सुदूरपहाडमा जात्राको रौनक

| 2018 Nov 10 | 09:22 am 3611

बैतडी, कात्तिक २४-नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ।

बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ ।

कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ ।

दार्चुलामा रहेको नेपालकै सातौँ धामको रूपमा रहेको मालिकार्जुन धाम, लटिनाथलगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्दछ।

त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायतका मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ भने मेलौली भगवती, भवानी मन्दिर, उग्रतारालगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ।

यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कात्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ। परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको आचार्य लेखकको भनाइ छ।

यो समयमा लाग्ने जात्रामा टाढाटाढाका श्रद्धालुहरुसमेत आउने गरेको गङ्गासागर जोशीले बताए। भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न ठाउँमा रहेका देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै यसपर्वलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रीको बेला मन्दिरमा पूजाआजा हुने भए पनि कात्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कात्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए।

जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्री जात्रा शुरु भएसँगै जिल्लाका ग्रामीण बस्ती दमाहा बाजाँले गुञ्जिएका छन्। सबै उमेर समूहका मानिसले विभिन्न तरिकाले दमाहा बजाउँदै नाच्ने गर्दछन्। तर पछिल्लो समय जात्रामा विकृतिसमेत भित्रिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.