विराटनगर, फागुन २९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध मात्र नभई कारवाही पनि गर्नुपर्ने बताएका छन् । बुधबार विराटनगरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले हत्या, हिंसा र आतंक फैलाउने विप्लव समूहलाई प्रतिबन्ध लगाउनु सरकारकाे सकारात्मक कार्य भएकाे बताए
‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो’ उनले थपे, ‘प्रतिबन्ध मात्रै होइन, कार्बाही गर्नपर्छ ।’ जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने उनले बताएका छन् ।
सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरुसँग कुनै परामर्श नभएको प्रतिक्रिया बाहिर आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटघाट भएको खबर सार्वजनिक भएको छ ।
भेटमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउनु पर्नाको कारण ब्रिफिङ गरेका थिए । त्यस लगतै सार्वजनिक भएको कांग्रेस सभापति देउवाको विप्लवप्रतिको धारणा एकाएक बदलिएर आएको हो ।