सरकारी स्कुल र गान्धीको सभा

| 2018 Dec 08 | 06:52 am 2136

प्रथम विश्वयुद्धको समाप्तिसँगै भारतीय राजनीतिक रङ्गमञ्चमा महात्मा गान्धी उदाएका थिए । सिङ्गो भारतमा अहिंसात्मक आन्दोलनको प्रभाव बढ्दै थियो । राणाबाट निष्कासित भई प्रवास पुगेको कोइराला परिवार पनि त्यहाँको वातावरणबाट अछुतो थिएन । अङ्ग्रेजको पन्जाबाट भारत मुक्त नभई नेपालबाट राणाशाही हटाउन सम्भव छैन भन्नो बुझेका कृष्णप्रसादले स्वतन्त्रता आन्दोलनमा सघाउन छोराछोरीलाई प्रशिक्षित गरेका थिए ।

राणाविरुद्ध जनचेतना जोगाउने उद्देश्यका साथ उनले सुब्बा देवीप्रसाद सापकोटासँग मिलेर गोर्खाली पत्रिका चलाउन थालेका थिए । मातृका र बीपीसहित केटाकेटीहरु बनारसको वातावरण्मा हुर्कदै थिए । हरेक क्षेत्रबाट अङ्ग्रेलाई असहयोग गरी धपाउने गान्धीको उत्कर्षतिर थियो ।

सन् १९२० को दशकतिरको कुरा हो । हरेक साँझ बनारसको सभागृहअगाडि जम्मा भएर आन्दोलनकारीहरुले अङ्ग्रेज जस्तो देखिने छत्रे टोपी लगाएको पुत्लाका साथ आफूले प्रयोग गरेका विदेशी कपडा जलाउने काम तीब्र बनाएका थिए ।

घरबुना खादीको प्रयोग गर्ने अभियान भारतभर फैलिँदै थियो । कोइराला परिवारका सदस्यले पनि आफूसँग भएका विदेशी लुगाहरु जलाई खादी प्रयोग गर्न थाले । बीपीले भनेका छन्, “मेरी आमासँग धेरै महँगा सारीहरु र त्यस्तै विदेशी लुगाकपडा थिए, ती पनी सबै जलाइए ।”

त्यस बेला “बनारसका केही परिवारसँग मात्र आफ्नै घरमा कपडा बुन्ने केन्द्र थिए, कृष्णप्रसादले पनि खादी कपडा बनाउने केन्द्र खोलेका थिए । कपडा बुन्नएका लागि एकजना मुसलमान भर्ना गरिएको थियो भने पत्नी दिव्या लुगा सिलाउने गर्थिन् ।”

अहिंसात्मक आन्दोलनको छाप कोइराला परिवारमा बढ्दै थियो । कृष्णप्रसाद आफैं स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए, अङ्ग्रेजहरुको पञ्जाबाट भारत स्वतन्त्र नभई नेपालको राणाशासन फाल्न सम्भव छैन भन्नेब अटल विश्वासका साथ ती दिन गान्धीले आन्दोलनका लागि एक करोड कोष बनाउन सार्वजनिक अपिल गरेका थिए ।

“एउटा फराकिलो खास्टो फैलाएर सडकगल्लीमा सहयोग माग्ने अभियान तीब्र थियो । बीपीकी आमा दिव्या र नातागोताले आ–आफ्ना गहना दिएर सहयोग गरे।”

त्यो बेला मातृका र बीपी बनारसस्थित एउटा सरकारी स्कुलमा पढ्दै थिए । एकजना धनी मान्छेको ठूलो बगैचामा सधैंजसो केही न केही कार्यक्रम भइरहन्थ्यो । दुई भाई स्कुलबाट फर्किने क्रममा प्रायः त्यहीँ जान्थे एक दिन त्यहाँ गान्धीको सभा चलिरहेको थियो । गान्धीले विस्तारै, तर प्रभावकारी ढङ्गमा दिएको प्रवचनबाट उनीहरु प्रभावित भए ।

