– डा. ऋषिप्रसाद शर्मा
काग, कुकुर, गाई, गोरु तथा दाजु–भाइलाई पूजा गरेर सबै प्राणीहरूलाई सम्मान गर्न सिकाउने तिहार अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो । जडतारुपी औंसीको अँध्यारो रातलाई चेतनारुपी बत्ती बालेर चनौती दिने हुनाले यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामबाट पनि चिनिन्छ । फेरि हाम्रो संस्कृतिमा प्रत्येक शुभकार्यसँग धार्मिक कृत्यहरू दियो बालेर आरम्भ गरिने हुँदा यसको महत्व सर्वव्यापी रहेको छ ।
प्रकाशपर्व तिहार पनि वसन्तोत्सवजस्तै ऋतुपरिवर्तनको खुसियालीमा मनाइने चाड हो । ऋतुहरूमा शरद् ऋतुको विशेष महत्व छ । त्यसैले सयौँ शरद्सम्म बाँच्ने कामना गरिएको पाइन्छ जीवेम शरदः शतम् । यसरी बर्षा ऋतुपछि मनाइने यो ऋतु–उत्सव शरद् ऋतुको स्वागतभा रातभरि आगो बाली उज्यालोमा नाचगान गरी लोकत्सव का रुपमा मनाउन थालियो । यो लोकत्सव पछि कृषि–उत्सव का रुपमा परिणत भयो । पुराणयुगमा यसलाई धार्मिक चाडका रुपमा मनाइयो । कालान्तरमा शक्तहरूले नरकासुरवध, वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोधप्राप्ति, जैनहरूले निर्वाण र नेवारहरूले म्हपूजासँग यस प्रकाशपर्वको नाता जोडेकाले योसको महत्त्व झन–झन् बढ्दै गएको छ ।
वस्तुतः परापूर्वकालदेखि नै अन्धकारलाई मानिसले शत्रु मान्दै आइरहेको छ । त्यसैले प्रकाशको चाहना सबैलाई हुन्छ । एउटा सानो दियोको उज्यालोमा पनि दुनियाँलाई अँध्यारोबाट उज्यालोतिर लिएर जाने शक्ति हुन्छ । महाभारतमा सत्य मा आधारित दियोमा तप को तेल हालेर दया को बत्ती बाली क्षमा को ज्वालाबाट अँध्यारोलाई नाश गर्न दीपक बालिरहनुपर्छ भनिएको छ ।
त्यस्तै प्रस्तुत श्लोकमा रातिका दीपक चन्द्र, बिहानीका दीपक सूर्य, तीनै लोकका दीपक धर्म र कुलका दीपक सुपुत्र हुन् भन्दै दीपकलाई चन्द्र, सूर्य, धर्म र सुपुत्रको संज्ञा दिइएको छ–
प्रदोषे दीपकश्चन्द्रः प्रभाते दीपको रविः ।
त्रैलोक्यदीको धर्मः सुपुत्र कुलदीपकः ।।
यसरी बालिने बाहिरी उज्यालो दिने दियोले (आत्मदीपो भव) अर्थात् आफ्नो अन्तरआत्मा जगाउँने प्रेरणा दिँदै आफ्नो प्रकाश आफैं बन्ने शिक्षा दिन्छ । अतः प्रकाश पर्व तिहार पनि कागरुपधारी यमराजलाई (दिपदान) गरी कार्तिक त्रयोदशीदेखि सुरु हुन्छ । कार्तिक कृष्ण पक्षका त्रयोदशी, चतुर्दशी, औंसी र शुक्लपक्षका प्रतिपदा र द्वितीया गरी पाँचवटा तिथिहरूमा क्रमशः कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाईतिहार मनाइने हुँदा (तिहार) संस्कृतमा तिथिबार र हिन्दीमा त्यौहार नामले प्रसिद्ध यस चाडलाई (यमपञ्चक) पनि भन्दछन् । यमाको अर्थ यमराज अथवा धर्मराजा हो । यमराज साक्षात् मृत्युका देवता हुन् ।
