प्रतिनिधिसभाको बैठक : बलात्कारको दोषीलाई कारवाही गर्न माग

| 2018 Jul 29 | 03:00 pm 2134

काठमाडौँ, साउन १३ : आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिए ।

दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् । केही दिन पहिले १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो ।

सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्न आग्रह गरेका छन्।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरेकी छिन्। सांसद दिलेन्द्रप्रसाद बडुले अभियुक्तलाई अझै कारवाही हुन नसकेकामा आपत्ति जनाउँदै शीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे । सांसद प्रमिला राईले महिला एवम् बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरिन् ।

सांसद बालकृष्ण खाँडले महंगी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराए । शून्य समयमा देवप्रसाद गुरुङ, देवप्रसाद तिमिल्सिना, नन्दलाल रोकाया क्षेत्री, नवराज रावत, नवराज सिलवाललगायतले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानमा सरकारको ध्यानाकर्षण गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.