एसपी विष्टसहित दुर्इ जनालार्इ आजै बर्खास्त गरिने

| 2018 Oct 21 | 03:25 pm 1860

काठमाडौं, कात्तिक ४ :  कन्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्तका लागि सिफारिस भएका दुर्इ जना प्रहरी अधिकृतको विषयमा आज आइतबार निर्णय हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले घटनाको छानविनमा लापरवाही गर्ने कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टका विषयमा गृह मन्त्रालयले आज निर्णय गर्न लागेको हो। प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरीय निर्णयबाट हुन्छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष पत्र पठाएको थियो। घटनाको समयमा बिष्ट जिल्ला प्रहरी कार्यालय र भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए।

घटनापछि दुवै जनालाई गृह मन्त्रालयको छानविन टोलीको सिफारिसमा पदबाट निलम्बन गरिएको थियो। प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’ धिरु बस्न्यात संयोजकत्वको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश गरेको थियो। सरकारद्वारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भूमिका सन्तोषजनक नरहेको प्रतिवेदन पेस गरेको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त गत साउन १० गते घरबाट साथीको घर हिँडेकी र उनको ११ साउनमा उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.