हाम्रो संस्कृतिमा सहज मृत्युलाई अभिशाप होइन वरदान मानी मृत्युदेवलाई पुजिन्छ । (गीता)ले त मृत्युलाई पुराना लुगा सेरेसरह पुरानो शरीर फेरेको मानी आत्मालाई अमर मानेको छ । मृत्युदेव यमराजले दण्डद्वारा अशुद्ध जीवनलाई शुद्ध गर्ने र नयाँ बनाउने हुनाले नै ती पूज्य छन् । प्रत्येक प्राणीलाई कर्म अनुसारको फल भोगाउने काममा खटिएका यमराज यमपञ्चकमा आफ्नो काम पाँच दिनका लागि चित्रगुप्तलाई जिम्मा लगाएर आफ्नी बहिनी यमुनाकहाँ जान्छन् भन्ने शास्त्रीय आख्यान पाइन्छ । यसरी यमराजको सत्कार र सम्झनामा यमसँग संम्बद्ध जीव, पशुपंक्षी आदिका पूजा–आराधना गरी मनाइने पाँच दिनहरूलाई यमपञ्चक भनिन्छ । निम्नलिखित मन्त्रमा यमलाई विवश्वानका छोरा हुन् र उनीसमक्ष सबैले एक दिन जानुपर्छ भनिएको छ । (वैवस्वतं सङ्गमनं जनानं यमं राजानं हविष सपर्यतः) ।
महिषवाहन–दण्डधर यिनलाई यम, धर्मराजा, मत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त यी चौध नामहरूबाट पूजा–आराधना गरिन्छ ।
पशुपक्षीपूजा :

आज मानिस मानिसका लागि नै शत्रु बने पनि पशुपक्षीहरू मानिसका चिरन्तन साथी रहिआएका छन् । यिनीहरूको अभावमा सृष्टि सौन्दर्यहीन र पर्यावरण असन्तुलित हुन्छ । रंगीचंगी पशुपक्षीहरू हरियो वनका गहना हुन् । स्वर्गको (नन्दन) वन पनि पशुपक्षीको अभावमा नरकको झाडीसरह हुन जान्छ । मानिसलाई मित्रता र समानताको पाठ सिकाउने पशुपक्षीहरूको विशेषताले गर्दा नै हाम्रो देवी–देवताले यिनलाई आफ्ना वाहन बनाएका छन् । रामले हनुमान्, जटायु आदि पशुपक्षीहरूको सहायताले गर्दा नै लंकामाथि विजय प्राप्त गर्न सके । भगवानले जनताको कल्याणका लागि कहिले माछो, कहिले कछुवा, वराह, सिंह आदि पशुका रुप धारण गरेका छन् । अतः हाम्रो संस्कृतिमा पशुपक्षीहरूको पूजा–आराधना र बन्दना गरिएको छ । गाईपूजा, गोरुपूजा र कागपूजा गरी सबैलाई सम्मान दिने र कुकुरलाई पनि भेदभाव नगर्नेलाई नै पण्डित मान्ने हाम्रा सांस्कृतिक अवधारणा हुन् । अतः हामी भाइसँगै काग, कुकुर, गाई, गोरु आदिको पूजा गरी तिहार पर्व मनाउँदछौं ।
कागतिहार :

