६ करोड भन्दा धेरै नक्कली भारुसहित विमानस्थलबाट ६ पक्राउ

| 2019 May 24 | 02:20 pm 2467

काठमाडाैं, जेठ १० : नेपाल हुँदै फेरि नक्कली भारतीय रुपैयाँको तस्करी सुरु भएको छ । ६ करोड भन्दा धेरै नक्कली भारतीय रुपैयाँसहित ६ व्यक्ति विमानस्थलमा पक्राउ परे का छन् । विमानस्थलको भन्सारमा चेकिङका क्रममा दुई हजार दरका नक्कली भारतीय रुपैयाँ बरामद भएको हो ।

यसअघि समेत भारु तस्करीमा जेल परेका युनुस अन्सारीकै समूहले तस्करी गरेको आशंका गरिएको छ । बरामद नोट लिएर उनीहरूमाथि सोधपुछ भइरहेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

नोटबन्दीमार्फत भारतले नयाँ नोट लागू गरेपछि नक्कली भारु नेपालमा बरामद भएको यो पहिलो घटना हो । सो नोट बंगलादेशबाट आएको थियो ।

भन्सारको नियमित चेकिङमा उनीहरु पक्राउ परेका हुन् । भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । ‘दुई वटा सुटकेशमा नक्कली भारु भेटिएको छ,’ उनले भने,‘प्लाष्टिकले बेरेर नक्कली भारु लुकाइएको थियो ।’

सो सामान लिन गएका युनुस अन्सारी लगायतलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बुझाइने ठाकुरले बताए । बिशेष ब्यूरोले समेत अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.