बोली, व्यवहार, पोसाक, संस्कृतिलगायतका कुरामा देश झल्कनुपर्ने हुन्छ । देशलाई प्रतिनिधित्व गर्ने हुँदा अन्य पेसा, व्यवसायी र सर्वसाधारण नागरिकभन्दा राजदूतको काम, कर्तव्य र मुलुकप्रतिको दायित्व बढी हुने नै भयो । तर, हाम्रो देशलाई प्रतिनिधित्व गरेर जाने कतिपय राजदूतले मुलुकको हितका लागि काम गर्नु त कता हो कता सामान्य कूटनीति पनि पूरा नगरेका अनेक उदाहरणहरू छन् । राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई राजदूतको पगरी पहिराएर विभिन्न देशमा पठाइदिँदा मुलुकले नसोचेका परिणामहरू भोग्नु परिरहेको छ ।

सामान्यतया राजदूतलाई कार्यकाल पूरा नभईकन फिर्ता बोलाइँदैन । सरकार परिवर्तन भएपछि कतिपय अवस्थामा आफ्नो नीति तथा कार्यक्रम र अवधारणाअनुरूप राज्यका दूतहरू चल्नुपर्ने तर्कसहित कुनै मुलुकमा रहेका राजदूतलाई फिर्ता बोलाएर आफूले चुनेका मानिस पठाउने चलन पनि छ । राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत परराष्ट्र नीति चल्नुपर्ने भएकाले धेरैजसो मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री जो आओस् या जसको सरकार बनोस् त्यसले त्यति धेरै फरक पार्दैन । त्यसैले त ओबामा राष्ट्रपति भएका बेला नियुक्त अमेरिकी राजदूतले डोनाल्ड ट्रम आउनासाथ फर्किनुपरेन । तर, हामीकहाँ सोच र सन्दर्भ दुवै फरक छ । मुलुकको राष्ट्रिय सुरक्षा, परराष्ट्र मामिलाजस्ता कुरामा समेत हामी विभाजित छौँ ।

विकसित धेरैजसो मुलुकमा परराष्ट्रमन्त्री फेरिएपिच्छे परराष्ट्र नीति फेरिँदैन, फेरिने कुरा पनि होइन । परराष्ट्र नीति कुनै दलविशेषको नभई राष्ट्रको छवि र सम्मानसँग जोडिने हुँदा यसमा खासै विवाद पनि गरिँदैन । राष्ट्रको प्रतिनिधित्व गर्दै दूतहरू पठाउँदा सोहीअनुरूप स्वतन्त्र छवि भएका, देश बुझेका मानिसहरू पठाउने गरिन्छ । हामीकहाँ मन्त्री, प्रधानमन्त्रीसँग को नजिक छन्, नेतासँग कसको सम्बन्ध राम्रो छ त्यस्ता मानिसहरूलाई प्राथमिकतामा राख्ने गरिन्छ । नेताको अघि–पछि देखापरिरहने पार्टीका कार्यकर्ता मात्र नभएर पछिल्लो समयमा कसले धेरै पैसा दिन सक्छ भन्ने कुरालाई पनि राजदूतको योग्यताभित्र पार्ने गरिएको छ ।

हामीकहाँ राजदूतका नाममा नेताका दूतहरूलाई दुई–चार वर्ष भए पनि मोजमस्ती गरुन् भन्ने मानसिकताले नियुक्त गर्ने गरिएको छ । त्यसरी नियुक्ति पाएकाहरूले राज्यको हितमा काम गर्नेभन्दा पनि राजदूतहरूले सम्बन्धित मुलुकमा नेता पुग्दा उनीहरूको खातिरदारीलाई नै प्रमुख काम–कर्तव्य बनाउँदै आएका छन् ।

यिनै योग्यताहरूबीच बढी नै चलखेल भएर विवाद सार्वजनिक भएपछि यसअघिको सरकारका पालामा सिफारिस गरिएकी एक महिलाको नाम फिर्ता लिनुपर्ने अवस्था पनि आएको थियो । हामीकहाँ राजदूतका नाममा नेताका दूतहरूलाई दुई–चार वर्ष भए पनि मोजमस्ती गरुन् भन्ने मानसिकताले नियुक्त गर्ने गरिएको छ । त्यसरी नियुक्ति पाएकाहरूले राज्यको हितमा काम गर्नेभन्दा पनि राजदूतहरूले सम्बन्धित मुलुकमा नेता पुग्दा उनीहरूको खातिरदारीलाई नै प्रमुख काम–कर्तव्य बनाउँदै आएका छन् ।