तिहारका पाँच दिन (यमपञ्चक) हरूमा पहिलो दिन कागतिहार नामले प्रसिद्ध छ । यस दिन कागलाई खाद्यसामग्रीहरू दिई सम्मान गर्ने गरिन्छ । शास्त्रहरूमा (काको असि यमदूतो असि) भनेर कागलाई यमराजको दूत मानिएको छ । यमले कागको रुप धारण गरी आफ्ना भक्तहरूलाई (जसले कागलाई पुज्दछ त्यसका पूर्वजहरूलाई म सद्गति दिनेछु) भनेको कथा प्रसिद्ध छ । फेरि अन्नबाली नष्ट गर्ने कीरा–फट्याग्रां खाई हाम्रो बालीको रक्षा गर्ने कागजातिमा नै काकभुशुण्डिजस्ता ज्ञानीको जन्म भएको छ ।
एउटै आँखाको नानी भएको कागले सबैलाई एउटै दृष्टिले अर्थात् भेदभावविना हेर्ने हुनाले नै (काकन्याय) प्रसिद्ध छ । यस दिनलाई (धन्वन्तरि त्रयोदशी) पनि भनिन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरि समुद्रमन्थनबाट निःसृत चौध रत्नहरूमध्ये (अमृत–कलश) लिई यसै दिन प्रकट भएबाट धन्वन्तरिजयन्ती मनाइन्छ । यस दिन साँझ मूल ढोकासामु यमलाई दिपदान गरे आकस्मिक मुत्यु या अपमृत्यु रोक्न सकिने शास्त्रीय वचन पाइन्छ ।
यमराजको पूजा गरी मनाइने यस दिनको कथामाहात्म्य यस प्रकार छ– एक पटक यमले आफ्ना दूतहरूलाई प्राणीहरूको प्राण हरण गर्दा आफूहरूलाई सबैभन्दा बढी दया लागेको कुनै एउटा घटना सुनाउन आदेश दिए । दूतहरूले एउटा विवाह गरेको चार दिनभित्र जवान राजकुमारको मृत्युबाट नवविवाहिताको चीत्कारले आफूहरू साह्रै द्रवित भएको घटना सुनाउँदै यसबाट बच्ने उपायका लागि प्रार्थना गरे । त्यसपछि यमराजले आजको दिनमा यमपूजा र दीपदानबाट युवावस्थाको असामयिक मृत्युयोगलाई रोक्न सकिने उपाय बताए ।
कुकुरतिहार :

यमपञ्चकको दास्रो दिन कुकुरको पूजा गरिन्छ । युधिष्ठिरसँगै स्वर्ग गएको कुकुर जातिलाई आज पनि चोर–अपराधीहरू पत्ता लगाउन प्रयोग गरिन्छ । कुकुरप्रति विश्वास अर्थात् भक्तिभाव प्रकट गर्ने प्राचीन परमपरा रहिआएको छ । ऋग्वेदमा (सस्तु माता सस्तु पिता…) भन्दै माता–पिता र सेवकसँगै कुकुरप्रति पनि भक्तिभाव प्रकट गरिएको छ । त्यस्तै(मज्झिमनिकाय) मा (कुकुरब्रत) अर्थात् कुकुरपूजा गरी चाड मनाउनेहरूले कुकुरजस्तै व्यवहार गरी कुकुरप्रति भक्तिभाव प्रकट गरेको छ वर्णन यसरी व्यक्त गरिएको पाइन्छः (कुक्कुरवतिकोति समादिन्नकुक्कुरवतो सब्बं सुनककिरियं करोति) ऋग्वेदको एउटा प्रार्थनामा सेनापतिलाई कुकुजस्तै आज्ञाकारी सेनाहरूबाट युद्ध जित्न सकियोस् भनिएको छ ।
कुकुर यमराजको दूत भएको वर्णन शास्त्रहरूमा पाइन्छ । यसरी यमराजको दूत कुकुरलाई तेल घसेर माला लगाई पूजा गर्दै विभिन्न खाने कुरा खान दिई कुकुरतिहार मनाइन्छ । (नरक) का स्वामी यमराज भएकाले र श्रीकृष्णले यसै दिन नरकासुरलाई मारेकाले यस दिनलाई (नरकचतुर्दशी) पनि भनिन्छ । फोहोरमैला पनि एक प्रकारको (नरक) भएको हुँदा यस दिनलाई सरसफाइ गर्ने पर्वका रुपमा पनि मनाइन्छ ।
