रौतहट, चैत्र ७ : होली खेल्ने क्रममा गुजरा नगरपालिका–९ स्थित सिम्राभवानीपुरमा बिहीबार दुई पक्षबीच भएको झडपमा ३ सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र रबरको गोली चलाइएको थियो ।
होली पर्वको उपलक्ष्यमा गाउँमा माटोको घैटा (मटकी) फुटाउन राखेको बेला अर्को पक्षले फुटाई दिएपछि झडप भएको थियो। झडपलगत्तै ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको टोली त्यस स्थानमा पुगेका थिए।
स्थिति निकै उग्रहुन थालेपछि प्रहरीले सम्झाउने प्रयास गरेको थियो। केही समूहले प्रहरीमाथि हुलहुज्जत गर्न खोजेपछि ६ राउण्ड रबरको गोली र ७ राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। माटोको भाडो फटाएको निहुँमा झडप हुँदा सुरक्षाकर्मी र स्थानीय घाइते भएका छन्। स्थिति नियन्त्रणमा आइसकेको बुझिएको छ।
अप्रिय घटना हुन नदिन चन्द्रनिगाहपुर र गरुडाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। झडपअघि गुजरा ९ चौधरी टोलका रोहित चौधरीलाई नियन्त्रणमा लिई प्रहरी चौकी सिम्राभवानीपुरमा राखेपछि स्थिति तनाव बनेको थियो। त्यसपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। त्यसै क्रममा सिम्राभवानीपुरका विवेक चौधरी, तेतरीदेवी साह, रामएकवाल साह रौनियार, जितेन चौधरी, निरजंकुमार बछार र सोनेलाल सहनी घाइते भएका छन्।
झडपमा प्रहरी चौकी सिम्राभवानीपुरमा कार्यरत प्रहरी हवल्दार ईश्वर विष्टको मुखमा ढुंगाले लागी घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी जवान पिताम्बर काफ्ले र ईलाका प्रहरी गरुडामा कार्यरत पहरी जवान पवन कार्की पनि घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताए। घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
प्रहरीले सिम्राभवानिपुरस्थित चौधरी टोलका दिपेश चौधरी, आकाश चौधरी, पप्पु चौधरी र सुकेश्वर चौधरीलाई पक्राउ गरेको छ।