निर्मला हत्या प्रकरणका एसपी बिष्ट र निरीक्षक भट्ट बर्खास्त

| 2018 Oct 25 | 08:24 pm 3361

काठमाडौं, कात्तिक ८ :  कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्याको अनुसन्धानमा गम्भीर त्रुटी गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयले कञ्‍चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलार्इ बर्खास्त गरेको छ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी अधिकारीद्‍वय बिस्ट र भट्टलार्इ बिहीबार बर्खास्त गरेको गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन्। यसअघि ४ कात्तिकमा पहिलोपटक सफाइ पेस गर्ने मौका दिए चित्तबुझ्दो जवाफ नआएकोले दोस्रोपटक मौका दिएको थियो।

७ कात्तिकमा बिस्ट र भट्टलार्इ किन बर्खास्त नगर्ने भन्दै २४ घण्टामा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। बिहीबार बिस्ट र भट्टले बुझाएको स्पष्टीकरणसमेत चित्तबुझ्दो नभएको भन्दै भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने सेवाबाट हटाउने गृहसचिवस्तरीय निर्णय भएको प्रवक्ता सुवेदीले नेपाल समयलार्इ बताए।

पिडितका आफन्तका सरोवालाको गुनासो सम्बोधन नगरेको, प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको, प्रमाण नष्ट गरेको, मृतको दोष कबुल गर्न अनावश्यक दबाब र धम्की दिएको, नेपालमा नै नभएका बाबुको सनाखत गरेको भन्दै पहिलोपटक ४ कात्तिकमा सफाइको पेस गर्न निर्देशन दिएको थियो। उक्त जवाफ चित्त बुझ्दो नभएकोले प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियक १ को देहायको कसुरमा सेवाबाट हटाउने कारबाही किन नगर्ने भनि ७ कात्तिकमा २४ घन्टामा स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो।

असोज २९ गते प्रहरी प्रधान कार्यालयले दुवैलार्इ बर्खास्तको लागि सिफारिस गरेको थियो। गृहमन्त्रलयले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको संयोजकत्वमा गठन गरेको छानविन समिती र प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन समितिले प्रहरीले घटना अनुसन्धानमा गम्भीर त्रुटी गरेकोले बर्खास्त गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पेस गरेको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरी महानिरीक्ष सर्वेन्द्र खनालले निर्मला हत्या अनुसन्धानमा एसपी बिष्ट र प्रहरी निरीक्षक भट्टले गम्भीर त्रुटी गरेको भन्दै बर्खास्तीका लागि गृहमन्त्रालयलाई सिफरीस गरेको थिए।

गत साउन १० गते पढ्‍न भन्दै साथिको घर गएकी निर्मलाको ११ गते कन्चनपुरको भिमदत्त नगरपालीका १९ उल्टाखामस्थित उखुबारीमा शंकास्पद अवस्थामा शव फेला परेको थियो। पन्तको बलत्कार र हत्या प्रकरणमा प्रहरी अनुसन्धान माथि नै आशंका बढेपछि तत्कालिन प्रहरी प्रमुख बिष्ट तथा वडा प्रहरी कार्यालय प्रमुख भट्टसहित नौ जनालार्इ निलम्बन गरिएको थियो।

निर्मला हत्याको तीन महिना पुग्दा प्रहरीले हत्याराको बारे कुनै ठोस प्रमाण जुटाउन नसक्दा प्रहरी तथा गृहप्रशासन माथि नकारात्मक प्रतिक्रिया बढदै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.