अहिले विभिन्न देशमा खाली भएका राजदूतहरूको नियुक्तिको क्रम एकातिर चलिरहेको छ भने अर्कोतिर अस्ट्रेलियाजस्तो देशमा (जहाँ नेपालीहरूको सङ्ख्या ठूलो छ र नेपालको हितमा गर्न सकिने कुरा पनि धेरै छन्) नेपालको प्रतिनिधित्व गरिरहेकी राजदूत लक्की शेर्पामाथि मानवतस्करीको आरोप लागेपछि छानबिन अगाडि बढेको छ । राजदूतमाथि लागेको आरोपको सत्यतथ्य बाहिर आउला नै, तर जुन प्रकारको आरोप लाग्यो त्यो आफैँमा दुःखदायी छ । कहाँ देशको प्रतिनिधित्व, कहाँ पैसाका लागि मानिसहरूको ओसारपसार । विदेशमा प्रवासी जीवन बिताइरहेका सर्वसाधारण नागरिकले त्यसप्रकारको काम गरे भने ‘कम्तीमा देशको इज्जतको ख्याल गर्नुपर्छ नि’ भन्नुपर्ने ठाउँमा रहेका व्यक्ति नै त्यस्तो धन्धामा संलग्न हुन थाले भने राष्ट्रको मर्यादा कसरी रहला ?

हामीकहाँ राजनीतिक पृष्ठभूमि हेरेर राजदूतको नियुक्ति गर्ने गरिएको छ । तर, राजनीति र कूटनीति फरक कुरा हो । राजनीतिक अनुभव हुँदैमा मानिस कूटनीतिमा सफल हुन्छ भन्ने छैन ।

नेपालले पठाएका आफ्ना देशका प्रतिनिधहरूका बारेमा गम्भीर रूपले पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ । विगतमा कसले के गरे र किन गरे ? कस–कसलाई बीचैमा फिर्ता बोलाउनुपर्ने अवस्था आयो र किन आयो ? ती राजदूतहरूको सिफारिस कसरी भएको थियो ? कसले ग¥यो ? प्रक्रिया के थियो ? विगतका केही तीता उदाहरण हामीसँग छन् । कतारका लागि राजदूत बनाइएकी माया शर्माले कूटनीतिक मर्यादा उल्लङ्घन गरेको भनी त्यहाँको सरकारले आपत्ति जनाएपछि फिर्ता बोलाउनुप¥यो । राष्ट्रको प्रतिनिधित्व गर्दै आफू जुन देशमा पुगेको छ त्यो देशका बारेमा के बोल्न हुने, के नहुने सामान्य कूटनीतिक मर्यादासमेत राख्न नसक्ने व्यक्तिलाई राजदूतका रूपमा कसले छनोट ग¥यो ? उहाँको पृष्ठभूमि के थियो ?

प्राप्त ओहोदा धान्न सक्ने–नसक्नेबारेमा ख्यालै नगरी नियुक्त गर्दाका परिणामहरू अनपेक्षित हुनु स्वाभाविक नै हो । हामीकहाँ राजनीतिक पृष्ठभूमि हेरेर राजदूतको नियुक्ति गर्ने गरिएको छ । तर, राजनीति र कूटनीति फरक कुरा हो । राजनीतिक अनुभव हुँदैमा मानिस कूटनीतिमा सफल हुन्छ भन्ने छैन । राजनीतिमा जे बोले पनि हुन्छ झैँ गरी बोल्ने गरिएको छ । कूटनीतिमा शब्द–शब्द तौलिएर बोल्नुपर्ने हुन्छ । अशिष्ट भए पनि राजनीतिमा चल्छ होला, तर कूटनीतिका लागि शिष्टता अनिवार्य तत्व हो । कहाँ कसरी बस्ने, के खानेकुरा कसरी खाने, काँटा–चम्चा कसरी चलाउनेजस्ता सभ्यतासँग जोडिएका सामान्य कुरादेखि लिएर राष्ट्रको हित, द्विपक्षीय सम्बन्ध र मुलुकको राष्ट्रिय स्वार्थसम्ममा राजदूतले ध्यान दिनुपर्ने हुन्छ । तर, हाम्रा कतिपय राजदूतहरू राष्ट्रिय स्वार्थभन्दा आफ्नो स्वार्थमा केन्द्रित हुने गरेको पाइएको छ । आफ्ना सन्तान, पति या पत्नीको सुखका लागि या जागिर खानका लागि मात्रै कोही राजदूत बन्ने सपना देख्छ भने उसले राष्ट्रिय हितमा काम गर्छ भन्ने अपेक्षा गर्न मिल्दैन ।

