धनगढी, मंसिर १९ : कैलालीको घोडाघोडी नगरपालिकास्थित पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ। छ वर्षदेखि तदर्थ समितिले क्याम्पस सञ्चालन गर्दै आएको भन्दै नेविसंघले तदर्थ समितिको खारेज गरेर वैधानिक पूर्णसमिति निमार्णको माग गर्दै ताला लगाएका हुन् ।
नेपाल विद्यार्थी संघ घोडाघोडी नगरसमिति संयोजक कलक जंग सिंहद्वारा हस्ताक्षर विज्ञप्तिमा, लामो समयदेखि क्याम्पसको तदर्थ समितीले त्रिभुवन विश्वविद्यालयको नियम र क्याम्पसको विधानविपरीत क्याम्पसलाई दीर्घकालीन असर पर्ने निर्णय गरेको आरोप लगाइएको छ।
‘विद्यार्थी संगठन तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीको उपस्थितिमा भएका निर्णयलाईसमेत पूर्ण रूपमा व्यवस्ता गरी आफूखुशी निर्णय गरेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा मंसिर १७ गते क्याम्पसको नियमविपरीत क्याम्पस प्रमुखलगायत केही शिक्षक नियुक्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै तदर्थ समितिको खारेजीको माग राखिएको छ। माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने विज्ञप्तिमा उल्लेख छ।