सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्धार

| 2022 Jun 29 | 10:19 pm 633

झापा, असार १५ः जिल्लाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण
किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई सशस्त्र प्रहरीले  सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका ८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो ।

त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।

दश लाख रुपैयाँ बराबरको सामानसहित एक जना पक्राउ
रौतहत जिल्लाको गौर नगरपालिका ३ स्थित कविर चोकबाट सशस्त्र प्रहरीले करीव १० लाख रुपैयाँ बराबरको ग्रिज र गाडीमा प्रयोग हुने विभिन्न किसिमका आयलसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको सितामढी मनियारी पञ्चायत ६ बस्ने ३१ वर्षिय चन्दन कुमार रहेका छन् । गौरबाट गरुडातर्फ जाँदै गरेको बी.आर. ०६ जी.ई. ७४८४ नम्बरको गाडीमा जाँच गर्दा उक्त सामान बिल बिजक भन्दा फरक देखिएपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला उक्त गाडी समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई बरामद सामान तथा गाडी सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

श्रोत नखुलेको रुपैयाँ सहित चार जना पक्राउ
सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षिय दयानाथ कापत, ४८ वर्षिय जगनाथ साह, ३३ वर्षिय उमेश साह र ३१ वर्षिय रविन साह रहेका छन् । से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत नखुलेपछि दुवै मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको
लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.