कुलमान इमानदार बन्दा देशै उज्यालो भयाे, मुलुक बनाउन सबै इमानदार बनाैँ : पारस खड्का

| 2019 Mar 19 | 03:50 pm 1105

काठमाडौं, चैत ५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुक निर्माणका लागि सबैले आफ्नो स्थानबाट इमान्दार बन्न आवश्यक रहेको प्रष्ट पारेका छन् ।  मंगलबार काठमाडौंमा आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ कार्यक्रमलाई सम्बोधन गर्दै सही व्यक्ति सही स्थानमा पर्दा मुलुकबाट लोडसेडिङ हटेको चर्चा गरे ।

कुनै समय अब नेपालमा लोडसेडिङ हुँदैन भन्दा आफू निकै बेर हाँसेको स्मरण गर्दै खड्काले एउटा व्यक्तिको इमान्दारको परिणामले आज देश उज्यालो भएको बताए ।

उनले कुलमान घिसिङ एकजना इमान्दार बन्दा त देश उज्यालो हुन्छ भने बाँकी सबै किन मुलुकप्रति इमान्दार नबन्ने भन्ने प्रश्न गर्दै प्लस टु सकिनेबित्तिकै विदेश जाने सपना नदेख्न आग्रह गरे ।

प्लस टु सकेर आफू पनि विदेश जान खोज्दा अष्ट्रेलियाकाे भिसा नलाग्नु आफ्ना लागि सुखद भएको स्मरण समेत उनले गरे । कप्तान खड्काले ठूलो सपना नदेखी कोही पनि अगाडि बढ्न नसक्ने उल्लेख गर्दै नेपाली क्रिकेट टिमले ‘वन डे’ विश्वकप खेल्ने मात्र नभई जित्ने सपना र सोच पनि बनाएको प्रष्ट पारे।

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान बन्न लागेको पन्ध्र वर्ष बित्न लागेको प्रसंग कोट्याउँदै उनले विभिन्न अभावका बाबजुद पनि क्रिकेटमा आफूहरुले केही चेञ्ज गरेर देखाएको समेत खड्काको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.