राजदूतले गरेको देशको बेइज्जतीको फेहरिस्तका पात्रहरूमध्ये क्षमा दिनै नसकिने पात्र मुरारी शर्मा हुन्, जसले बेलायतको राजदूत पदमा रहेकै बेला त्यहाँ शरणार्थीको मान्यता पाउन निवेदन दिए ।

राजदूतले गरेको देशको बेइज्जतीको फेहरिस्तका पात्रहरूमध्ये क्षमा दिनै नसकिने पात्र मुरारी शर्मा हुन्, जसले बेलायतको राजदूत पदमा रहेकै बेला त्यहाँ शरणार्थीको मान्यता पाउन निवेदन दिए । कुनै देशको प्रतिनिधित्व गरेर पठाइएका राजदूतले सोही मुलुकमा शरणार्थी बन्नका लागि इच्छा राख्छ भने कूटनीतिक संसारमा त्योभन्दा लज्जास्पद घटना के हुन्छ ? मुलुकको परराष्ट्रसचिव र संयुक्त राष्ट्रसङ्घीय नियोग न्युयोर्कमा स्थायी प्रतिनिधिसमेत भइसकेका उनले बेलायतमा राजदूत भएका बेला सरकारले फिर्ता बोलाएपछि मलाई मुलुकमा थ्रेट छ भन्दै शरणार्थी बनाउन आग्रह गरेका थिए । नेपालको कूटनीतिक इतिहासमा यो घटना अहिलेसम्मको सबैभन्दा कालो धब्बा हो । यो घटनाले राजनीतिवाला मान्छेलाई मात्र के दोष दिनु कूटनीति बुझेकै मानिसले पनि त्यसो गरे नि भनेर प्रश्न गर्ने ठाउँ छोडिदिएको छ ।

यस्तै, अमेरिकामा राजदूत रहेकै बेला पुस्तक चोरीदेखि लिएर साउदी दूतावासको खातामा राख्नुपर्ने पैसा आफ्नो खातामा राखेको आरोपसमेत हाम्रा राजदूतहरूमाथि लागिसकेको छ । तत्कालीन राजदूत विश्व प्रधानको पुस्तकवाला कुरा कतिपय मुलुकमा समाचार नै बनेको थियो भनिन्छ । साउदी अरेबियामा राजदूत भएका बेला हमिद अन्सारीमाथि व्यक्तिगत खातामा पैसा राखेको भनी फिर्ता बोलाइएको थियो । यसैगरी प्रकाशचन्द्र ठाकुरलाई कूटनीतिक मर्यादा उल्लङ्घनको आरोपमा जापानबाट फिर्ता बोलाइएको थियो ।

यत्तिका घटनाबाट पाठ सिकेर सरकारले अब सिफारिस गर्ने राजदूतबारे गम्भीर हुनु आवश्यक छ । राजदूत हुनका लागि कम्तीमा देशको संविधान, शासन प्रणाली र परराष्ट्र नीतिप्रतिको बुझाइलाई प्रमुख आधार मान्नुपर्छ । सभ्यता र शिष्टतासँगै कूटनीतिक मर्यादा राख्नका लागि आफू जुन देशमा जाने हो सम्बन्धित मुलुकका पनि उल्लेखित कुराहरूबारे अध्ययन गर्ने कुरा सामान्य काम, कर्तव्यभित्र पर्छ । राजदूतको मात्र कुरा होइन, देशमा सरकारी गाडीलगायतका पाउनुपर्ने सम्पूर्ण सेवा–सुविधा लिएर देशकै नाममा विदेश पुगेर देशकै बेइज्जत हुने गरी अभिव्यक्ति दिनेहरूको बारेमा पनि राज्यको ध्यान जान जरुरी छ । राज्यको सुविधा लिएर बसेका सार्वजनिक व्यक्तिहरूले मुलुकको हितविपरीत काम गर्न मिल्दैन, अभिव्यक्ति पनि दिन मिल्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.