गाईतिहार :

हाम्रो संस्कृति र सभ्यताको उत्थान र विकासमा गोरक्षाको महत्वपूर्ण स्थान छ । हाम्रो राष्ट्रियताको परिचायक गाईको विश्परुपवर्णन अथर्ववेद, ब्रह्माण्डपुराण, स्कन्दपुराण, पद्यपुराण, भविष्यपुराण र महाभारतमा पाइन्छ । वेदमा गाईको विश्वरुपको उल्लेख यस प्रकार छः (एतद् विश्वरुपं सर्वरुपं गोरुपम्) । अतः पशुहरूको रक्षा गर्नुपर्छ र गाईलाई कहिल्यै मार्नु हुँदैन भनिएको छ । अझ गोबर गोमूत्रमा समेत लक्ष्मीको निवास मानिन्छ । अतः गाईतिहारको दिन बिहान गाईको पूजा गरिन्छ र बेलुकी लक्ष्मीपूजा गरी दीपावली मनाइन्छ । शास्त्रहरूमा गोसेवाबाट मात्र (लक्ष्मी) अर्थात् धनधान्य प्राप्ति हुन्छ भनिएको छ । फेरि गाई नै लक्ष्मीको रुप (लक्ष्मीर्या लोकपालानां धेनुरुपेण संस्थिता) भएकाले गाईतिहारमा लक्ष्मीपूजा पनि गरिन्छ । संस्कृतमा(लाभात् लक्ष्मी) अर्थात् लाभबाट (लक्ष्मी) बनेको बताइएको छ ।
लक्ष्मी शोभा, सौन्दर्य, सुख, सम्पन्नता, सौभाग्य, ऐश्पर्य र सृष्टिको देवी हुन् । भाषशास्त्रीय (निरुक्तं) ग्रन्थमा (लक्ष्मी) शब्दको ब्युत्पत्ति यसरी गरिएको छः लक्ष्मी लाभाद्वा लक्षणात्) अर्थात् लाभका लक्षणहरूले सम्पन्न देवी लक्ष्मी हुन् । लक्ष्मीका गुणहरूमा ज्ञान, ऐश्वर्य, सुख, आरोग्य, धनधान्य आदि प्रसिद्ध छन् । अतएव औंसीमा दीपोत्सवगरी लक्ष्मीको विशेष पूजा गरिन्छ । तीन लोक दान गरेका बलिराजाले पूर्वोक्त तीन दिनहरूमा जसले दीपावली गर्छ त्यसलाई यमयातनाबाट मुक्ति मिली लक्ष्मी प्राप्त हुन्छ भन्ने विष्णुबाट वर पाएको कथा प्रसिद्ध छ । तसर्थ बलिराजाको सम्झनामा देउसी–भैलो खेल्ने चलन छ । अतः तिहारलाई (देउसीपर्व) पनि भनिन्छ । यसै दिन जन्मेको हाम्रा महाकवि देवकोटाको नाम लक्ष्मीप्रसाद रहेको छ ।
गोरुतिहार :

तराई क्षेत्रमा यातायात र खढुवानीको मुख्य साधन नै बयलगाडा रहेको छ भने कृषि उत्पादनमा मानिसले गोरुलाई जोत्नका लागि उपयोग गर्ने मात्र होइन, उसको गोबरलाई समेत खाद–मलका रुपमा प्रयोग गर्ने गर्दछन् । कुनै पनि एउटै यन्त्रले आजसम्म जोत्न र मलखाद दिने दुबै काम गर्न सकेको छैन । अझ गोरुको मलबाट उब्जेको अन्न सुस्वादु र स्वस्थ्यकर हुन्छ । अतः कृषिमा गोरुको स्थान कुनै पनि यन्त्रले लिन सक्दैन । यज्ञमा जौ, तिल आदि अन्नको आवश्यकता हुन्छ जसलाई उत्पन्न गर्न गाईका सन्तान अर्थात् गोरुको आवश्यकता पर्दछ ।
