गुल्मी, जेठ ६: जिल्लाको दरबार गाउँपालिका वडा नम्बर–४ को पिपलनेटा सामुदायिक वनमा सोमबार बिहान करिब १० बजे तिरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगोलाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र रेसुंगा नगरपालिकाको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार आगलागी के कति कारण भएको र कसले लगाईदिएको भन्ने बारेमा केही नखुलेको भन्दै पहिले आगोलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको र त्यस पश्चात के कारण लागेको र कसले लगाएको भन्ने बारेमा अनुसन्धान जारी रहेको बताए ।
वनमा लागेको आगो बस्तीमा फैलने हो की भन्ने डरले स्थानीयहरु त्रसित भएका छन् । आगो स्थानीय बस्तीमा फैलिने सम्भवना भएको र स्थानीय सबै मिलि आगोलाई नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
डिभिजन वन कार्यलयलाई थाहा नै छैन
यता जिल्ला डिभिजन वन कार्यलय गुल्मीका प्रमुख बोधराज सुबेदीले आगलागी सम्बन्धी आफूलाई थाहा नै नभएको बताएका छन् । उनीसँग टेलीफोन गरी आगलागी बारे जानकारी लिन खोज्दा उनले उल्टै कहाँ आगलागी भएको छ र भन्दै प्रश्न समेत गरेका छन् ।
पछि सुबेदीले आगलागी नियन्त्रण लिनका लागि सुरक्षाको टोली र दमकल गएको छ भन्ने सुनेको उनले बताए । यता गुल्मीदरबार गाउँपालिकाका प्रमुख अशोक थापाले आगलागी नियन्त्रणमा लिनका लागि सबैको प्रयास जारी रहेको भन्दै करिब १० हेक्टर बनमा आगालागीले सखाप पारेको बताए ।