फूटबलका चर्चित स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको गोलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ।
च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको समूह एच को खेलमा युभेन्टस जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडसँग २-१ गोलले पराजित भएको हो।

यो खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन्। म्यानचेस्टर युनाइटेडका लागि विजयी गोल अन्तिम मिनेटमा युभेन्टसका खेलाडीले गरिदिए।
पहिलो हाफ गोलरहित भएको खेलमा ६५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोली युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए।

अन्तिम चार मिनेट बाँकी हुँदा आन माटाले युनाइटेडका लागि बराबरी गोल फर्काए। माटाले फ्रि–किक मार्फत गरेको गोल नै युभेन्टसले यो सिजन च्याम्पियन्स लिगमा खाएको पहिलो गोल बन्यो।
त्यो भन्दा अन्तिम एक मिनेटको समय घातक बन्यो। ८९ औँ मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रो लोबो सिल्भाले जोगाउन खोज्दा खोज्दै आत्मघाती गोल गरे र युनाइटेडको जित सुनिश्चित गरिदिए।
युनाइटेडको मैदानमा जितेको युभेन्टस आफ्नो मैदानमा आफ्नै गल्तीका कारण पराजित भयो। रोनाल्डोले आफ्नो पूर्व क्लबविरुद्ध गरेको उत्कृष्ट भली गोलले युभेन्टसलाई जिताउन सकेन।
उनले च्याम्पियन्स लिगमा यो सिजन र युभेन्टसका लागि गरेको यो नै पहिलो गोल हो । युभेन्टसका सामी खेडिरा र पाउलो डिबालाको प्रहार गोलमा परिणत हुन सकेन।

हारपछि पनि युभेन्टस समूहको शीर्ष स्थानमा छ । यो खेल जितेको भए बाँकी खेलअघि नै उसले अन्तिम १६ मा स्थान पक्का गर्ने थियो । उसको चार खेलबाट ९ अंक भएको छ । सात अंक बनाएको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।
समूह एच अन्तर्गत बुधबार राति नै भएको खेलमा भ्यालेन्सियाले योङ्ग ब्वाइजलाई ३–१ ले हरायो ।