अतः आफू जोतिएर हामीलाई धनधान्य दिलाउने पारेपकारी गोरु हाम्रो संस्कृतिमा सदैव पूज्य रहिआएको छ । भगवान् शंकरको वाहन बनेको गोरु कैलाशमा समेत पूज्य छ । अतः कार्तिक शुक्ल प्रतिपदालाई हामीले गोरुतिहारका रुपमा मनाउँछौं । गोरुतिहारमा हलोको पूजन पनि गरिन्छ । यसै दिन गोबरको कुण्ड बनाई त्यसलाई गोवद्र्धन पर्वतको प्रतीक मानी पुजिन्छ । यस दिनलाई अन्नकूट पर्व पनि भन्दछन् । पर्यावरण संरक्षण गर्न पर्वतहरूको महत्वपूर्ण भूमिका भएको हुँदा हाम्रो संस्कृतिमा पर्वतलाई पूजनीय मानिन्छ ।
भाइतिहार :

हाम्रो संस्कृतिमा दिदी–बहिनीहरूलाई (दयाया भगिनी मूर्तिः) भन्दै दयाका साक्षात् मूर्ति मानिएको छ । दयाका खानी दिदी–बहिनीहरूले मृत्युदेवताको पूजा गरी आफ्ना दाजु–भाइलाई अकालमृत्युबाट बचाएका मात्रै छैनन्, अपितु यिनीहरूको आयुबृद्धि र सुस्वास्थ्यका लागि भाइटिका लगाउँदै आएका छन् । अतः कार्तिक शुक्ल द्वितीया (भातृद्वितीया) नामले प्रसिद्ध हुने गएको छ । सधैं बेफुर्सदी दाजु यमराजलाई बाहिनी यमुनाले पाँच दिनसम्म ससम्मान पालेर अन्तिम दिन पूजा गरेर बहुरङ्गी टीका लगाई यी दिनहरूमा जसले आफ्ना दिदि–बहिनीहरूको आतिथ्थ स्वीकार गरी टीका लगाउँछ त्यो अकालमृत्युबाट बचोस् भनी वर मागिन् । दाजु – भाइ र दिदी–बहिनीक प्रेम अमर गराउने यस मागलाई यमले पूरा गरेपछि भाइटीकाको सुरुवात भयो र यो दिन यमद्धितीया नामबाट पनि प्रसिद्ध हृन गयो । यस दिन दिदी–बहिनीहरूको अभावमा काठमाडौंको रानीपोखरीको मध्यमा अवस्थित भ्रातेश्वर महादेवको मन्दिरमा गएर टीका लगाउने परम्परा पाइन्छ ।
यसरी पाँच दिनसम्म सम्पूर्ण जीवनजगत् र मृत्युजगत्का नरनारी, पशुपक्षी, वन, पर्वत, मृत्युदेवता आदिलाई वनस्पतिजगतका फूलमाला आदिबाट पूजाआजा गरी देउसी–भैलो तथा रोटेपिङ–लिङ्गेपिङ खेली एवम् सेलरोटी र मिठाई खाई–खुवाई औंसीको अँध्यारोमा झिलिमिली बत्ती बालेर मनाइने तिहार नेपालीहरूको रसिलो, मौलिक र सामाजिक चाड हो । यस अवसरमा राष्ट्रलक्ष्मीलाई शोषित, पीडित, दुःखित र दीनहीनका झुप्राझाप्रीसम्म पुर्याउने अठोट गरे मात्र तिहारको प्रकाशले राष्ट्र प्रकाशित हुनेछ र कविशिरोमणि लेखनाथले भनेजस्तै गरी सबै खुसी र खुसी हुन सक्छन् ।
सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार ।
बन्दछ मानू सबको काम, खुसी छन् राजा रैति तमाम ।।
(नेपालका राष्ट्रिय चाडपर्व)