गान्धीले भनेका थिए, “हामीले हरेक क्षेत्रमा अङ्ग्रेजलाई असहयोग गर्नुपर्छ । केटाकेटीले सरकारी स्कुल छाड्नुपर्छ ।” नौ वर्षका मातृका र सात वर्षका बीपीले तत्क्षण सरकारी स्कुल छाड्ने निर्णय सुनाए ।

सभामा उभिएर सुरुमै बीपीले भने , “मैले आजदेखि सरकारीस्कुल छोडेँ ।” लगत्तै मातृकाले पनि त्यस्तै घोषणा गरे तालीको गडगडाहटले उनीहरुको स्वागत भयो । बीपीलाई मञ्चमा लगियो ।

नमुना विद्यार्थीका रुपमा सम्मन गरी गान्धीले फूलमाला लगाइदिए । अनि उनको परिचय लिइयो र मञ्चमा बसेका सात नेताले काखमा राखे र सोधे, “यत्रो निर्णय लिनुअघि बाआमालाई सोध्यौ त रु” बीपीलाई काखमा राख्ने नेता जवाहरलाल नेहरु थिए ।

जो अङ्ग्रेजको पञ्जाबाट मुक्त भएपछि भारतको पहिलो प्रधानमन्त्री बने । सरकारी स्कुल छाडेपछि बीपी र मातृका दुबै भाई ठठेरी बजारमा स्थापित गान्धी आश्रम विद्यालयमा पढ्न थाले ।

केही वर्षपछि बनारसको हरिश्चन्द्र स्कुलमा कक्षा नौमा भर्ना भएका बीपीले सन् १९३० मा म्याट्रिक पास गरे । मातृकाचाहीँ बिहारको सदाकत आश्रममा पढ्थे । त्यती बेला उनीहरु आतङ्ककारीहरुको सम्पर्कमा थिए । एकैसाथ दुबै भाइ पक्राउ परे ।

बेतियानजिकैको एउटा गाउँमा भएको डकैती र हत्यासम्बन्धी घटनामा संलग्न भएको आरोपमा बीपी पक्राउ परे । ‘बाँदर सेना’ नामक आतङ्ककारी समूहबाट पक्राउ परेका १५ बर्षीय बीपीलाई बालकवार्डमा थुन्नो ठाउँ नभएपछि जेलरले छुट्टै वार्डमा पठाए ।

गान्धीको भद्रअवज्ञा आन्दोलन उत्कर्षमा रहेकाले जेल सत्याग्रहीले भरिएको थियो । त्यो कालकोठरीमा दिसापिसाब गर्न दुई ओटा माटाका भाँडा दिइएको थियो, जसलाई २४ घण्टामा एक पटक हटाउने गरिन्थ्यो केही सातापछि उनलाई जेल सार्ने भनेर त्यहाँबाट निकालियो र बनारसको सैनिक छाउनीमा पुर्यारइयो । त्यहीँ उनले दाजु मातृकालाई पनि भेटे । दुबैलाई सशस्त्र प्रहरीको पहरामा राखिएको थियो ।

केही समयपछि दुबैलाई हतकडीसहित मोतिहारी लगेर कालकोठरीमा थुनियो । आफ्नो पहिलो जेल यात्राबारे बीपीले भनेका छन्, “स्थानीय स्कुलका तीन सयजति विद्यार्थीसँगै हामीलाई उभ्याइएको थियो । खुट्टामा नेल छँदै थियो ।”

नाबालक भएकाले तीनचार महिनापछि जिल्ला म्याजिस्ट्रेट कार्यालयले उनलाई रिहा गरिदियो । त्यसपछि बीपी बनारस हिन्दू विश्वविद्यालयमा पढ्न थाले ।
(बीपीको विद्रोह) पुस्तकः जगत नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.